भारतले संशाेधन गर्यो चिया आयात मापदण्ड, २० दिनदेखि रोकिएको नेपाली चियाको निर्यात खुल्ने
काठमाडौँ । भारतले आयातित चियाको गुणस्तर परीक्षण गर्ने मापदण्डमा संशोधन गरेपछि विगत २० दिनदेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु हुने भएको छ।
भारतको ‘टी बोर्ड इण्डिया’ले चिया आयातसम्बन्धी नियम परिमार्जन गर्दै नयाँ निर्देशन जारी गरेसँगै सीमामा देखिएको अवरोध तत्कालका लागि हटेको हो।
यसअघि भारतले गत मे १ तारिखदेखि चिया आयातमा नयाँ र कडा व्यवस्था लागू गरेपछि नेपालबाट चिया निर्यात पूर्ण रूपमा ठप्प भएको थियो। नयाँ नियमका कारण पछिल्लो २० दिनमा नेपालबाट पठाइएका ३ ट्रक चियाको नमुना परीक्षण रिपोर्ट नआउँदा निर्यात प्रक्रिया रोकिएको थियो।
भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत रहेको बोर्डले नयाँ निर्देशिका जारी गर्दै चियाको वर्गीकरण अनुसार परीक्षण गर्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार भारत हुँदै तेस्रो मुलुकमा पुनःनिर्यात गरिने चियाको हकमा मात्रै टी बोर्ड इण्डियाले अनिवार्य गुणस्तर परीक्षण गर्नेछ।
तर, भारतभित्रै आन्तरिक बिक्रीका लागि आयात गरिने चियाको हकमा भने हाललाई चिया बोर्डले परीक्षण नगर्ने स्पष्ट पारेको छ। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) बाट अर्को औपचारिक निर्देशन नआएसम्म भन्सार र एफएसएसएआईले आफ्नो नियमित जोखिम व्यवस्थापन प्रणाली अनुसार मात्र नमुना संकलन गरी जाँच गर्नेछन्।
नेपालबाट निर्यात हुने धेरैजसो चिया भारतकै आन्तरिक बजारमा बिक्री हुने भएकाले यो निर्णयले नेपाली चिया उत्पादक र व्यवसायीलाई ठूलो राहत दिएको छ।
चिया परीक्षणमा हुने ढिलाइलाई हटाउन भारतीय बोर्डले समयसीमा समेत तोकेको छ। अब सम्बन्धित प्रयोगशालाहरूले चियाको नमुना प्राप्त गरेको पाँच दिनभित्र अनिवार्य रूपमा परीक्षण प्रतिवेदन अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
भारतीय खाद्य प्राधिकरण, भन्सार विभाग, चिया बोर्ड र वाणिज्य विभागबीच गत मे १२ मा भएको संयुक्त बैठकको सहमति अनुसार यो नयाँ र खुकुलो नियम लागू गरिएको हो।
















