गुमनाम हुआवे फेरि एकपल्ट वैश्विक प्रविधि बजारको नेतृत्व गर्न कसरी उदाउँदै छ ?

काठमाडौँ । ठीक पाँच वर्ष अघि संसारभर एकसाथ एउटा खबर फैलियो, ‘विश्वब्यापी स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड बन्यो नम्बर वान ।’
त्यो खबर थियो, उदीयमान चिनियाँ कम्पनी हुआवेको । आजसम्म पनि कुनै एक चिनियाँ ब्राण्डले विश्वब्यापी मोबाइल बजारमा यति ठूलो दबदबा जमाउन सकेको त्यो पहिलो र एकमात्र घटना हो ।
कोभीड १९ को महामारीले सिंगो संसार तरंगित भइरहेका बेला हुआवेले सामसुङलाई उछिनेर सन् २०२० को दोस्रो त्रैमासमा विश्वकै ‘सर्वाधिक विक्री’ भएको स्मार्टफोन ब्राण्ड बनेको थियो ।
क्यानालिस रिपोर्टका अनुसार २०२० को अप्रिलदेखि जुनसम्मको तीन महिनामा हुआवेले ५ करोड ५८ लाख फोन बेचेको थियो भने सामसुङले त्यही बीचमा ५ करोड ३७ लाख फोन बेच्यो ।
तर यो वैश्विक प्रभूत्व लामो समय टिक्न सकेन । अमेरिकाले त्यसको एक वर्ष अघि नै हुआवेलाई प्रतिबन्ध लगाइसकेको थियो । तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ मे २०१९ मा एक कार्यकारी आदेश जारी गर्दै अमेरिकी प्रविधि उद्योगमाथि जोखिम सिर्जना गरेको भनेर हुआवेलाई प्रतिबन्ध गरे ।
त्यसको भोलिपल्ट अमेरिकी वाणिज्य विभागले हुआवेसहित अरु ७० वटा उसका साझेदार संस्थालाई ‘इन्टिटी लिस्ट’ भनिने प्रतिबन्धात्मक सूचीमा राख्यो । यसको मतलव ती कम्पनीसँग कारोबार गर्ने कुनै पनि अमेरिकी कम्पनीको हातमा ‘विशिष्ट लाइसेन्स’ हुनु जरुरी हुन्छ।
तर अमेरिकी प्रतिबन्धका बाबजुद पनि हुआवे विश्वको नम्बर १ स्मार्टफोन ब्राण्ड बन्यो ।
त्यसै बेला १५ मे २०२० मा अमेरिकाले आफ्नो देशको प्रविधि प्रयोग गरेर संसारको जुनसुकै देशमा उत्पादन भएको सेमिकण्डक्टर चिप हुआवेलाई बेच्न नपाउने नियम ल्यायो । त्यसले पनि नपुगेर त्यसै सालको १७ अगष्टमा संसारकै सबैभन्दा ठूलो चिप उत्पादक ताइवानी कम्पनी टीएसएमसी सहित तेस्रोपक्ष आपूर्तिकर्ताहरुमाथि पनि रोक लगायो ।
त्यतिमात्रै होइन, हुआवेका स्मार्टफोनमा गुगल नै नचल्ने भयो । गुगल नचलेपछि एन्ड्रोइड सिस्टक पनि चलेन । अमेरिकी चिपमाथिको पहूँच त गुमाइ नै हाल्यो । इन्टेल, क्वालकम, माइक्रोसफ्टजस्ता अमेरिकी प्रविधि कम्पनीहरुसँग पनि नाता तोड्नुपर्ने भयो ।
त्यसपछि २०२० को तेस्रो त्रैमासबाट नै कम्पनीको विक्रीमा भारी गिरावट आउन थाल्यो । एप्पल, सामसुङ र साओमीजस्ता ब्राण्डले उसलाई उछिन्न थाले । बजारमा टिक्नका लागि कम्पनीले ‘अनर’ ब्राण्डमा सस्तो फोन ल्यायो । त्यसले पनि काम गरेन र सन् २०२२ सम्म आइपुग्दा यो कम्पनी विश्वको शीर्ष ५ को सूचीबाट समेत बाहिरियो ।
त्यसपछि प्रख्यात चिनियाँ कम्पनी एकाएक विश्व बजारबाट शनय-शनय गुमनाम भयो ।
++++
ट्रम्पले हुआवेलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेको एक हप्तापछि टाइम म्यागेजिनले ३१०० शब्दको विस्तृत खबर छाप्यो, जसको शीर्षक थियो–‘इन्टरनेटको भविष्यमाथि चीनको नियन्त्रण स्थापित गर्न सघाइरहेको एक विवादास्पद कम्पनीको रहस्य’ ।
त्यही हुआवे, जसले पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी)मा अमेरिकालाई उछिनेको थियो । र, ट्रम्पले उक्त कम्पनीमाथि प्रतिबन्ध गर्नुको मुख्य कारण पनि यही थियो ।
अमेरिकी प्रतिबन्ध पश्चात् बाँकी दुनियाँलाई लागेको थियो, ‘अब हुआवे फेरि आउला कि नआउला ?’ तर यो कम्पनीले आफूलाई यसरी रूपान्तरण गरिदियो कि, सिंगो चीनमात्रै होइन बाँकी विश्वलाई नै अमेरिकी प्रविधिको प्रभूत्वबाट अलग्याउने जग हालिदियो ।
अब फेरि एक पल्ट हुआवे आफ्नो ‘बहुमुखि’ स्वरुप धारण गरेर विश्व बजारमा प्रवेश गरिरहेको छ । ऊ पहिलेभन्दा कयौँ गुणा दर्बिलो भएर उभिएको छ । सशक्त भएर खडा भएको छ ।

