बीमा प्राधिकरण अध्यक्ष ओझालाई ‘अनुभवको प्रमाण’ दिने संस्थाहरुले के भने ? « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

बीमा प्राधिकरण अध्यक्ष ओझालाई ‘अनुभवको प्रमाण’ दिने संस्थाहरुले के भने ?



काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारलाई बुझाएको अनुभवका प्रमाणहरु ‘सन्देहास्पद’ भएको भन्दै समाचारहरु आएपछि हामीले ती संस्थाका जिम्मेवा व्यक्तिहरुलाई सम्पर्क गरेर वास्तविकता जान्ने कोसिस गरेका छौँ ।

ओझाले छोटो समयमा थुप्रै संस्थामा काम गरेको प्रमाणहरु पेश गरेपछि केही सञ्चार माध्यमहरुमा प्रश्न उठाइएको छ ।

यस प्रकारको बहुआयामिक अनुभव हासिल गर्ने सिलसिला कर्पोरेट क्षेत्रमा अलि बाक्लै हुने गर्छ । तर पछिल्लो समय ओझा एक सञ्चारमर्की र सञ्चार संस्थाको व्यवस्थापकको भूमिकामा देखिन्थे ।

सञ्चार संस्थाको प्रतिनिधित्व गर्दा राज्य संयन्त्र र व्यावसायिक जगतमा पनि ओझाबारे त्यसै अनुसारको पहिचान बनेको थियो । फलस्वरुप अहिले बहुआयामिक अनुभव बटुलेको प्रमाणहरु पेश गरेर प्राधिकरण अध्यक्ष बनेपछि कतिपयलाई आशंका जागेको छ ।

अर्थपथले ओझालाई यसअघि रोजगारी दिएका संस्थाका प्रतिनिधीसँग यसबारे जानकारी मागेको थियो ।

कसले के भने ? (जस्ताको त्यस्तै)

ट्रिनिटी एक्जिम प्रालिका कार्यकारी अध्यक्ष रचित अग्रवाल

उहाँले कोभीड सुरुहुनुभन्दा अगाडीदेखि काम सुरु गर्नुभएको हो । करीब २ वर्ष काम गर्नुभएको जस्तो लाग्छ । तारिख त ठ्याक्कै याद भएन । उहाँले स्ट्राटेजी म्यानेजमेन्ट, कर्पोरेट गभर्नेन्स, कानूनी परामर्श, मार्केटिङ लगायत सबै चिज गर्नु भएको हो ।

हाम्रो संस्था ‘ट्रेडिङ फर्म’ हो । व्यापार सम्बन्धी कानूनी, प्रशासनिक र राजस्व सम्बन्धी परामर्श तथा सहजिकरण पनि गरिदिनु भएको हो । विभिन्न कम्पनीसँग इन्टर्याक्सन पनि गरिदिने, विजनेशमा पनि हेल्प गरिदिने पनि गर्नुभएको हो ।

हामी आयात विजनेश गर्ने भएका कारण भन्सार र जाँचपास सम्बन्धी कानूनी सहायता पनि उहाँले गर्नुभएको थियो । कोभीडको समयमा हामी सबैले कार्यालय बन्द गरेको घरबाटै काम गरेका थियौँ । उहाँलाई हामीले ‘सिनियर म्यानेजरियल’ तहमा नियुक्त गरेका थियौँ ।

उहाँले हाम्रो अफिसमा कर्मचारीलाई सिकाइदिने, मार्गदर्शन गर्ने जस्ता भूमिकामा काम गर्नुभएको थियो ।

राजधानी मोडेल कलेजका संस्थापक तथा प्रिन्सिपल केपी पन्त

हाम्रो कलेजमा उहाँ धेरै पुरानो फ्याकल्टी हो । उहाँले सन् २०१८ देखि नियुक्ति हुँदाको दिनसम्म नै पढाउनु भएको हो । उहाँ नियुक्त हुँदा हामीले हाम्रो कलेजको अफिसियल फेसबूक पेजबाट पनि ‘हाम्रो फ्याकल्टी मेम्बर अध्यक्ष नियुक्त भएकोमा’ भनेर बधाई पनि दिएका छौँ ।

अहिले उहाँको अनुभवको सवालमा आएका खबरहरु दुखद कुरा हुन् । जहाँजहाँ उहाँ सम्लग्न भएको भनिएको छ, त्यसमध्ये अधिकांश ठाउँमा काम गरेको त मलाई नै थाहा छ । उहाँले प्रस्तुत गर्नुभएको कागजात एकदम जेन्यून हो ।

