१२ श्रावण २०८३, मंगलबार

भाउ आकाशिए पनि घटेन माग, एकै वर्षमा २६ अर्ब ७७ करोड रूपैयाँ बराबरको सुन आयात



काठमाडौं । सुनको मूल्यमा तीव्र उछाल आइरहे पनि नेपाली बजारमा यसको माग भने घटेको छैन।

भाउ लगातार बढेर खरिदकर्ता निरुत्साहित हुनुपर्नेमा नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा २६ अर्ब ७७ करोड ५८ लाख ४२ हजार रूपैयाँ बराबरको सुन आयात भएको छ।

भन्सार विभागका अनुसार यो अवधिमा १ अर्ब ४० करोड ४३ लाख ९७ हजार ग्राम सुन भित्रिएको हो। अघिल्लो आर्थिक वर्षकाे तुलनामा सुन आयात ५६.३२ प्रतिशत अर्थात ९ अर्ब ६४ करोड ६८ लाख ९३ हजार रूपैयाँले बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब १२ करोड ८९ लाख ४९ हजार रूपैयाँ बराबरको मात्र सुन आयात भएको थियो।

यसैबीच सरकारको राजस्व संकलनमा पनि यसको सकारात्मक प्रभाव परेको छ। गत एक वर्षमा सरकारले सुन आयातबाट मात्रै २ अर्ब ७७ करोड ६६ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो राजस्व अघिल्लो वर्षको तुलनामा ४९.५३ प्रतिशतले बढी हो।

बढ्दो सुन आयातले बजारमा बहुमूल्य धातुप्रतिको माग बलियो रहेको संकेत गर्नुका साथै सरकारी राजस्व संकलनमा समेत सकारात्मक योगदान पुगेको देखिन्छ।