त्यसैले गएको सातामात्रै अमेरिकाको न्यूयोर्कलाई नै मुख्यालय बनाएर प्रकाशन हुने अर्को पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले खबर लेखेको छ,– ‘चीनको प्रविधिलाई बाधित गर्ने अमेरिकी योजनाले काम गरिरहेको छैन ।’
उक्त समाचारमा भनिएको छ, ‘प्रविधिको दौडमा चीनलाई जित्न अमेरिकाले हरसम्भव प्रयास गर्यो । एआई, ऊर्जा, स्वयत्त (सेल्फ ड्राइभिङ) गाडी, विद्युतीय सवारीसधान (ईभी) र ड्रोनजस्ता विभिन्न क्षेत्रमा । हालसम्म कुनै उपायले पनि काम गरेको छैन ।’
डिजिटल दुनियाँमा चीनको एक नवीन ‘नक्षेत्र’ बनेर उदाएको छ,- हुआवे ।
++++
प्रविधिको दुनियामा हुआवेको पुनःप्रवेश पहिलेभन्दा ज्यादा शानदार देखिन्छ । नवप्रवर्तत, व्यावसायिक र रणनीतिक विविधिकरण एवम् प्रविधिमा आत्मनिर्भर भएर हुआवेले अब नयाँ डिजिटल दुनियाँको एक सिंगो ‘इकोसिस्टम’ तयार पारेको छ ।
यिनै प्रयासका बलमा यो कम्पनीले भूराजनीतिको कठोर प्रहार सहेर पनि आफूलाई पुनः शक्तिशाली रुपमा उभ्याएको छ । साथै, चीन र बाँकी विश्वका सामु प्रविधिको भविष्यलाई नै नयाँ आकार दिइरहेको छ ।
उसको व्यावसायिक विस्तारले पनि यो आँकडालाई पुष्टि गर्छ । सन् २०२४ मा हुआवेको आम्दानी २२.४ प्रतिशत बढेर ८६२.१ अर्ब युआन पुगेको थियो । उक्त कम्पनीले आफ्नो स्मार्टफोनको विक्री ३८.३ प्रतिशतले बढाएको रिपोर्टहरु आएका छन् ।
कम्पनीको खुद नाफा लगभग २८ प्रतिशत घटेर ६२.९ अर्ब युआनमा झरेको छ । तर त्यसो हुनुमा कम्पनीको आम्दानी घटेर होइन, अनुसन्धान र विकासमा उसले खर्च बढाएर हो । कम्पनीका अनुसार अहिले उसले कुल आम्दानीको २० प्रतिशत रकम यस काममा खर्चिइरहेको छ । जुन लगानीले भविष्यमा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन सघाउने छ ।

करीब ६ वर्ष अघि अमेरिकाले एन्ड्रोइड प्रणालीबाट हुआवेलाई हटाइदिएपछि उसले अब आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ शुरु गरेको छ । उसले अब आफैँ सेमिकण्डक्टर चिप उत्पादनमा हात हालेको छ ।
उसले चीनको सबैभन्दा ठूलो चिप उत्पादक ‘सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन (स्मिक०’सँग मिलेर काम गरिरहेको छ । यस निम्ति हुआवेको कम्पनी ‘हाइ–सिलिकन’ले चिपको डिजाइन गर्छ र स्मिकले उत्पादन गर्छ ।
हुआवेले अहिले स्मिकको ‘७ एनएम’ प्रक्रिया (प्रविधि) अपनाएर ‘किरिन ९०२०’, ‘किरिन ९०००एस’ जस्ता चिप बनाएको छ । जुन, ‘मेट ६०’ सिरिजका स्मार्टफोनको शक्ति बनेको छ ।
कम्पनीले अब कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड कम्प्यूटिङजस्ता क्षेत्रमा पनि आफूलाई अग्रसर बनाएको छ । ‘पान–गु’जस्तो बृहत ‘ल्याङ्ग्वेज मोडल’ र उन्नत ‘एआई इन्टरफेस’ प्रणाली पनि विकास गरेको छ । यिनै कदमले प्रविधिको दुनियाँमा प्रभूत्व स्थापित गर्ने चिनियाँ प्रयासका निम्ति हुआवे सबैभन्दा ठूलो ‘खेलाडी’ बनेर उदाएको छ ।
++++
यो कम्पनी घरेलु स्तरमा शेञ्जेनमा नयाँ सेमिकण्डक्टर लाइन (उद्योग) बनाइरहेको छ । वैश्विक स्तरमा हेर्ने हो भने संसारका ६० भन्दा बढी मुलुकमा स्मार्टफोन मोडल पुनः लञ्च गर्ने योजनामा छ ।
विश्वभर सौर्य ऊर्जाको लहर सिर्जना गर्नमा पनि हुआवेले ठूलो सफलता पाइरहेको छ । सन् २०२२ मा यो कम्पनीले विश्वब्यापी सोलार फोटोभोल्टिक (पीभी) इन्भर्टर विक्रीको २९ प्रतिशत हिस्सा ओगटेको थियो । त्यसो त ऊ सन् २०१५ देखि नै संसारको सबैभन्दा ठूलो पीभी इन्भर्टर उत्पादक हो ।
हाम्रा छिमेकी श्रीलंका, माल्दीभ्स र दक्षिण अफ्रिकाले दूरसञ्चार तथा क्लाउड सेवामा हुआवेसँग मिलेर बृहत्तर परियोजना सञ्चालन गरिरहेका छन् । चीन, इन्डोनेसिया, फिलिपिन्सजस्ता देशमा वित्तीय सेवालाई डिजिटाइजेशन गर्न र यसको क्लाउड तथा सुरक्षा प्रत्याभूति गर्नमा हुआवेले ठूलो सफलता पाएको छ ।