उहाँले हाम्रोजस्तो विनजेश कलेजहरु ५–७ वटामै पढाएको हामीलाई राम्रोसँग थाहा छ । उहाँ वर्षौँदेखि पढाउनु भयो र आफ्नो विषयको निकै राम्रो ‘फ्याकल्टी’ (अध्यापक) हो ।

उहाँले हाम्रो कलेजमा स्नातक तहमा ‘विजनेश इन्भारोमेन्ट इन नेपाल’ भन्ने कोर्ष पढाउनु भएको हो । अर्को चाहीँ ‘सोसाइटी इन पोलिटिक्स’ भन्ने छ । व्यवस्थापन शंकायका यी विषयहरु उहाँले पढाउनु भएको हो ।

चाणक्य मिडिया प्रालिका अध्यक्ष पुष्प दुलाल

उनले हाम्रो संस्थामा बरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताको भूमिकामा रहेर काम गरेका हुन् । उनको आफ्नै बाइलाइन चाहीँ मानिसहरुले देखे । तर कार्यालय भित्रको व्यवस्थापकीय भूमिका बारे बाहिरका मान्छेहरुलाई जानकारी हुँदैन ।

उनले सम्पादकीय परामर्शदाताको भूमिकामा पनि काम गरेका थिए । उनी स्वयंको बाइलाइनमा प्रकाशन हुने बाहेक पनि हाम्रो अनलाइनमा प्रकाशित हुने अरु ४० प्रतिशतभन्दा बढी ‘रिपोर्टिङ’हरुको विषयवस्तु पहिचान गर्ने, त्यसको अंग पुगे–नपुगेको हेर्ने र कन्टेन्टको फिनिसिङमा उनले काम गरेका हुन् ।

हामी राज्यको कुनै पनि निकायलाई यस बारेमा थप प्रष्ट पार्नुपर्दा सदैव तयार छौँ । तर अहिलेसम्म यसबारे हामीलाई कसैले पनि सोधेको छैन ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (नाथम)का बीटीटीएम प्रोग्राम कोअर्डिनेटर शुभम पौडेल

उहाँ हाम्रो ‘रिसोर्स फ्याकल्टी’ हो । त्यो भनेको पार्ट–टाइम पढाउन आउने हो । हामीले हरेक ६ महिनाको करार गरेका हुन्छौँ । उहाँले हाम्रो कलेजमा सन् २०१७ देखि भर्खरैसम्म पढाइरहनु भएको थियो ।

यही वैशाखको २–३ गतेसम्म परीक्षा चलिरहेको थियो । त्यो ‘सेसन’का विद्यार्थीलाई पनि उहाँले पढाउनु भएको हो ।

स्नातक तहमा ‘ब्याचलर्स अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम)’ कोर्ष छ । म यो कार्यक्रमको कोअर्डिनेटर हो । अझ भन्नुपर्दा शरद ओझाको शिक्षक पनि हो म । मैले पढाएको पनि हो । उहाँ एपेक्स कलेजमा पढ्नुहुन्थ्यो ।

मैले कुनै समय उहाँलाई पढाएको पनि हो । निकै राम्रो ट्यालेन्टेड, क्वालिफाइड मान्छे भएको कारणले गर्दा मैले ‘फ्याकल्टी मेम्बर’ बनाउनका लागि नाथममा आग्रह गरेँ । उहाँले पनि आएर काम गरिदिनु भयो । अहिलेसम्म हाम्रो राम्रै सहकार्य भएको थियो ।

नाथममा उहाँले ‘टुरिजम प्लानिङ पोलिसी’ भन्ने विषय, बीटीटीएमको छैटौं सेमेस्टरमा पर्छ, त्यहाँ पढाउनु भएको हो । पहिलेदेखि नै यही विषय पढाइरहनु भएको हो ।

सायम कलेजका ब्याचलर प्रोग्राम कोअर्डिनेटर (प्रोग्राम एसोसियट) खगेन्द्र जोशी

हाम्रो कलेजमा उहाँले ‘आन्टरप्रेनियरशिप’ र ‘इन्टरनेशनल विजनेश’ दुईटा विषय पढाउनु भएको हो । उहाँले २०२२ देखि २०२४ सम्म पढाउनु भएको हो । अहिले समाचारमा जुन जुन कलेजमा पढाएको भन्ने समाचार आएको छ, उल्लेख भएअनुसार ती सबै कलेजमा पढाउनु भएको हो ।

कलेजहरुको हकमा जति पनि मेन्सन भएको छ, राजधानी, एपेक्स, इम्पेरियल, नाथम लगायत सबै कलेजमा पढाउनु भएको हामीलाई थाहा छ । हामीले शिक्षक नियुक्त गर्दा इन्डस्ट्रीका सबैबाट रिफरेन्स लिएका हुन्छौँ । हाम्रोमा त उहाँले २ वर्षमात्रै पढाउनु भएको हो । चार इन्टेक पढाउनु भयो, त्यो भनेको दुई वर्ष हुन आउँछ ।

