सेयर कर्जा प्रवाहमा किन यति आक्रामक बने बैंक तथा वित्तीय संस्था ? कसले कति दिए ऋण ? « Arthapath.com
२ असार २०८२, सोमबार

सेयर कर्जा प्रवाहमा किन यति आक्रामक बने बैंक तथा वित्तीय संस्था ? कसले कति दिए ऋण ?



काठमाडौं । नेपाली सेयर बजार पछिल्लो समय सकरात्मक लयमा अघि बढेको छ । लगानीकर्ताको आत्मविश्वास, नीतिगत सहुलियत र ब्याजदरमा घट्दो ट्रेन्डले पनि बजारमा उर्जा थपेको छ ।

सेयरमै ‘भविष्य’ खोज्नेहरुको संख्या ह्वात्तै बढाएको देखिन्छ । सेयर धितो कर्जा अर्थात् सेयर किन्न बैंकबाट लिइने कर्जामा तीव्र उछाल आएको छ ।

पछिल्लो एक वर्षमै मार्जिन प्रकृतिको सेयर धितो कर्जा ४६ प्रतिशत धेरै वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

अहिले वाणिज्य बैंक, विकास बैंकदेखि फाइनान्स कम्पनीहरूसम्म सबैजसो संस्थाहरू सेयर कर्जामा आक्रामक रूपमा प्रवेश गरिरहेका छन् । हाल वाणिज्य बैंक तर्फ १९ वटा बैंकले सेयर धितो कर्जा प्रवाह गर्दै आएका छन् । यस्तै, १३ वटा विकास बैंक र १४ वटा फाइनान्स कम्पनीले सेयर धितोमा कर्जा दिँदै आएका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को बैशााख मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने यस्तो शीर्षकमा ८५ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

हाल अन्य शीर्षकमा प्रवाह हुने कर्जा सुस्त भइरहेको अवस्थामा सेयर धितो कर्जा भने उच्च मात्रामा वृद्धि भएको देखिन्छ । सस्तो ब्याजदर, नीतिगत सहजीकरण र सेयर बजारप्रतिको उत्साहबीच बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा भने आक्रामक रुपमा बढेको हो ।

राष्ट्र बैंकका अनुसार १ करोड माथि सीमाको सेयर धितो कर्जा एक वर्षमा ६२.३३ प्रतिशत वृद्धि भएको छ । यता, ५० लाखदेखि १ करोड सीमाको सेयर कर्जा २७.८१ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको ८.१९ प्रतिशत र २५ लाख सीमाको सेयर कर्जा प्रवाह पनि ११.१० प्रतिशत वृद्धि भएको छ ।

वाणिज्य बैंकले सेयर किन्न दिने ऋण ५३ प्रतिशत बढ्यो, कसले कति दिए ?

समिक्षा अवधिमा वाणिज्य बैंकहरुले सेयर धितोमा दिन कर्जाको आकार ५३.१५ प्रतिशत वृद्धि भएको छ । गत आवको बैशाख मसान्तसम्ममा बैंकहरुले कुल ६७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यस्तो कर्जाको आकार १ खर्ब ३ अर्ब १४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

सो अवधिमा एनआइसी एशिया बाहेक सबै बैंकहरुले यस्तो कर्जा बढाएका छन् । लगानीकर्ताले सबैभन्दा धेरै ऋण ग्लोबल आइएमई र नबिल बैंकबाट लिएका छन् । समिक्षा अवधिमा ग्लोबल आइएमईले ११ अर्ब ५९ करोड १४ लाख र नबिलले १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गत आवको तुलनामा भने क्रमशः ६४.५२ प्रतिशत र २८.४३ प्रतिशत धेरै हो । सो अवधिमा एनआइसी एशियाले प्रवाह गर्ने सेयर धितो कर्जा भने ४६.७६ प्रतिशत घटेको देखिन्छ ।

स्रोतः नेपाल राष्ट्र बैंक, रकम दश लाखमा

विकास बैंकको भने २३ प्रतिशत बढ्यो

सेयर धितोमा प्रवाह गर्ने कर्जा विकास बैंकले भने २३ प्रतिशत बढाएका छन् । हाल संचालनमा रहेका मध्ये १३ वटा विकास बैंकले यस्तो कर्जा दिँदै आएका छन् ।

चालु आवको १० महिनामा आइपुग्दा ती बैंकहरुले कुल १८ अर्ब १७ करोड रुपैयाँ कर्जा दिएका छन् । यो गत आवको तुलनामा भने २३.१३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले सेयर धितोमा कुल १४ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस्तो शीर्षक कर्जा प्रवाहमा मुक्तिनाथ र गरिमा विकास अगडि देखिएका छन्।

मुक्तिनाथले ३ अर्ब ५९ करोड ८२ लाख र गरिमाले २ अर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा दिएका छन् । तर, सिन्धु विकास बैंकको सेयर धितो कर्जा प्रवाह ६६.४४ प्रतिशत र ज्योति विकासको ९.१३ प्रतिशत घटेको देखिन्छ । यी बाहेक अन्य सबै विकास बैंकले सेयर धितो कर्जा बढेको छ ।

स्रोतः नेपाल राष्ट्र बैंक, रकम दश लाखमा

सेयर धितोमा ऋण दिन फाइनान्स कम्पनी पनि आक्रामक

सेयर धितो कर्जा प्रवाहमा फाइनान्स कम्पनी पनि आक्रामक नै देखिएको छ । पछिल्लो एक वर्षमै यस्तो शीर्षकमा प्रवाह हुने कर्जाको आकार साढे ९ प्रतिशत वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार १० महिनामै फाइनान्स कम्पनीहरुले कुल ४ अर्ब २१ करोड २९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो गत आवको तुलना भने यो ९.४० प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीहरुले ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ प्रवाह गरेका थिए ।

१४ वटामध्ये पोखरा फाइनान्सको ४५.४० प्रतिशत, रिलायन्सको २२.३८ प्रतिशत, प्रोग्रेसिभको १३.०७ प्रतिशत र गुड विल फाइनान्सको १२.८० प्रतिशत घटेको छ । यी बाहेकका अन्य सबै कम्पनीहरुले सेयर धितोमा प्रवाह हुने कर्जा बढाएका छन् ।

स्रोतः नेपाल राष्ट्र बैंक, रकम दश लाखमा


प्रतिक्रिया दिनुहोस्