नेपालको महँगी घट्दै : घ्यू र तेल महँगो, तरकारी र मासु सस्तो, कहाँ कति महँगी ?

काठमाडौं । नेपालमा मुद्रास्फीति दर घट्दै गएको देखिएको छ । खाद्य वस्तुहरु सस्तिँदै गएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक २०८१–८२ वर्षको साउनदेखि जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झरेको छ । जबकि, गत वर्षको सोही अवधिमा भने यस्तो यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । गत बैशाख महिनामा पनि मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो । तर, पछिल्ला महिनाहरुमा क्रमशः घट्दै गएको देखिन्छ ।
विशेषगरि मंसिरपछि भने बजार महँगी घट्न थालेको हो । गत मंसिरमा महँगी ६.०५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार पुसमा ५.४१ प्रतिशत रहेको बजार महँगी माघ महिनामा भने घटेर ४.१६ प्रतिशतमा झरेको छ । चालु आवको साउन महिनामा ४.०९ प्रतिशत, भदौमा ३.८६ प्रतिशत, असोजमा ४.८२ प्रतिशत, कात्तिकमा ५.६० प्रतिशत रहेको थियो ।
सरकारले चालु आवमा बजार महँगीलाई वाञ्छित सीमाभित्रै राख्न सफल हुने देखिन्छ । सरकारले बजार महँगी साढे ५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । अहिले महँगी न्युन बिन्दुमा आइपुगेको बैंकको आँकडाले देखाएको छ ।
गत जेठ मसान्तसम्मको तथ्याङकले नेपालको समग्र मुद्रास्फीति नियन्त्रणमा देखिएको छ । विशेषगरी खाद्य वस्तुहरूको मूल्य घटेसँगै उपभोक्तामा राहत महसुस भएको छ । तर, सेवा र शिक्षाजस्ता क्षेत्रमा महँगी बढ्दो छ ।
खाद्य वस्तु सस्तो, सेवा महँगो
ताजा तरकारी र माछामासुजस्ता घरेलु उत्पादनहरू सस्तो हुँदै गएका छन् । तर, घ्यू, तेलजस्ता आयातमा निर्भर वस्तुहरूमा मूल्य वृद्धि भइरहेका छन् ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहेको छ । जसमा घ्यू तथा तेल १०.०६ प्रतिशत महँगिएको देखिन्छ । तर, तरकारी, मरमसला, माछा–मासु भने सस्तो भएका छन् ।
समिक्षा अवधिमा तरकारी ७.०४ प्रतिशत , मरमसला ३.०६ प्रतिशत र माछा–मासु २.९१ प्रतिशत सस्तो भएको छ ।
गैर–खाद्य तथा सेवा समूहमा भने मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ । यसमा विविध वस्तु तथा सेवा ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२ प्रतिशत र शिक्षा ५.८८ प्रतिशत महँगिएका छन् ।
जेठ महिनाको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.५६ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको ५.४८ प्रतिशत भन्दा निकै कम हो । उपभोग्य वस्तुको थोक मुद्रास्फीति ५.६६ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तुमा ०.९प्रतिशत गिरावट आएको छ ।
हिमाली क्षेत्रमा मुद्रास्फीति सबैभन्दा बढी छ । हिमाली क्षेत्रमा ४.१८ प्रतिशत छ । काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत रहेको छ । यस्तै, तराईको २.५८ प्रतिशत, पहाडको २.४८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेशगत रूपमा गण्डकीमा सबैभन्दा कम १.७५ प्रतिशत रहेको छ । सबैभन्दा धेरै भने कोशी प्रदेशको देखिन्छ । कोशीमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८ प्रतिशत छ ।
यस्तै, मधेश प्रदेशको २.५२ प्रतिशत, बागमतीको २.२९ प्रतिशत, लुम्बिनीको २.३९ प्रतिशत, कर्णालीको २.५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.८६ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रमा २.६६ प्रतिशत रहेको छ ।