नेपाल र एसियाली विकास बैंकबीच करिब २५ अर्ब १८ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता « Arthapath.com
२२ असार २०८३, सोमबार

नेपाल र एसियाली विकास बैंकबीच करिब २५ अर्ब १८ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता



काठमाडाैं । नेपाल सरकार र एसियाली विकास बैंकबीच ‘इन्टिग्रेटेड वाटर सप्लाइ एन्ड सिवरेज म्यानेजमेन्ट (सेक्टर) प्रोजेक्ट र साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन एन्ड लजिस्टिक्स रिफर्म्स प्रोग्राम– सबप्रोग्राम २’ को लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा हस्ताक्षर गरिएका उल्लिखित दुईवटा ऋण सम्झौतामा नेपालको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे।

आज हस्ताक्षर भएका सम्झौताहरुमध्ये ‘इन्टिग्रेटेड वाटर सप्लाइ एन्ड सिवरेज म्यानेजमेन्ट (सेक्टर) प्रोजेक्ट’ का लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन हुनेछ। यस आयोजना अन्तर्गत प्राप्त सहायता स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा परिचालन हुनेछ।

त्यस्तै ‘साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन एन्ड लजिस्टिक्स रिफर्म्स प्रोग्राम– सबप्रोग्राम २’ अन्तर्गतका कार्यक्रमका लागि ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण भन्सार कार्यप्रक्रिया र लजिष्टिक्स सेवा आधुनिकीकरणमा गरिएका सुधारबापत बजेटरी सहायताको रुपमा परिचालन हुनेछ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

यस्तै एसियाली विकास बैंकका अध्यक्ष कान्डाले नेपालसंगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

साथै उनले नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौतीहरुको सामना गर्न बैंक सँधै सहयोगी हुने र नेपालका विकास प्राथमिकतासंग बैंकको प्राथमिकताको मेल रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्