चागोसमा जारी छ अमेरिका र बेलायतको ‘अन्याय’
गत वर्षको सम्झौताले मौरिससलाई सार्वभौमसत्ता हस्तान्तरण गरे पनि टापुका आदिवासी नागरिक- चागोसियनहरू विरुद्ध भएका अपराधका लागि अमेरिका र बेलायतको जिम्मेवारीलाई भने सम्बोधन गरेन।
चागोस टापुको सार्वभौमसत्ताका सम्बन्धमा बेलायत र मौरिससबीच भएको सम्झौतालाई यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “एउटा ठूलो मूर्खतापूर्ण कार्य” भनी टिप्पणी गरे । त्यसपछि विश्वको ध्यान ती दुर्गम टापुसमूहतिर तानिएको छ।
धेरैजसो समाचार र बहसहरू डिएगो गार्सिया टापुमा रहेको अमेरिकी सैन्य अखडामा केन्द्रित भए पनि ती टापुका आदिवासी नागरिक- चागोसियनहरू विरुद्ध भइरहेका मानवता विरोधी अपराधमा अमेरिका र बेलायतको संलग्नताको घृणित कथामा भने निकै कम ध्यान दिइएको छ।
हिन्द महासागरको बीचमा घर भएका चागोसियनहरू मुख्यतया पहिले दास बनाइएका पूर्वी अफ्रिकीहरूका सन्तान हुन्। ६० वर्षभन्दा अघि, अमेरिकी अधिकारीहरूले सबैभन्दा ठूलो टापु, डिएगो गार्सिया, एउटा दुर्गम सैन्य अखडाका लागि उपयुक्त हुने निर्णय गरे।
अमेरिकाले चागोसियन जनसंख्यालाई एक समस्याको रूपमा हेर्यो, किनकि उनीहरू टापुलाई बासिन्दाहरूबाट “मुक्त” राख्न चाहन्थे। त्यसपछिको दशकमा, उनीहरूले चागोस शासन गरिरहेको औपनिवेशिक शक्ति बेलायतसँग मिलेर जातिवाद र झुटमा आधारित एउटा बनावटी कथा बुने र टापुवासीहरूलाई उनीहरूको घरबाट निकाला गर्ने गोप्य योजना बनाए।
एक अमेरिकी एडमिरल, एल्मो जुमवाल्टले टापुवासीहरू “निश्चय नै जानुपर्छ” भनेका थिए। उनीहरूलाई डराएर भगाउनका लागि बेलायती र अमेरिकी कर्मचारीहरूले उनीहरूका कुकुरहरूलाई ग्यास हालेर मारिदिए।
सन् १९६७ देखि १९७३ सम्म, बेलायतले डिएगो गार्सियाबाट मात्र नभई सबै टापुहरूबाट करिब २,००० चागोसियनहरूलाई जबरजस्ती निष्कासन गर्यो। अमेरिकाले डिएगो गार्सियामा अखडा बनायो र अहिले ५० वर्षभन्दा बढी समयदेखि यसलाई सञ्चालन गरिरहेको छ।
आज, चागोसियनहरू मुख्यतया बेलायत, मौरिसस र सेशेल्समा निर्वासित जीवन बिताइरहेका छन्। धेरैजसो अझै पनि गरिबीमा छन् र पुस्ताौँदेखि अभियान चलाइरहे तापनि उनीहरूलाई अमेरिका र बेलायतले आफ्नो मातृभूमि फर्कनबाट रोकेका छन्। अमेरिकी सैन्य अखडाबाहेक अन्य टापुहरू अहिले पनि उजाड छन्।
यस जबरजस्ती विस्थापनमा अमेरिकी संलग्नताको कथा बिस्तारै बाहिर आएको छ। संसदीय छानबिन, प्राज्ञिक डेभिड भाइनको कार्य, र सत्य पत्ता लगाउन तथा घर फर्कन चागोसियनहरूको पुस्ताौँको अथक संघर्षमार्फत। सन् २०२३ मा, ह्युमन राइट्स वाचले बेलायत र अमेरिका मानवता विरोधी अपराधका लागि जिम्मेवार रहेको र उनीहरूले क्षतिपूर्ति दिनुपर्ने ठहर गर्यो । जुन उनीहरूको गल्ती सच्याउने एउटा अवसर थियो।
