धान दिवसमै मधेशमा रोपाइँ सुस्त, कुल क्षेत्रफलको ४.३६ प्रतिशतमा मात्र खेती « Arthapath.com
१५ असार २०८३, सोमबार

धान दिवसमै मधेशमा रोपाइँ सुस्त, कुल क्षेत्रफलको ४.३६ प्रतिशतमा मात्र खेती



काठमाडौं । राष्ट्रिय धान दिवसका अवसरमा देशभर किसान हिलोमा उत्रिएर रोपाइँमा व्यस्त भए पनि मधेश प्रदेशमा भने धान रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ। असार १५ गतेसम्म प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रमध्ये ४ दशमलव ३६ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको सरकारी तथ्यांकले देखाएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा यस वर्ष ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म १६ हजार ९११ हेक्टरमा मात्र रोपाइँ भएको छ।

जिल्लागत अवस्थालाई हेर्दा महोत्तरी रोपाइँमा अगाडि रहेको छ, जहाँ ८ दशमलव १७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धनुषा र बारामा ७–७ प्रतिशत, सिरहा र सप्तरीमा ५–५ प्रतिशत तथा सर्लाहीमा २ दशमलव ५ प्रतिशत क्षेत्रफलमा धान रोपिएको मन्त्रालयले जनाएको छ।

पर्सा र रौतहटमा भने चैते धान अझै खेतबाट नउठेकाले मुख्य सिजनको रोपाइँ सुरु हुन सकेको छैन। पछिल्ला दिनमा मनसुन सक्रिय बन्दै गएको र पर्याप्त वर्षा हुन थालेकाले अब रोपाइँले तीव्र गति लिने अपेक्षा किसानहरूले गरेका छन्।

यसैबीच, आज देशभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रमसहित मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ सरकारी तथा गैरसरकारी निकायहरूले सामूहिक रोपाइँ, कृषक सम्मान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

असार १५ नेपाली कृषि संस्कृतिसँग जोडिएको विशेष दिन मानिन्छ। यस दिन किसानहरू हिलो खेल्दै, असारे गीत गाउँँदै धान रोप्ने परम्परासँगै दही–चिउरा खाने चलन पनि आजसम्म जीवित छ।


प्रतिक्रिया दिनुहोस्