आज धान दिवस, के तपाईँलाई धानसम्बन्धी यी तथ्यहरु थाहा छ ?

काठमाडौँ । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । कतिपय स्थानमा रोपाईँ पर्वका रुपमा पनि यस दिनलाई मनाइन्छ । असार १५ लाई नेपाली संस्कृतिमा ‘दही च्यूरा’ खाने दिनको रुपमा पनि मनाइन्छ ।
नेपालमा २०६१ सालमा सरकारले हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। त्यसैले २०६२ यता हरेक वर्ष धान दिवसलाई सरकारीस्तरबाटै निरन्तर मनाउने गरिएको छ ।
नेपालको प्रमुख खाद्य बाली हो धान । यहाँ करीब ११८ जातका धान पाइने सरकारी तथ्याङ्क छ । तथापि कयौँ रैथानै जातका धानको पहिचान तथा संरक्षणमा उल्लेख्य प्रगति भएको छैन ।
सरकारी तथ्यांक केलाउने हो भने नेपालमा चालू आर्थिक वर्ष २०८१÷८२ मा धानको उत्पादन ४.०४ प्रतिशत बढेर ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको छ । यो आँकडा सरकारले जारी गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यो साल धान बालीको औसत उत्पादकत्व ५.३८ प्रतिशत बढेर ४.१९ टन प्रतिहेक्टर पुगेको छ ।
यो वर्ष अन्य कृषि बालिको तुलनामा धानको बृद्धिदर उच्च रहेको अनुमान सरकारले गरेको छ । उसका अनुसार धान गहूँ र मकै सहितको कृषि बालीको उत्पादन यो आर्थिक वर्षमा २.६७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
नेपालमा कुल बालि उत्पादनमा खाद्यान्न बालीको मुख्य हिस्सा रहेको छ । यो साल पनि सबै किसिमका बालीमध्ये खाद्यान्नको हिस्सा ४५.५२ प्रतिशत रहेको अनुमान छ । त्यसपछि तरकारी १८.६ प्रतिशत, नगदेबाली १५ प्रतिशत, औद्योगिक बाली ११.५ प्रतिशत, फलफूल ५.९ प्रतिशत रहेको अनुमान छ ।
पर्यटन
असार १५ का दिन बाजागाजा तथा भोजभतेर र उत्सवका साथ पर्वकै रूपमा धानको रोपाइँ गर्ने नेपालको ‘बेठी’ परम्परा हो । यस दिन ‘हिलो खेल्न’ युवा युवतीहरु खुब उद्वैलित देखिन्छन् । अचेल त विदेशी पर्यटकहरु पनि नेपालमा हिलो खेल्न आउन थालेका छन् ।
यो दिवरलाई नेपालले अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने मौकाका रुपमा पनि अघि बढाउन सक्छ । वर्षातको समयमा पर्यटकको संख्या घट्ने भएकाले यो मौसममा नेपालले ‘हिलो पर्यटन’ र माटोसँगको घनिष्ठता बढाउने उत्सवमा रुपमा अघि बढाउनसक्ने गज्जबको मौका छ ।
अरु त अरु, गर्मीले वाक्कै भएका भारतीयहरु पनि नेपालमा चिसो र हिलोको स्वाद चाख्न आउने संभावना रहन्छ ।
पर्व उत्सव
नेपालमा धान र यसका परिकारलाई बारम्बार उत्सवका रुपमा मनाइने गरिन्छ । रोपाइँ उत्सव असारमा मनाएपछि मंसिरमा नयाँ अन्न अर्थात् चामलको प्रयोग सुरु गर्ने बेलामा होमहोमादी गरेर वायु कुलाइन पुज्ने गरिन्छ । यस पर्वलाई न्वागी पनि भनिन्छ ।
तिहारमा नयाँ चामलको सेल पकाएर गज्जबसँग उत्सव मनाइन्छ । भाइटीकाको प्रमुख परिकार नै सेल हो । द्यौसी, भैलोजस्ता दीपावलीका उत्सवहरुमा सेल मुख्य आकर्षण हुन्छ । पाठ, पूजा, उत्सव, विवाहआदी कार्य र पितृ पूजनमा सेलको खुब महत्व छ । कुलायन पूजामा खिर पकाइन्छ । साउन १५ र तिजमा पनि खिरको खुब महत्व छ । दशैँमा च्यूराको महत्व छ ।