यसको परिणामस्वरूप, अमेरिकी विदेश मन्त्रालयले पहिलो पटक चागोसियनहरूमाथि जे भयो त्यसप्रति “खेद” प्रकट गर्यो। त्यसपछि, बेलायत र मौरिसस ती टापुहरूमा मौरिससको सार्वभौमसत्तालाई मान्यता दिने सन्धि गर्न सैद्धान्तिक रूपमा सहमत भए । यद्यपि बेलायतले डिएगो गार्सिया टापुमा औपचारिक नियन्त्रण कायम राख्नेछ र अमेरिकी सैन्य अखडा त्यहीँ रहनेछ।
यस सम्झौतामा चागोसियनहरूलाई बिर्सिएको छ। सन्धिले ऐतिहासिक गल्तीहरूको कुरा गर्छ, तर अपराधहरू अझै जारी छन्। चागोसियनहरूलाई अझै पनि घर फर्कन रोकिएको छ: अखडाबाहेक उनीहरूका टापुहरू खाली छन्।
केही चागोसियनहरू यो सन्धिले उनीहरूलाई केही टापुहरूमा बस्न दिनेछ भन्ने आशा गर्छन्, तर यो मौरिससले आफ्नो दायित्व पूरा गर्ने कुरामा भर पर्नेछ। सन्धि आफैँले उनीहरूको फिर्तीको कुनै ग्यारेन्टी दिँदैन र चागोसियनहरूलाई तिर्नुपर्ने क्षतिपूर्तिको बारेमा केही बोल्दैन।
अखडाले टापुको बढीमा आधा भाग मात्र ओगटेको भए तापनि अमेरिका अझै पनि चागोसियनहरूलाई डिएगो गार्सिया फर्कन दिने कुराको विरोधमा देखिन्छ।
हामीले कुरा गरेका कुनै पनि चागोसियनले अखडा बन्द होस् भन्ने चाहँदैनन्; बरु, उनीहरू त्यहाँ काम गर्ने अवसर चाहन्छन्। अमेरिकाले वार्तामा राष्ट्रपति ट्रम्पको टिप्पणी नआउन्जेल बेलायतको पछाडि लुकेर आफूलाई सार्वजनिक रूपमा धेरै टाढा राखेको छ।
तर सम्झौताका सर्तहरूले यो स्पष्ट पार्छ कि, अमेरिकाले वार्तालाई प्रभाव पारिरहेको छ। चागोसियनहरूप्रतिको व्यवहारका लागि अमेरिकाले व्यक्त गरेको “खेद” अझै पनि चागोसियनहरू डिएगो गार्सिया फर्कन पाउने कुरामा परिणत हुन सकेको छैन।
चागोसियनहरूमाथिको व्यवहार एउटा यस्तो अपराध हो, जसमा अमेरिका ५० वर्षभन्दा बढी समयदेखि संलग्न छ, र जसमा ट्रम्पले अन्जानमा विश्वको ध्यान खिचेका छन्।
खेद स्वीकार गरिसकेपछि, अब अमेरिकी र बेलायती सरकारहरूले आफ्ना कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गतका दायित्वहरूसँग मिलाउनुपर्छ। यसमा मौरिसससँग मिलेर चागोसियनहरूलाई उनीहरूको मातृभूमि फर्कन सक्षम बनाउने र उचित क्षतिपूर्ति प्रदान गर्ने कार्य समावेश हुनुपर्छ।
जबसम्म त्यसो हुँदैन, यो अन्याय समाधान नभई रहनेछ।
‘ह्युमन राइट्स वाच’का वरिष्ठ कानुनी सल्लाहकार बाल्डविनको यो लेख ‘अल जजिरा’मा छापिएको The injustice in Chagos continues को अनौपचारिक अनुवाद हो ।
















