थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित

काठमाडाैं । थाइल्यान्डको राजनीतिमा दशकौंदेखि चल्दै आएको सिनावात्रा परिवार र रूढीवादी, सैन्य तथा शाही समर्थक अभिजात वर्गबीचको संघर्ष फेरि चुलिएको छ।
हालै प्रधानमन्त्री बनेकी ३८ वर्षीया पेटोङटार्न सिनावात्रा संवैधानिक अदालतबाट निलम्बनमा परेकी छन्, भने उनका पिता तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा ‘शाही मानहानि’ (लेस माजेस्टे) को आरोपमा फौजदारी अदालतमा उपस्थित भएका छन्।
पेटोङटार्नमाथि कम्बोडियासँगको सीमा विवादको सन्दर्भमा मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको आरोप लागेपछि संवैधानिक अदालतले उनलाई ७–२ को बहुमतले प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको हो।
विवादको कारण बनेको विषय हो, कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग भएको टेलिफोन संवाद, जसमा उनले हुन सेनलाई “काका” भनेकी थिइन् र एक थाई सेनापतिलाई “प्रतिद्वन्द्वी” को रूपमा चित्रित गरेकी थिइन्।
यो संवाद सार्वजनिक भएपछि उनको आलोचना चर्किएको थियो। विपक्षीहरूले उनलाई सेनाविरुद्ध र राष्ट्रविरोधी व्यवहार गरेको आरोप लगाएका छन्।
थाक्सिनमाथि शाही मानहानिको मुद्दा
मंगलबार नै, पेटोङटार्नका पिता थाक्सिन सिनावात्रा बैंककको फौजदारी अदालतमा उपस्थित भए। उनीमाथि सन् २०१५ मा दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्तामा राजालाई अपमानजनक टिप्पणी गरेको आरोप लागिएको छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म कैद सजाय हुन सक्छ।
अदालतले मिडियालाई मुद्दा कारवाही हेर्न अनुमति नदिए पनि, मुद्दा हप्ताौंसम्म चल्नेछ, र फैसला आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ।
सरकारभित्र दरार र विरोध प्रदर्शन
पेटोङटार्नको नेतृत्वमा रहेको फेउ थाई पार्टीले यस काण्डपछि एक प्रमुख गठबन्धन साझेदार गुमाएको छ, र हजारौं नागरिकले बैंककमा विरोध प्रदर्शन गरेका छन्। केही मन्त्रीहरूले राजीनामा दिएपछि राजाले मन्त्रिपरिषद् पुनर्गठनको अनुमोदन गरेका छन्।
पेटोङटार्नले संस्कृति मन्त्रीको जिम्मेवारी लिने घोषणा गरेकी छन्, तर संवैधानिक अदालतको निर्णय आउन बाँकी रहेको हुँदा उनको भूमिकामा अन्योल कायमै छ।