गणपति डोर एण्ड प्लाइबोर्ड : वार्षिक कारोबार ७६ करोड नाघ्यो, नाफा ४१ प्रतिशत वृद्धि « Arthapath.com
२० असार २०८२, शुक्रबार

गणपति डोर एण्ड प्लाइबोर्ड : वार्षिक कारोबार ७६ करोड नाघ्यो, नाफा ४१ प्रतिशत वृद्धि



काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा स्थापित नाम गणपति डोर एण्ड प्लाइबोर्ड इन्डष्ट्रिजले आफ्नो व्यापार विस्तारमा निकै आक्रामक देखिएको छ ।

कम्पनीले वार्षिक कारोबार ७६ करोठ माथि पुर्याएको छ । एक वर्षको अवधिमा कम्पनीले व्यापार १९ प्रतिशत बढाएको देखिन्छ । गत वर्ष सन् २०२४ मा कम्पनीले ७६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १९.३१ प्रतिशत बढी हो ।

कम्पनीले अघिल्लो वर्ष सन् २०२३ ६४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा ५४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । अध्यक्ष चम्पालाल बोथ्राको नेतृत्वमा कम्पनीले लगातार तेस्रो वर्ष व्यापार वृद्धिको गति कायम राख्न सफल भएको छ ।

खुद नाफा पनि गत वर्षको तुलनामा उत्साहजनक रूपमा बढेको देखिन्छ । कम्पनीले २०२४ मा २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन २०२३ को १ करोड ७० लाखको तुलनामा करिब ४१ प्रतिशतले बढी हो ।

स्थानीय उत्पादनमा आत्मनिर्भरता बढाउँदै प्लाइबोर्ड उद्योगमा अग्रणी बन्ने लक्ष्यसहित गणपति डोर एण्ड प्लाइबोर्ड इन्डष्ट्रिजले भविष्यका लागि थप लगानी र नवप्रवर्तनको योजना अघि सारेको संकेत दिएको छ।

सन् २००९ मा स्थापना भएको यस उद्योगले प्लाइबोर्ड, डेकोरेटिभ डोर तथा निर्माणमा प्रयोग हुने अन्य सामग्री उत्पादन गर्दै आइरहेको छ । नेपालगञ्जमा अवस्थित उत्पादन केन्द्रबाट कम्पनीले वार्षिक ६० लाख स्क्वायर मिटर प्लाइवुड र फल्स डोर उत्पादन गर्ने क्षमता राख्छ । साथै, डेकोरेटेड बिटको उत्पादन क्षमता ४० हजार रनिङ फिट रहेको जानकारी कम्पनीले दिएको छ ।

कच्चा पदार्थको हकमा कम्पनीले चीन, भारत, अफ्रिका लगायतका मुलुकबाट आयात गर्दै आएको छ भने केही मात्रा आन्तरिक स्रोतबाट पनि सामग्री संकलन गरिने जनाएको छ । यसरी आयात र स्वदेशी स्रोतको संयोजनमार्फत गुणस्तरीय उत्पादन गरिने कम्पनीको भनाइ छ ।

शिखर प्लाइ ब्राण्डअन्तर्गत कम्पनीले आफ्ना उत्पादनहरू नेपाली बजारमा वितरण गर्दै आएको छ, जसले उपभोक्ताबीच पहिचान बनाएको छ ।

कम्पनीले सञ्चालन खर्च र लगानी विस्तारका लागि ५९ करोड ७१ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । यसमध्ये १२ करोड ६८ लाख दीर्घकालीन कर्जाका लागि र ४७ करोड ३ लाख अल्पकालीन कर्जाका लागि विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्