बिजुली बेचेर झन्डै २९ अर्ब कमाइ : ८९ हाइड्रोपावर कम्पनीहरूको बिक्री आँकडा के भन्छ ? कुनले कति बेचे ?

काठमाडौं । प्राकृतिक विपत्तिका बाबजुद पनि जलविद्युत कम्पनीहरूको वित्तीय प्रगति भने सकरात्मक छ । कम्पनीहरुको नाफा लगायतका मुख्य सूचकहरुमा व्यापाक सुधार गरेका छन् ।
बाढी तथा पहिरोले विभिन्न धेरै कम्पनीमा क्षति पुर्याएपनि उत्पादनमा ठूलो असर भने देखिँदैन । जसले कम्पनीहरुको विद्युत बिक्री आम्दानी उल्लेखनीय रूपमा बढेको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीहरुले ९ महिनामै १ अर्ब ४४ करोड बढी खुद नाफा कमाएका छन् । यो चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको आँकडा हो । जबकि, गत आवको चैत मसान्तसम्ममा भने कम्पनीहरु १ अर्ब ५ करोड २४ लाख बढी नोक्सानीमा थिए ।
नाफामा व्यापाक सुधार कम्पनीहरुको आम्दानी वृद्धिको प्रभाव हो । कम्पनीहरुको विद्युत बिक्रीबाट हुने कमाई दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीहरुले यस्तो आम्दानी ११.९९ प्रतिशत बढाएका छन् । चालु आवको ९ महिनामै २८ अर्ब ८१ करोड २६ लाख रुपैयाँ बराबरको बिजुली बेचेका छन् । जबकि, गत आवको सोही अवधिमा कम्पनीहरुको यस्तो आम्दानी २५ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ मात्रै थियो ।
निरन्तर बढिरहेको उत्पादन, घट्दो बैंक ब्याजदर र खर्चमा गरिएको मितव्ययिताले कम्पनीहरूको नाफामा सीधा प्रभाव पारेको छ । दीर्घकालीन सम्झौतामा अनुकूल दर प्राप्त हुनु र थप बिजुली बिक्री गर्न सक्नु आम्दानी वृद्धिको मुख्य कारण बनेका छन् ।
सूचीकृत हाइड्रोपावरमध्ये ५४ वटा कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएको छ । तर, २५ वटा भने केही घटेको छ । केही हाइड्रोपावर कम्पनीले यो वर्षदेखि उत्पादन थालनी गरेका छन् । यसले बिजुली बिक्रीबाट हुने कमाईको आकार वृद्धि भएको देखिन्छ ।
सबैभन्दा धेरै बिजुली उपर तामाकोशीले बिक्री गरेको छ । २ अर्ब बढी नोक्सानीमा रहेको अपर तामाकोशीले ४ अर्ब २७ करोड ८ लाख बढीको बिजुली बिक्री गरेको छ । तर, यो गत आवको तुलनामा भने ३४.६० प्रतिशत कमी हो । गत आवको ९ महिनामा कम्पनीले ६ अर्ब ५३ कोड २ लाख रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको थियो । गत असोजमा आएको बाढी पहिरोका कारण कम्पनीमा क्षति पुर्याएपछि केही समय उत्पादन पनि रोकिएको थियो । त्यसले पनि बिक्री आम्दानी प्रभावित भएको हो ।
सबैभन्दा धेरै नाफा कमाउने साहस उर्जाले पनि २ अर्ब १४ करोड ३५ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यस्तै, सानिमा मिडल तमोरले १ अर्ब ३८ करोड ३ लाख, ग्रीन भेन्चर्सले १ अर्ब २८ करोड ६४ लाख र अपि पावरले १ अर्ब १९ करोड ७० लाख बढीको बिद्युत बिक्री गरेका छन् । यी तीर्न वटा कम्पनीको यस्तो कमाई वृद्धि भएको छ ।
बिद्युत बिक्री आम्दानी ईङवा हाइड्रोपावरले सर्वाधिक बढाएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १०० गुणा बढेर १९ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको ६०८.५७ प्रतिशत, अरुण कावेली पावरको ३३४.३५ प्रतिशत, रावा इनर्जीको २८९.९५ प्रतिशत, साञ्जेनको २८५.२७, त्रिशुली जलविद्युतको २८३.५७, पिपुल्स हाइड्रोपावरको २७७.३१, हिमालयनको २५८.५८, अरुण भ्याली २२८.२५, माया खोलाको १८४.४७ प्रतिशत वृद्धि भएको छ ।
तर, मान्डु हाइड्रोपावर, खानीखोला, सुपर माई, सुपर मादी, अपर स्याङ्गे, भगवती, पञ्चकन्या माई, बलेफी, पिपुल्स पावर, सानिमा माइ, माई खोला लगायतका कम्पनीहरुको आम्दानी भने घटेको छ । यस्तै, रसुवागढी, भिसन लुम्बिनी, बरुण हाइड्रोपावर, मेन्छियाम, ग्रीन लाइफ लगायतका कम्पनीहरुले पनि यो वर्षदेखि उत्पादन थाली आम्दानी गरेका छन् ।
कसले कति कमाए ? (रकम हजारमा)


