सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति: बजारमा के के हुँदैछ फेरबदल ?
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले पुँजीबजारको चौतर्फी विकास, सुरक्षा र आधुनिकीकरणका लागि प्राथमिक तथा दोस्रो बजारलाई समेट्दै तीन चरणको वृहत् सुधार रणनीति अगाडि बढाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारलाई व्यवस्थित र सुरक्षित बनाउन जोखिम तथा सुशासनमा आधारित आधुनिक नियमन रणनीति अङ्गीकार गरिएको जानकारी दिएका हुन्।
उनले बजारका सबै सरोकारवालाहरूको सक्रिय सहभागितामा नीतिगत परिमार्जन, संरचनात्मक विकास र संस्थागत सुदृढीकरणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। बजार सुधारको प्रक्रियालाई थप वैज्ञानिक बनाउन बोर्डले प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै विशेष समितिहरू निर्माण गरेको छ। यी समितिहरूमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।
अध्यक्ष भट्टका अनुसार कुनै पनि नीतिगत निर्णय वा सुधार गर्नुपूर्व बोर्डले स्पष्ट कार्यविधि अपनाउने गरेको छ। जसअन्तर्गत सुरुमा नीतिगत विषयमा अवधारणा पत्र (कन्सेप्ट पेपर) तयार पारिन्छ, त्यसपछि गठित समितिहरूमार्फत व्यापक छलफल चलाएर सार्वजनिक रूपमा सरोकारवालाहरूको सुझाव लिइन्छ र अन्त्यमा प्राप्त सुझावहरूलाई समेटेर नीति कार्यान्वयनमा ल्याइन्छ। धितोपत्र बोर्ड अहिले यी नै चरणहरुमा बजारमा फेरबदलको नयाँ रणनीतिहरु अपनाइरहेको छ।
बजारमा के के हुँदैछ फेरबदल ?
मुलुकको समग्र अर्थतन्त्र र पुँजीबजारको स्थायित्वका लागि बोर्डले बोर्डले जोखिममा आधारित नियमन, लगानीकर्ता संरक्षण तथा बजारको संस्थागत सुधारमा जोड दिएको छ। यसअन्तर्गत अन्तर्राष्ट्रिय अभ्यास अनुरूप जोखिममा आधारित सुपरीवेक्षण लागू गरी बढी जोखिमयुक्त क्षेत्रमा कडा निगरानी राखिनेछ। सर्वसाधारणको करोडौँ पुँजी परिचालन हुने भएकाले बलियो सुशासन भएका कम्पनीहरूलाई मात्र पुँजीबजारमा प्रवेश गर्न दिइनेछ।
साथै, कर्णाली डेभलपमेन्ट बैंकको सन्दर्भलाई उदाहरणका रूपमा लिँदै निक्षेपकर्ताको वित्तीय जोखिम सेयर लगानीकर्तामाथि सार्ने प्रवृत्तिलाई रोक्न नेपाल राष्ट्र बैंकसँग समन्वय भइरहेको बोर्डले जनाएको छ। भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र अनुचित लाभ लिने प्रवृत्तिलाई पूर्णरूपमा रोक्दै लगानीकर्तालाई वास्तविक वित्तीय विवरण, भविष्यको योजना र जोखिमबारे पूर्ण, निरन्तर तथा तत्काल सूचना उपलब्ध गराएर संरक्षण गर्ने प्रतिबद्धता बोर्डले व्यक्त गरेको छ।
बजारमा एकैपटक ‘रियाक्टिभ’ भएर कडा नीति लाद्नुभन्दा लगानीकर्तालाई सुसूचित गर्दै क्रमिक रूपमा सुधारहरू लागू गरिने बोर्डका अध्यक्ष भट्टले बताए।
प्राथमिक र दोस्रो बजारको स्तरोन्नति तथा सीसीपीको आवश्यकता
अध्यक्ष भट्टका अनुसार प्राथमिक बजारतर्फ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), सेयर मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता तथा सेयर बाँडफाँट प्रणाली र म्युचुअल फन्डसम्बन्धी नीतिहरू तयार भई क्रमशः लागू हुने चरणमा छन्।
त्यस्तै, दोस्रो बजारको स्तरोन्नतिअन्तर्गत ब्रोकर संस्थाहरूलाई पारिवारिक वा सीमित घेराबाट बाहिर निकालेर आधुनिक ‘इन्डस्ट्रियल मोडल’ मा लैजाने नीति पारित भइसकेको छ। कार्यक्षमता र सेवाको गुणस्तरका आधारमा ब्रोकरहरूलाई चार फरक श्रेणीमा वर्गीकरण गरी ‘स्टक डिलरसिप’ सहितको फराकिलो व्यावसायिक संरचनामा विकास गर्ने योजना छ।
यसैगरी, दोस्रो बजारमा सेयर तथा डेरिभेटिभ उपकरणहरूको खरिद–बिक्री र भुक्तानीलाई पूर्ण रूपमा सुनिश्चित गर्न ‘सेन्ट्रल काउन्टर पार्टी’ (सीसीपी) को स्थापना अपरिहार्य भइसकेको छ। क्रेता र बिक्रेताबीचको कारोबारको ग्यारेन्टी बस्ने यस्तो संस्था नेप्सेले छुट्टै तयार पार्नुपर्ने वा सिडिएससीको क्षमता विस्तार गरी जिम्मा दिनुपर्ने भन्दै बोर्डले यसको अध्ययन गरिरहेको छ।















