७ आश्विन २०८३, बुधबार

एनआईसी एशिया क्यापिटलद्वारा ८० करोडको म्युचुअल फण्ड निष्काशन, आजदेखि आवेदन दिन सकिने



काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गरेको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक योजना सार्वजनिक निष्काशनमा ल्याएको हो।

क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँका दरले कुल ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरिनेछ। निष्काशनमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकका लागि छुट्याइएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।

लगानीकर्ताले आजदेखि उक्त फण्डको इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १०० इकाईका लागि निवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजनामा असोज १३ गतेसम्म आवेदन दिने समय तोकिएको छ। तोकिएको अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गर्न सकिनेछ।

निष्काशन अवधि वा थप गरिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरिदका लागि आवेदन परेमा फण्डको इकाई बाँडफाँट प्रक्रिया अघि बढाइनेछ। तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री हुन नसकेमा भने योजना रद्द गरिनेछ र आवेदकलाई रकम फिर्ता गर्ने भुक्तानी प्रक्रिया १५ दिनभित्र सुरु गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले नै लिएको छ। १० वर्ष अवधिको यो बन्दमुखी म्युचुअल फण्डमा लगानी गर्न इच्छुकले धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयरको वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।