अस्ट्रेलिया, स्वीट्जरल्याण्ड जस्ता देशमा औद्योगिक एवम् निर्माण क्षेत्रमा उसले डिजिटल सोल्युसन पस्किरहेको छ । अस्पताल, सार्वजनिक सेवा, यातायात तथा ढुवानी, ऊर्जा र युटिलिटीजस्ता क्षेत्रमा हुआवेले थुप्रै काम गरिरहेको छ । स्मार्ट बिल्डिङ सोल्यूसन, कनेक्टेड एलिभेटरदेखि विमानस्थल सञ्चालनका लागि आवस्यक डाटा सेन्टरसम्ममा उसले काम गरिरहेको छ ।
नेपालमा भने हुआवेको व्यवसाय तुलनात्मक रुपमा कम छ । यहाँ दुई दूरसञ्चार कम्पनीलाई नियामकीय सहजिकरण मार्फत् विदेशी मुद्रा सटही सुविधा दिनुपर्नेमा नियामक निकायले अवरोध गरिरहेको छ । त्यसको परिणाम चाहीँ, दूरसञ्चार (खासगरी मोबाइल फोन) प्रयोगकर्ताले गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन् ।
हुआवे त फाइभ जी होइन, ‘५.५ जी’ समेत लिएर बसेको छ । उसले हुआवे क्लाउड भन्ने ‘गुगल एप-स्टोर’जस्तै सिस्टम तयार पारेको छ । मोबाइल फोनबाटै भिडियो कल गर्न मिल्ने प्रणाली लिएर बसेको छ । बारफोन (की–प्याड वाला)मा समेत मोबाइल डाटा चलाएर सामाजिक सञ्जाल, युट्युब, टिकटक चलाउन मिल्ने सस्तो फोनहरु बेच्न खोजिरहेको छ ।
गरिब र फोनमा धेरै पैसा खर्च गर्न नचाहने नेपालीलाई इन्टरनेटको पहूँचमा पुर्याउने कोसिसमा लागिरहेको छ । विभिन्न हिमालका आधार शिविरजस्ता अति दुर्गम भूभागमा पनि सजिलै इन्टरनेट चलाउन सक्ने ‘वाइफाइ’ सुविधा पनि बोकेर बसेको छ । यस्तो सुविधा हिमालसम्म पुर्याउन सके आफ्नै सरकारलाई छलेर स्टारलिंकजस्ता कम्पनीको इन्टरनेट चलाउनुपर्ने बाध्यता हट्न सक्छ ।

हार्डवयर र सफ्टवयर दुबै प्रणालीद्वारा पुरापुर देशलाई नै डिजिटाइज गर्नसक्ने सामर्थ्य बोकेर हात्तिसारमा अड्किएको यो ब्राण्डसँग नेपालले आफ्नो डिजिटल रुपान्तरणमा कति फाइदा लिन सक्छ भन्ने त हाम्रा नीति निर्माता र तिनको निर्णयमा भर गर्छ ।
तर हुआवेको यो कहानीले ‘प्रतिकुलतालाई कसरी आविष्कारमा बदल्न सकिन्छ’ भन्ने गज्जबको उदाहरण चाहीँ प्रस्तुत गरेको छ । प्रतिबन्धले उच्छिट्टिएर सागरको ‘किनारा’मा पुगेको एउटा कम्पनीले आफ्नो प्रासंगिकतालाई जोगाउनमात्रै सक्षम भएन, अब ऊ विश्वब्यापी प्रविधि उद्योगलाई नयाँ स्वरुपमा ढाल्दैछ—त्यो पनि आफ्नो शर्तमा ।