आखिर प्रधानमन्त्रीले किन भने ‘एभरेस्ट बैंकमा खाता नराख्नू’ ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

आखिर प्रधानमन्त्रीले किन भने ‘एभरेस्ट बैंकमा खाता नराख्नू’ ?



काठमाडौँ । संघीय सरकारको बैंक खाता एभरेस्ट बैंकबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिएको कुरा बाहिर आएको छ ।

दुई दिन अघिमात्रै युट्युबमा प्रशारित पत्रकार टीकाराम यात्रीसँगको कुराकानीमा स्वयम् प्रधानमन्त्री पत्नी राधिका शाक्यले यो कुरा खुलासा गरेकी छिन् ।

कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी सम्बन्धी पात्रकारको प्रश्न सुनेपछि उनले भनिन्, ‘मेरो केपी सरलाई के काम त त्यो पैसा ? उहाँको भनेको त मै होइन र ? मलाई नै सुख दिने भनेर नै, उहाँले कमाउने हो भने त मेरै सुखका लागि राख्ने होला नि त । आफू बदनाम हुने गरी अरुलाई दिन त किन राख्नु पैसा ?’

यही प्रश्नको जवाफ दिने क्रममा उनले एउटा घटना सुनाइन् । ‘उहाँ त यस्तो मान्छे हो की, उहाँको खल्तिमा पहिले पहिले सदनतिर (सांसद सदस्यको तलब) नगदमा दिने गर्दा उहाँको खल्तिमा अलिअलि पैसा हुन्थ्यो । अब अहिले बैंकमा जम्मा गर्ने भएपछि उहाँको खल्तिमा पैसा भन्नेकुरा कहिले पनि हुँदैन ।’

प्रधानमन्त्रीले आफ्नो तलब कति आउँछ, त्यो पैसा कहाँ र कसरी खर्च भयो भनेर ३८ वर्षको दाम्पत्य जीवनमा कहिल्यै नसोधेको शाक्यले बताइन् । प्रधानमन्त्री ओलीलाई आफ्नो सम्पत्ती, धन–पैसा बारे केही पनि जानकारी नभएको शाक्य बताउँछिन् ।

‘आफ्नो तलब पनि कति छ भन्ने सायद थाहा छैन होला’, उनले भनिन् ।

अहिले सांसद र मन्त्रीहरुको तलब एभरेस्ट बैंकको खातामा जम्मा हुन्छ । तर केही दिन अघिमात्रै बैंकिङ कारोबारको सिलसिलामा एउटा हस्ताक्षेर गर्नुपर्दा प्रधानमन्त्री ओलीले एभरेस्ट बैंकमा खाता बन्द गर्न निर्देशन गरेको सन्दर्भ बाहिर आएको हो ।

‘मैले बैंकको केही कागजातमा उहाँलाई सही गराउनु पर्ने थियो’, शाक्यले सुनाइन्, ‘सही गराउँदा खेरी, अहिले पनि त्यहीँ (एभरेस्ट बैंकमा) छ ? मैले त त्यहाँ नराख्नू भनेको हो, भनेर भन्नुहुन्थ्यो । अँ त्यहीँ छ भनेर भनेँ मैले ।’

पछिल्ला वित्तीय विवरणहरु हेर्दा निष्कृय कर्जालाई शून्यस्तर जनिज झारेर ‘इन्डस्ट्री’कै सबैभन्दा सुरक्षित बनेको बैंकमा खाता सञ्चालन बन्द गर्न प्रधानमन्त्रीले किन निर्देशन दिए भन्ने चाहीँ बाहिर आएको छैन ।

संसद सचिवालयका अधिकारीहरुले प्रधानमन्त्रीको उक्त निर्देशनबारे कुनै लिखित प्रमाण नभएको र यसबारे आफूहरु अनविज्ञ भएको बताएका छन् । यद्यपि, प्रधानमन्त्री एउटा बैंकप्रति किन यतिधेरै कठोर बने भन्ने चाहीँ स्पष्ट छैन ।

संसद सचिवालयका एक कर्मचारीले अनौपचारिक कुराकानीमा अड्कल काटेअनुसार चाहीँ उक्त बैंकमा रहेको भारतीय स्वामित्वका कारण प्रधानमन्त्री रुष्ट भएको हुनसक्छ । एभरेस्टमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत स्वामित्व छ ।

नयाँ दिल्लीमा मुख्यालय रहेको यो बैंक एसबीआई पछि भारतकै दोस्रो ठूलो सरकारी बैंक हो । यही कडीलाई जोडेर हेर्ने हो भने प्रधानमन्त्री ओलीको भारतसँगको खराब सम्बन्धको लहरो यहाँसम्म तानिएको हुनसक्ने अनुमान ती कर्मचारीको थियो ।


प्रतिक्रिया दिनुहोस्