१२० जना विपद व्यवस्थापन स्वयमसेवकलाई तालिम, कृतिम घटनामा प्रयोगात्मक अभ्यास

काठमाडौँ । आकस्मिक समस्या तथा आपतविपद देख्ने र घटना स्थलमा सबैभन्दा छिटो पुग्ने व्यक्तिहरुका लागि काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले ‘विपद व्यवस्थापन स्वयमसेवक’का रुपमा तालिम प्रदान गरेको छ ।
वडाका सबै क्षेत्र समेटिने गरी १२० जना वडाबासीलाई भेला गराएर स्थानीय सम्भावित विपद, विपदका समयमा बच्ने र बचाउने ज्ञान र सिप बढाउने विषय प्रशिक्षणमा राखिएका थिए । यस क्रममा सैद्धान्तिक कक्षापछि कृतिम घटनाको अभ्यास गराइएको थियो ।
‘वडाको यो प्रयत्न उदाहरणीय छ ।’ कार्यक्रममा प्रदेश सभाका प्रदेश मामिला समितिका सभापति छिरिङ् दोर्जे लामाले भने, ‘माथिल्लो तहमा समन्वय र समुदाय स्तरमा सक्रियता हुने संयन्त्रले सम्भावित विपद व्यवस्थापन गर्न सहज हुनेछ । वडा नम्बर ६ ले थालेको यो अभ्यास यसका लागि अनुकरणीय छ ।’
‘वडाले मतदान केन्द्र स्तरमा विपद व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरिसकेको छ । सबैले अपनत्व गर्ने गरी प्रतिनिधित्व गराएर उपसमिति गठन गर्नेछौँ ।’ वडाध्यक्ष भुवन लामाले भने, ‘वडाबासीबाट पूर्वाधार निर्माणका माग धेरै आउने गरेका छन् । हामीले यसै क्षेत्रमा काम पनि गरेका छौँ । अबचाहिँ पूर्वाधारसँगै सामाजिक विकास, स्वास्थ्य सेवा, विपद व्यवस्थापन जस्ता क्षेत्रमा पनि योजना माग गर्नुहोला । अनि मात्र सन्तुलित विकास हुन्छ । पूर्वाधार निर्माण गरेर मात्र विकासलाई सन्तुलित बनाउन सकिँदैन ।’
‘आपत पर्दा नजिकको अस्पताल जानु पर्छ । उपचार त गरियो पैसा तिर्न सकिएन भने के गर्ने?’ सहभागीको प्रश्नमा वडाध्यक्ष लामाले भन्नुभयो, ‘हामीले वडाबासीको उपचारमा सहुलियत प्रदान गर्न स्तुपा सामुदायिक अस्पतालसँग सम्झौता गरेका छौँ । यसका लागि वडाले शिफारिस प्रदान गर्नेछ ।’
ठाउँअनुसार विपतका प्रकृति र जोखिम फरक फरक हुने वडा सदस्य नरेन्द्रकुमार थापाले बताए । उनले भने,‘हामी हाम्रो परिवेशको जोखिम नक्साङ्कन गर्दै जानेछौँ । पूर्वतयारी, प्रकोपको समय व्यवस्था, पुनर्लाभ र पुनस्थापनाका योजना बनाउँदै जानेछौँ ।’
तालिममा महानगरपालिकाका वरिष्ठ योजना अधिकृत रमेश घिमिरेले, विपद र योजनाको सम्बन्ध तथा विपद सम्बन्धी कानुनी व्यवस्था, नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले अग्नि नियन्त्रण र घटना स्थलबाट घाइतेलाई उद्धार गर्ने सिप तथा मेडिकल अधिकृत डा. आशिष पाण्डेले अचेत व्यक्तिलाई चेतमा ल्याउने, खाना खाँदा खाँदै अड्कियो भने तत्काल अड्किएको खानेकुरा निकाल्ने विधि र आगोमा जल्दै गरेका वा जलेर घाइते भएका व्यक्तिको उद्धार गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
सैद्धान्तिक कक्षा पछाडि नगर प्रहरी निरीक्षक भट्टराईले, कृतिम घटनामा घाइते भएका, सिकिस्त भएका व्यक्तिलाई घटना स्थलबाट उठाएर अस्पताल लैजानका लागि स्थानीय स्तरमा उपलब्ध भएका बस्तु तथा साधनको प्रयोग र विधि, ग्याँसबाट उत्पन्न भएको आगो नियन्त्रण गर्ने विधि र यसका लागि आवश्यक पर्ने आत्मविश्वाश तथा फायर इस्टीङ्ग्वीसरको प्रयोग गर्ने विधि अभ्यास गराएका थिए ।
यस्तै डा. पाण्डेले, सानातिना सावधानीले जीवन बच्न सक्ने र सानातिना असावधानीले बच्न सक्ने ज्यान पनि जान सक्ने जोखिम रहेकोले यो संवेदनशील काम भएको उल्लेख गरे ।
‘घटना स्थलमा एक्लै भए आकस्मिक सेवामा खटिने संयन्त्रलाई खवर गर्नु पहिलो काम हो । त्यसपछि मात्र घाइतेलाई बचाउने प्रयासमा लाग्नुपर्छ । जति नै जान्ने भए पनि एक्लै काम गर्दा क्षमता कम भएर बचाउन प्रयास विफल हुन सक्छ’, उनले भने ।
सम्भावित विपदका जोखिम घटाउन योजना तर्जुमा गर्दा नै ख्याल गर्नु पर्ने धारणा राख्दै वरिष्ठ योजना अधिकृत रमेश घिमिरेले विपत्तिका समयमा पूर्वाधार तथा भौतिक संरचना क्षतिका कारण हुनु नहुने धारणा राखे ।
तालिममा खाना पकाउने ग्याँस, ग्याँसको म्याद सकिने अवधि, सिलिण्डरको क्षमता, विजुलीबाट सल्किने आगोको जोखिम घटाउन घरेलु प्रयत्नका बारेमा जिज्ञासाहरु आएका थिए ।