७ आश्विन २०८३, बुधबार

दुई प्रमुख उत्तरी नाका ठप्प हुँदा पनि १ खर्ब नाघ्यो  भन्सार राजस्व



काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ काे २ महिनाकाे अवधिमा भन्सार विभागले १ खर्ब रूपैयाँ राजस्व अठाएकाे छ।

अर्थमन्त्रालयले दिएकाे तथ्यांक अनुसार चालु आर्थिक वर्षमा भन्सार विभागको वार्षिक राजस्व लक्ष्य रु. ६ खर्ब २८ अर्ब रहेकोमा असोज ६ गतेसम्म रु. १ खर्ब २ अर्ब राजस्व असुली भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व रु. ५ खर्ब २७ अर्ब रहेको छ।

उत्तरी सीमाका दुई प्रमुख व्यापारिक नाकाहरू बन्द रहँदासमेत राजस्व सङ्कलनमा उल्लेख्य उपलब्धि हासिल भएको मन्त्रालयले जनाएको छ। केही समयदेखि तातोपानी भन्सार कार्यालय सञ्चालनमा आउन सकेको छैन भने रसुवा भन्सार कार्यालय भोटेकोशी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको अवस्था छ।

आगामी दिनमा भन्सार विभागको अर्जुनदृष्टि बाँकी रु. ५ खर्ब २७ अर्ब राजस्व असुलीमा केन्द्रित रहने पनि बताइएकाे छ।