थारूहरुले माघीमा चामलका विभिन्न परिकार पकाउँछन् र उत्सव मनाउँछन् । यस्ता हरेक जातजातीको संस्कृतिमा धान र यसका परिकारहरुको विशेष महत्व छ । अझ भन्नुपर्दा नेपालको पुरा संस्कृति नै धानको परिकारहरुमा ज्यादा निर्भर देखिन्छन् ।
यी सबै संस्कृतिको जरो आजैको पर्व हो, धान रोप्ने रोपाइँ दिवस ।
नेपालमात्र होइन, धान र यससँग गाँसिएका पर्व अन्यत्र पनि मनाइन्छन् । भारतको तमिलनाडूमा ‘पोङ्गल’ पर्व धानकै सम्मानमा मनाइन्छ । चीनमा चामलबाटै बनेको ‘मून केक’को परिकार खाएर ‘मून फेस्टिभल’ मनाइन्छ । धान रोप्ने गीत, नाच र परम्परा त नेपाल, भारत, चीन र आसियान मुलुकहरुमा आ–आफ्नै खालका छन् ।
जापानमा धानकी देवी भनेर ‘इनारी’को पूजा गरिन्छ । धान भित्र्याउने बेला त्यहाँ ‘दान्डो’ मनाइन्छ । इन्डोनेसिया र थाइल्याण्डमा धानको ‘आत्मा’ पूजा गरिन्छ । इन्डोनेसियाको बालीमा धानको सामूहिक खेति गर्ने प्रचलन संसारकै नौलो छ । एसियामात्रै होइन, अफ्रिकामा पनि धानसँग गाँसिएका विभिन्न स्थानीय लोक संस्कृति र पर्वहरु मनाइन्छन् ।
केही रोचक तथ्य
संसारमा ४० हजारभन्दा धेरै जात, उपजातका धानहरु पाइन्छन् । नेपालमा मात्रै रैथाने र उन्नत गरी २ हजारभन्दा धेरै जातका धान पाइने बताइन्छ । यद्यपि, यसको आधिकारिक सरकारी अभिलेख तयार भइसकेको छैन ।
विश्वका करीब ८ अर्बमध्ये ३.५ अर्ब मानिसको दैनिक आहारमा मुख्य वस्तु नै चामल हो । त्यसैले यो संसारको सबैभन्दा धेरै मानिसलाई पोषण गर्ने अन्नमध्येमा पर्छ ।
धान नेपालको सबैभन्दा पुरानो ‘नगदेबाली’ पनि हो । केही वर्ष अघिसम्म नेपालमा आर्थिक कारोबारहरु ‘माघको भाखा’मा हुने गरेको थियो । कात्तिक मंसिरमा धान भित्र्याएपछि माघमा धान बेचेर ऋण तिर्ने चलन थियो । त्यसैले पशु चौपायको किनबेचदेखि असोज कात्तिकमा मनाइने दशैँ–तिहारको ऋणपान पनि माघमै तिरोतारो गर्ने गरिन्थ्यो ।
विश्वको कुल धान उत्पादनमा एसियाले मात्रै ९० प्रतिशत उत्पादन गर्छ । चीन संसारको सबैभन्दा ठूलो धान उत्पादक हो । ऊ एक्लैले विश्व उत्पादनको २८ प्रतिशत हाराहारी उत्पादन गर्छ । भारतले २३ प्रतिशत, बाङ्लादेश र इन्डोनेसियाले ७–७ प्रतिशत, भियतनामले ६ प्रतिशत हाराहारी धान उत्पादन गर्छन् ।
थाइल्याण्ड, म्यानमार (बर्मा), फिलिपिन्स, पाकिस्तान, ब्राजिल, कम्बोडिया र जापान, अमेरिका, नाइजेरिया, नेपाल, दक्षिण कोरिया, श्रीलंका, मीश्र (इजिप्ट), मदागास्कर, लाओस, पेरू, कोलम्बिया, ताञ्जानिया, गिनी, माली, मलेसिया, सियरालियोन, उत्तर कोरियाजस्ता देश पनि ज्यादा धान उत्पादन गर्ने मुलुकको सूचीमा क्रमशः देखिन्छन् ।
कतिपय वैज्ञानिकहरु चीनको याङत्से नदी उपत्यकामा करीब साढे १३ हजार वर्षअघि धानको उत्पत्ती भएको मान्छन् । तर कतिपय वैज्ञानिकहरु नेपालमा धानको उत्पत्ति भएको मान्न थालेका छन् । उनीहरुका अनुसार कपिलवस्तुको अजिगरा तालमा जङ्गली धानको उत्पत्ति भएको थियो । त्यस्तै सुर्खेतको बुलबुले तालमा सदाबहार धानको उत्पत्ति भएको थियो ।
उत्पत्ति जहाँ भए पनि नेपाल, भारत, चीन, थाइल्यान्ड, कम्बोडिया र जापानमा प्राचीन कालदेखि नै धानको खेती गर्ने र यसका परिकारहरु बनाएर मानव आहारमा प्रयोग गर्ने परम्परा विकसित भयो।