अहिले कुन बैंकसँग कति छ गैरबैंकिङ्ग सम्पत्ति ?

काठमाडौं । बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति बढ्दो छ । वाणिज्य बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति ६२ प्रतिशत वृद्धि भएको हो । हाल बैंकहरुसँग यस्तो सम्पत्ति साढे ३८ अर्ब रुपैयाँ बराबरको छ ।
नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको यस्तो सम्पत्ति ३८ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाघेको छ । यो गत आवको तुलनामा ६२.०८ प्रतिशत धेरै हो । जबकि, गत आवको बैशाख मसान्तसम्म बैंकहरुसँग २३ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति रहेको थियो ।
हाल बैंक तथा वित्तीय संस्थाहरुको यस्तो सम्पत्ति भने ६३.४५ प्रतिशत बढेर ४५ अर्ब ११ करोड ५० लाख रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकसँग ३८ अर्ब ४८ करोड, विकास बैंकसँग ३ अर्ब ९० करोड, फाइनान्ससँग २ अर्ब ७२ करोड रुपैयाँ बराबरको गैरबैंकिङग सम्पत्ति देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा दर बढेसँगै गैरबैंकिङ्ग सम्पत्ति पनि वृद्धि भएको हो । गत बैशाख वैशाखसम्म आइपुग्दा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा ५.२४ प्रतिशत पुगेको छ । जबकि, गत वर्षको वैशाखसम्म ३.९८ प्रतिशत रहेको रहेको थियो ।
बैंकले प्रवाह गरेको ऋण नउठेपछि धितो लिलामी गर्दा बिक्री नभएमा त्यो सम्पत्ति बैंकले आफैं सकारेर राख्छ । यसरी राखिएको सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ । बैंकले पछि बोलपत्रमार्फत बेचेर उक्त सम्पत्तिबाट रकम उठाउँछन् । उठेको रकम प्रोभिजनिङबाट राइटअफ गरी प्रत्यक्ष आम्दानीमा समेटिन्छ । तर, यस्तो सम्पत्ति बढ्दै गएमा प्रोभिजनिङ र सम्पत्ति व्यवस्थापनमा जोखिम देखिन्छ ।
अधिकांश वाणिज्य बैंकहरुको यस्तो सम्पत्ति वृद्धि भएको छ । तर, माछापुच्छ्रे बैंकले भने ३३.२८ प्रतिशत घटाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने यस्तो सम्पत्ति छैन ।
समिक्षा अवधिमा सर्वाधिक गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकसँग धेरै छ । हाल बैंकसँग ५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ । यो गत आवको तुलनामा ८२.७१ प्रतिशत धेरै हो । यता, हिमालयन बैंकसँग पनि ५ अर्ब १२ करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकको यस्तो सम्पत्ति २५३.४६ प्रतिशत वृद्धि भएको हो ।
यस्तै, एनआइसी एशियासँग पनि ४ अर्ब ६० करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिन्छ ।
राष्ट्र बैंकका अनुसार नबिलसँग ३ अर्ब ७९ करोड ३९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग ३ अर्ब ११ करोड ६१ लाख, कुमारीसँग २ अर्ब ५५ करोड ८१ लाख, प्राइमसँग २ अर्ब ३६ करोड ९९ लाख, लक्ष्मी सनराइजसँग १ अर्ब ७८ करोड २४ लाख, प्रभूसँग १ अर्ब २६ करोड १६ लाख, एनएमबिसँग १ अर्ब २५ करोड ५१ लाख, सिटिजनसँग १ अर्ब २ करोड ८९ लाख र कृषि विकाससँग १ अर्ब १ करोड ४५ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति छ।
सरकारी स्वामित्व रहेका दुई बैंकसँग सबैभन्दा गैरबैंकिङ्ग सम्पत्ति छ । हाल नेपाल बैंकसँग २० करोड ४१ लाख र राष्ट्रिय वाणिज्य बैंकसँग ३१ करोड ९९ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ ।
यता, नेपाल एसबिआईसँग ८९ करोड ७९ लाख, सानिमासँग ८७ करोड ७४ लाख, सिद्धार्थसँग ७२ करोड ४७ लाख र एभरेष्ट बैंकसँग ६२ करोड ३९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति छ ।
कुन बैंकसँग कति छ गैरबैंकिङ्ग सम्पत्ति ?
