बिवाइडी सिगलको चर्चाः नाडा अटो सो २०२५ मार्फत नेपाल भित्रिने तयारीमा रहेको यो नयाँ ईभी कस्तो छ ?

काठमाडौं । सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त विद्युतीय सवारी साधन खोजिरहेका उपभोक्ताहरूका लागि अहिले एक नयाँ नाम चर्चामा छ ।
बिवाइडी सिगल चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडीले निर्माण गरेको सानो तर सक्षम ह्याचब्याकले लञ्च भएको एक वर्षमै उल्लेखनीय सफलता हात पारेको छ।
सन् २०२३ को अप्रिलमा बजारमा ल्याइएको सिगलको उत्पादन संख्या हालै १० लाख युनिट पार गरेको घोषणा भएपछि यो मोडलले विश्वभरको ईभी बजारमा नयाँ उत्साह ल्याएको छ।
बिवाइडी सिगलले आफैलाई ‘सेग्मेन्ट ब्रेकर’का रूपमा स्थापित गरिरहेको छ। सानो साइज, आकर्षक डिजाइन, ठिक्क रेन्ज र किफायती मूल्यले गर्दा यो गाडी शहर केन्द्रित आवागमनका लागि निकै उपयुक्त देखिएको छ।
कम्पनीको अत्याधुनिक इ–प्लेटफर्म ३.० मा निर्माण भएको यस गाडीमा अगाडिको भागमा ५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १३५ एनएम टर्क दिन्छ। साथमा, ३८.८८ किलोवाट आवरको लिथियम–आइरन–फस्फेट ब्याट्री छ, जसले डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० मिनेटमै ३०प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ।
यस मोडलले कम मूल्यमा पनि उपयोगिता र प्रविधिमा सम्झौता नगर्ने दृष्टिकोण लिएपछि, यो सवारी मध्यम वर्गीय ग्राहकका लागि ‘सस्तोमा स्मार्ट’ विकल्प बन्न पुगेको छ। विशेषगरी ती उपभोक्ताका लागि जो पहिलोपटक ईभी लिने सोचमा छन्, सिगल एक सुलभ र भरपर्दो विकल्प बन्न सक्छ।

युरोपका लागि डल्फिन सर्फः नयाँ नाम, नयाँ आकार
बिवाइडीले आफ्नो अन्तर्राष्ट्रिय रणनीति अन्तर्गत हालै सिगललाई युरोपेली बजारमा डल्फिन सर्फ नामक मोडलका रूपमा प्रस्तुत गरेको छ।
युरोपेली संस्करण केही साइजमा परिवर्तन गरिएको छ, ३,९९० मिमी लामो, ५ मिमी चौडाइमा र ४० मिमी अग्लो, जुन चीनमा बेचिने सिगल भन्दा ठूलो हो। यद्यपि, २,५०० मिमीको ह्वीलबेस उस्तै राखिएको छ।
यस संस्करण एक्टिभ, मिड र टप तीन फरक ट्रिममा उपलब्ध छ। तीनवटै मोडल फ्रन्ट–व्हील ड्राइभ प्रणालीमा आधारित छन् र सबैको अधिकतम गति १५० किमी÷घण्टा छ। एक्टिभमा ३० किलोवाट एलएफपी ब्याट्री र ६५ किलोवाटको मोटर जडान गरिएको छ, जसले डब्लुएलटिपी परीक्षणअनुसार २२० किमी रेन्ज दिन्छ। चीनमा भने यही ब्याट्रीसहित ५५ किलोवाटको मोटर दिइएको छ, जसले सीएलटिसी अनुसार ३०५ किमी रेन्ज दिन्छ।
मिड र टप ट्रिममा थप शक्तिशाली ४३.२ किलोवाट ब्याट्री प्रयोग गरिएको छ, जसले ३१०–३२२ किमीको डब्लुएलटिपी रेन्ज प्रदान गर्छ। मिड ट्रिममा उस्तै ६५ किलोवाट मोटर छ भने टप ट्रिममा भने ११५ किलोवाटको शक्तिशाली मोटर दिइएको छ, जुन चिनियाँ संस्करणमा छैन।

नाडा अटो सो २०२५ मार्फत नेपाल भित्रिने तयारी
यति छोटो समयमा १० लाख युनिट उत्पादन गरिसकेको सिगलले अब नेपालमा समेत चर्चा पाउन थालेको छ । बिवाइडीले नेपालमा पहिले नै आफ्ना विभिन्न ईभी मोडलहरू, जस्तै एटो ३, डल्फिन र इ–६ सार्वजनिक गरिसकेको छ।
अब यो सफल मोडल बिवाइडी सिगल पनि नाडा अटो सो २०२५ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ। जसले नेपालमा विद्युतीय सवारीको बजार विस्तारमा महत्त्वपूर्ण योगदान दिने अनुमान गरिएको छ।
नेपालजस्तो बजारमा जहाँ विद्युतीय सवारीको माग तीव्र गतिमा बढ्दो छ, त्यहाँ सिगलको जस्तै सस्तो, भरपर्दो र स्मार्ट सवारीको आवश्यकता अझै धेरै छ। बिवाइडी सिगलले सहर भित्रको दैनिक उपयोग, डेलिभरी सेवा, र राइड–सेयरिङ प्लेटफर्महरूको लागि अत्यन्त उपयुक्त विकल्प बन्नसक्ने सम्भावना देखिन्छ। अझ विशेष कुरा त के छ भने, सस्तो मूल्य भए पनि यो गाडीले सुरक्षा, आराम, र प्रविधिको संयोजनलाई सन्तुलनमा राखेको छ।

सस्तो मूल्यको ईभीको अग्रपंक्तिमा सिगल
विश्व ईभी बजारमा अहिले प्रतिस्पर्धा मूल्य र रेन्जका वरिपरि केन्द्रित छ। सिगल जस्तो गाडीले सस्तो मूल्यमै सन्तुलित रेन्ज र प्रयोगकर्ता–मैत्री विशेषता दिएर यो प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ। टेष्ला, एमजी, ओरा जस्ता ब्रान्डहरू जँहा प्रिमियम र मिड–रेंज ईभीमा ध्यान केन्द्रित गरिरहेका छन्, त्यहाँ बिवाइडीले जनताको आवश्यकता बुझेर सस्तोमा गुणस्तरीय मोडल ल्याउनु, रणनीतिक रूपमा चतुर चाल हो।
नेपालमा विद्युतीय सवारी प्रयोग बढ्न थालेको अवस्था छ। सरकारले पनि कर छुट, चार्जिङ संरचना विस्तार, र आयात सहजतामा ध्यान दिँदैछ। यस्तो अवस्थामा सिगल जस्तो गाडीले ईभी अपनाउने निर्णय गर्न लागेका हजारौं ग्राहकहरूलाई आकर्षित गर्न सक्छ।

नेपालका लागि आदिकारीक रुपमा यस गाडीको मूल्य सार्वजनिक भएको छैन । चीनमा २०२५ मा बिवाइडी सिगल ईभीको मूल्य ५६,८०० युआन (करिब ७,८०० अमेरिकी डलर) रहेको छ । तर नेपालमा करिब रु २७ देखि ३० लाखको अनुमानित सुवाती मूल्यमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।