काठमाडौँ महानगरले ल्यायाे आगामी वर्षका लागि २५ अर्ब ८८ करोडको बजेट
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नयाँ बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा प्रस्तुत गरेको छ।
चालु आर्थिक वर्षको तुलनामा आकार बढाउँदै महानगरले यस पटक कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको हो।
कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गर्नुभएको यस बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषबाट र बाँकी ७५ करोड रुपैयाँ बाह्य स्रोतबाट ब्यहोरिनेछ।
बजेटको मुख्य हिस्सा महानगरको आफ्नै आन्तरिक आम्दानी र बैंक मौज्दातबाट व्यवस्थापन गरिनेछ, जसको आकार २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ रहने अनुमान छ। यसबाहेक संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँटबाट ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ संकलन हुनेछ भने बाँकी १ करोड रुपैयाँ जनसहभागिताबाट जुटाइनेछ।
महानगरले आफ्नो कुल बजेटको सबैभन्दा ठूलो हिस्सा अर्थात् ६१ प्रतिशत रकम भौतिक पूर्वाधार निर्माणमा केन्द्रित गरेको छ, जसका लागि १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ। त्यसैगरी कार्यालय सञ्चालन र प्रशासनिक कार्यका लागि १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको बाँकी रकम अन्य तीन क्षेत्रमा बाँडिएको छ, जसमा सामाजिक विकासका लागि ९.६ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ८.५ प्रतिशत रकम प्रस्ताव गरिएको छ। महानगरले आर्थिक विकास क्षेत्रलाई भने सबैभन्दा कम प्राथमिकतामा राख्दै कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ मात्र विनियोजन गरेको छ।












