शिखर पावर डेभलपमेन्टको आइपीओ बाँडफाँट
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको सार्वजनिक प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ ।
कम्पनीले गत फागुन १७ गतेदेखि २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अहिले भने कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि आज बाँडफाँड गरेको छ ।
कम्पनीले कुल ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये स्थानीयलाई ९ लाख ८० हजार कित्ता र विदेशमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता बाँडफाँट भइसकेको थियो ।
कम्पनीका कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यस शेयरको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने थिए ।
निष्काशनमा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।













