अध्यक्ष चौधरी भन्छन्,‘नाडा अटो शो व्यवसायको थलो हो, नेपालमा ४० प्रतिशत सवारी बिक्री यहीँबाट हुन्छ’
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने ४० प्रतिशत सवारी नाडा अटो मार्फत हुने गरेको बताए ।
आजदेखि काठमाडौंमा सुरु भएको १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ को समुद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अटो शो भनेको प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो । यही ठाउँले हाम्रो रोजगार, राजश्वमा ठुलो योगदान दिएको छ । नेपालमा बिक्री हुने ४० प्रतिशत गाडी यही थलोबाट बुकिङ भई बिक्ने गरेको छ ।’
नेपालमा एसेम्बलिङ जरुरी रहेको र यसमा नाडाले जोड दिँदै आएको उनले बताए । उनले भने,‘ हामीले लोकल एसेम्बलिङ, म्यानिफ्याक्चरिङमा ठुलो जोड गरेका छौं । तर, त्यसमा लाग्ने पार्टपुर्जा यँही उत्पादन गर्न सकियो भने त्यो भन्दा राम्रो केही हुने छैन ।’
नाडाले बढ्दो युवा पलायनलाई रोक्ने प्रयास गरेको बताए । युवा जनशक्तिलाई एक ठाउँमा राखेर जिम्मेवारी वोध गराउन जरुरी रहेको उनको भनाई छ । नाडाले सीप र रोजगार दुवै सुनिश्चित गरेको दावी गरे ।
‘अटो शो भनेको प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो । यही ठाउँले हाम्रो रोजगार, राजश्वमा ठुलो योगदान दिएको छ’,उनले भने,‘हामीले सरकारले केही गरेन भनेर किचलो मात्रै गर्दैनौं, साथ र सहयोग पनि गरेका छौं । उहाँहरुले गर्न थालेको कामको प्रोत्साहन गर्न थालौं । यसल थप चिजहरु राम्रो ल्याउन मद्दत गर्छ’, उनले भने, नाडा अझै सशक्त भए यहाँहरुसँगै हिड्न चाहान्छ । सरकारको काम संसारभर फैलाउन चाहान्छौं ।’
९० प्रतिशत भन्दा बढी औपचारिक अटो मोबिल ट्रेडलाई रेप्रिजेन्ट गर्ने गरेको बताए । नीतिगत रुपमा पनि चरणवद्ध रुपमा सरकारलाई सल्लाह, सुझाव दिँदै आएको उनको भनाई छ । नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभई गौरवको विषय रहेको बताए ।













