कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन १३ गतेदेखि दोलखा जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि यो बिक्री खुला गरेको थियो, जसको निर्धारित समयसीमा आज चैत १ गते बैंकिङ्ग समयपश्चात समाप्त हुँदैछ।

यसअघि कम्पनीले आवेदन दिने म्याद चैत १२ गतेसम्म थप गर्ने तयारी गरेको भए तापनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन प्रक्रिया छिटै बन्द गर्न लागिएको हो। लगानीकर्ताको उच्च आकर्षण देखिएकाले कम्पनीले पूर्व निर्धारित समयभन्दा अगावै बिक्री बन्द गर्ने निर्णय लिएको जानकारी दिएको छ।

कम्पनीले आफ्नो कुल ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही बमोजिम पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याइएको हो। यसमा विशेषगरी दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूले सहभागिता जनाउन पाउनेछन्।

इच्छुक स्थानीय लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।


प्रतिक्रिया दिनुहोस्