विपत्तिको छायाबाट नाफाको उज्यालो : ९१ जलविद्युत कम्पनीमध्ये कसले कति कमाए ? को–को घाटामा ?

काठमाडौं । विपद्ले थलिएका जलविद्युत कम्पनीहरुको वित्तीय अवस्थमा ठुला बदलाव देखिएको छ । ठूला-ठूला बाढी-पहिरोको चपेटामा परेका जलविद्युत कम्पनीहरु आफ्नो वित्तीय अवस्था सुधारोन्मुख छ ।
विपद्को कठोर वर्षपछि पनि जलविद्युत कम्पनीहरुको नाफा उकालो लागेको छ । नाफाको ग्राफसँगै अन्य सूचकहरु पनि सकरातमक छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष नोक्सानीमा रहेको अधिकांश कम्पनीहरु पनि नाफामा उक्लिएका छन् । दुई दर्जन बढी कम्पनीले नाफा बढाउन सफल भएका छन् ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीहरु औसत १ अर्ब ५ करोड २४ लाख रुपैयाँ नोक्सानीमा थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १ अर्ब ४४ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । सूचीकृतमध्ये ३१ वटा कम्पनी भने नोक्सानीमा देखिएका छन्, बाँकी सबैको नाफा धनात्मक छ । कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेसँगै नाफा पनि बढेको हो ।
उर्जा विज्ञहरुका अनुसार निरन्तर घट्दो बैंक ब्याजदरले पनि कम्पनीहरुको नाफा वृद्धिमा टेवा पुगेको छ । जलविद्युत परियोजनाहरू अत्यधिक ऋणमा आधारित हुन्छन्, बैंक ब्याजदर घट्दा तिर्नुपर्ने वित्तीय व्यय घट्छ, जसले नाफा वृद्धि गर्न मद्दत पुर्याउँछ ।
अर्कोतर्फ कर्मचारी खर्च, मर्मतसम्भार लगायतका प्रशासनिक खर्चमा कटौती गरेकाले पनि मुनाफा बढ्न मद्दत पुगेको उर्जा विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार केही कम्पनीहरुले दीर्घकालीन विद्युत खरिद सम्झौतामा नयाँ दर पाएका छन्, भने कतिपयले थप उत्पादन गरेर प्राधिकरणलाई थप परिमाणमा बिजुली बेचेका छन् । यसले पनि नाफा वृद्धिमा योगदान गरेको हो ।
यस्तै, बाढी–पहिरो जस्ता विपद्का बाबजुद पानीको आपूर्तिमा समग्र रूपमा ठूलो गिरावट नआएकाले उत्पादन निरन्तर चलिरहेको छ । जसले कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढाउन सघाएको छ । ९ महिनामा कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी १२ प्रतिशत वृद्धि भई २८ अर्ब ८१ करोड २६ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा भने कम्पनीहरुले २५ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको बिजुली बेचेका थिए ।
कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपिएस) र प्रतिसेयर नेटवर्थ पनि वृद्धि भएको देखिन्छ । झन्डै चार दर्जन कम्पनीहरुको इपिस धनात्मक छ । तर, ३१ वटा कम्पनीहरुको इपिएस भने अझै ऋणात्क छ ।
विपत्तिपछिको संकट पार गर्दै अधिकांश जलविद्युत कम्पनीहरूले पुनरुत्थानको संकेत दिएका छन् । यद्यपि, केही कम्पनीहरू अझै पनि संघर्षरत छन् ।
नाफामा चम्कियो साहस उर्जा, २८ कम्पनीको नाफा उल्लेख्य बढ्यो, १५ वटाको घट्यो
सर्वाधिक नाफा कमाउनेको शीर्ष सूचीमा साहस उर्जा छ । कम्पनीले ९ महिनामा ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ७४.४५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
दोस्रो सूचीमा रहेको चिलिमे हाइड्रोपावरले पनि नाफा ८.९४ प्रतिशत बढाएर ५० करोड ७८ लाख माथि पुर्याएको छ । तेस्रो सूचीमा रहेको माउनटेन इनर्जीले पनि नाफा ५०.४५ प्रतिशत बढाएर ४६ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।
नाफा वृद्धिदर भने अरुण भ्यालीको उच्च छ । कम्पनीको नाफा ५९ गुणा बढेर ३४ करोड १८ लाख रुपैयाँ कायम भएको छ । यता, आँखुखोलाको नाफा पनि १३.०९ गुणा बढेको देखिन्छ ।
यस्तै, हिमालयन हाइड्रोपावरको नाफा पनि ११.०३ गुणा, अपि पावरको ७.८९ गुणा, रावा इनर्जीको ६.४६ गुणा, मकर जितु मायाको ४.६३ मिड सोलुको ४.०३, इस्टनको ३.६३ गुणा, अपर सोलुको २.९६, मैलुङ खोलाको २.३८, युनाईटेड इदी मर्दीको २.०८ र सिनर्जी पावरको २.०४ गुणा नाफा बढेको छ । यी सहित २८ वटा कम्पनीको नाफा वृद्धि भएको छ ।
समिक्षा अवधिमा भिजन लुम्बिनी, पञ्चकन्या माइ, बुद्धभूमि, सगरमाथा जलविद्युत, पिपुल्स पावर लगायतका १५ वटा कम्पनीको नाफामा गिरावट आएको छ ।
१५ कम्पनी नाफामा उक्लिए, ३१ कम्पनी अझै घाटामा
गत वर्ष नोक्सानीमा रहेका अरुण कावेली, हिमान पावर, हिमालयन उर्चा विकास, स्वेतगंगा, सिंगटी, सानिमा मिडल, अपर हेवा खोला, ते्रहथुप पावर लगायतका १५ वटा कम्पनी नाफामा उक्एिका छन् । तर, गत वर्ष नाफामा रहेका मेन्छियाम, पिपुल्स हाइड्रोपावर, र इङ्वा हाइड्रोपावरको नाफा भने ऋणात्मक छ ।
समिक्षा अवधिमा ३१ वटा कम्पनीहरु अझै घाटामै चलिरहेका छन् । सबैभन्दा ठुलो घाटा अपर तामाकोशीले २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ व्यहोरेको छ ।
यस्तै, माउनटेन हाइड्रोपावर, बलेफी, साञ्जेन, रसुवागढी, मोदी इनर्जी, पाँचथर पावर, माया खोला, खानी खोला, हिमाल दोलखासहित ३१ कम्पनी नोक्सानीमै छन् ।
९१ जलविद्युत कम्पनीमध्ये कसले कति कमाए ? को–को घाटामा ? (रकम हजारमा)