एकै समयमा धेरै कलेजमा पढाउन सकिन्छ । हाम्रो कलेजमा उहाँको क्लास हप्तामा ३ दिन हुन्थ्यो । विहान १० बजेसम्म पढाउँदा पनि हप्तामा ६ क्लास पढाउन पाइन्छ । हाम्रोमा एउटा क्लास, अर्कोमा दुईटा क्लास, गरेर पढाइएको हुन्छ । अहिले पनि हामीसँग त्यस्तो थुप्रै सरहरु हुनुहुन्छ, जसले पढाइरहनु भएको छ ।

एपेक्स कलेजका बीबीए प्रोग्राम हेड योगेन्द्र अधिकारी

यसको विस्तृत विवरण त कलेजको प्रशासनबाट आधिकारिक रुपमा लिनुभयो भने राम्रो हुन्छ । तर हामीसँगै उहाँले लामो समय काम गरेको हो । त्यसमा आशंका गर्नुपर्दैन ।

ठ्याक्कै मलाई मिति याद छैन । तर उहाँले निकै लामो समय पढाउनु भएको हो । उहाँ हाम्रो विद्यार्थी पनि हो । एपेक्सकै ग्राजुएट हो । राम्रो ग्राजुएट मध्येमै हो ।

यहाँ म्यानेजमेन्ट फ्याकल्टी अन्तरगत ‘स्ट्राटेजिक म्यानेजमेन्ट’, ‘विजनेश इन्भारोमेन्ट’, ‘इन्टरनेशनल विजनेश’ जस्ता विषयहरु पढाउनु भएको हो । अहिले झण्डै एक वर्ष अघिमात्रै उहाँले पढाउन छाड्नु भएको थियो ।

उहाँलाई हामीले ‘भिजिटिङ फ्याकल्टी’ को रुपमा ल्याएका थियौँ । ‘भिजिटिङ फ्याकल्टी’ लाई हामीले हप्तामा दुईटा क्लास दिएका हुन्छौँ । उहाँले पनि त्यसरी नै पढाउनु भएको हो ।

इम्पेरियल कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन गोले

हिजो पनि हामीलाई अख्तियारबाट यस विषयमा प्रमाणिकरणका लागि भनेर इमेल आएको थियो । त्यसै अनुसार हामीले प्रमाणिकरण गरेर डकुमेन्ट बुझाइसकेका छौँ ।

उहाँले हाम्रो कलेजमा कोभीडभन्दा अगाडीदेखि नै पढाउनु भएको हो । वाणिज्य शास्त्र अन्तरगत जनरल म्यानेजमेन्ट, मार्केटिङ लगायतका विषय पढाउने टिचर हो ।

‘आन्टरप्रेनियरशिप’, जनरल म्यानेजमेन्टका विषयहरु, ओबी (अर्गनाइजेशनल बिहेभियर), विजनेश इन्भारोमेन्ट लगायतका कोर्ष बीबीएलाई पढाएको हो ।

उहाँ पहिले एपेक्समा पढाउनु हुन्थ्यो । पछि एपेक्समा पनि, हाम्रोमा पनि पढाउनु भयो । अरु पनि ३–४ वटा कलेजमा पढाउनु हुन्थ्यो ।

प्रशासनिक मिडिया प्रालीका अध्यक्ष लोकहरि पौडेल

हामीले त्यस बेला प्रशासनिक म्यागेजिन प्रकाशन गरिरहेका थियौँ । म्यागेजिनको बजार व्यवस्थापनदेखि कार्यालय व्यवस्थापनसम्म सबै पाटो उहाँले नै हेर्नु हुन्थ्यो ।

भर्खरै ग्राजुएशन गरेको भए पनि उहाँको तीक्ष्ण बुद्धि र वाणिज्य सम्बन्धी निकै राम्रो अन्डरस्ट्यण्डिङ भएका कारण हामीले समग्र व्यवस्थापकीय नेतृत्व उहाँलाई दिएका थियौँ ।

त्यसका अलाव उहाँले बेलाबखत लेख तथा अन्तरवार्ताहरु गर्नमा पनि सघाउनु हुन्थ्यो । पछि उहाँ अन्यत्र जागिर खान जानु भयो । हामीले पनि कोभीडपछि पत्रिका सञ्चालन गर्न सकेनौँ । यो पत्रिका अहिले प्रकाशनमा छैन ।


प्रतिक्रिया दिनुहोस्