बजेट सार्वजनिक हुने दिन जेठ १५ गते देशभरका भन्सार कार्यालय बन्द रहने
काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक हुने दिन भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयहरूमा जाँचपासको काम रोक्ने निर्णय गरेको छ। विभागले जेठ १५ गते शुक्रबारका दिन यात्रुहरूको आउजाउबाहेक अन्य सबै प्रकारका मालसामानको भन्सार प्रक्रिया पूर्ण रूपमा बन्द गर्न परिपत्र जारी गरेको हो।
बजेट प्रस्तुत हुने दिन करका दरहरू र राजस्व नीतिमा परिवर्तन आउन सक्ने भएकाले विभागले यस्तो कदम चालेको हो। यसले गर्दा उक्त दिन व्यापारिक सामानहरूको आयात-निर्यात र जाँचपास प्रभावित हुनेछ।
विभागले जारी गरेको निर्देशनअनुसार भन्सार कार्यालयहरूले जेठ १४ गतेसम्म दर्ता भइसकेका सबै प्रज्ञापनपत्रहरू सोही दिनभित्रै टुङ्ग्याउनुपर्नेछ। यदि जेठ १४ गतेसम्म पनि कुनै सामानको जाँचपास हुन बाँकी रहेमा, त्यस्ता वस्तुहरू नयाँ बजेटको व्यवस्थाअनुसार मात्र प्रक्रियामा लगिनेछ।
बजेटपछि अर्थात् जेठ १६ गतेदेखि भन्सार खुला हुँदा नयाँ आर्थिक विधेयकले ल्याएका परिवर्तनहरू ‘आसिकुडा’ प्रणालीमा अपडेट भए/नभएको निश्चित गरेर मात्र जाँचपास गर्न विभागले भनेको छ। यदि प्रज्ञापनपत्र बाँकी रहेको अवस्थामा नयाँ विधेयकले महसुल दर परिवर्तन गरेमा सोही परिवर्तित नियम लागू हुनेछ।
यस्तै, जेठ १४ गते वा सोभन्दा अघि नै घोषणा भइसकेका तर प्रक्रिया पूरा हुन बाँकी सामानहरूको हकमा यदि राजस्वको दर फेरिएमा, बढेको वा घटेको परिवर्तित दरअनुसार नै महसुल असुलउपर गरेर मात्र पटके प्रज्ञापनपत्रमार्फत सामान छाडिने विभागको सर्कुलरमा स्पष्ट पारिएको छ।













