३० कार्तिक २०८३, सोमबार

केन्द्रीय बैंकको समेत भूमिका निभाएको नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, यस्तो छ ऐतिहासिक विरासत



काठमाडौं। नेपाली समाजमा ‘बैंक’ भन्ने शब्द नै अनौठो मानिने र वित्तीय कारोबार केवल नगदमा सीमित रहने समयमा जन्मिएको नेपाल बैंक लिमिटेडले आफ्नो गौरवपूर्ण यात्राको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा पाइला टेकेको छ।

वि.स. १९९४ कात्तिक ३० गते १० जना दूरदर्शी लगानीकर्ताको पहलमा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट सुरु भएको यो संस्था आज २०८३ कात्तिक ३० गतेदेखि नौ दशकको ऐतिहासिक खुड्किलोमा उक्लिएको हो।

स्थापनाकालमा सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउनु र उद्योग–व्यवसायलाई संस्थागत पुँजीको पहुँचमा ल्याउनु नै बैंकको मुख्य ध्येय थियो। जम्मा ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट थालनी भएको बैंकको पुँजी आज बढेर १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन नेपाली बैंकिङ क्षेत्रकै क्रमिक विकासको बलियो प्रमाण पनि हो।

केन्द्रीय बैंकको भूमिका समेत निभाएको नेपाल बैंक

नेपाल बैंकको इतिहास केवल एक वित्तीय संस्थाको व्यावसायिक सफलता मात्र होइन, यो सिङ्गो नेपालको आधुनिक अर्थतन्त्र र मौद्रिक प्रणालीको जग पनि हो। नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघि झन्डै दुई दशकसम्म यस बैंकले देशको केन्द्रीय बैंकको समेत जिम्मेवारी सम्हालेको थियो।

वि.स. २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी नोट निष्कासन गर्दा मुद्राको व्यवस्थापन गर्ने र बैंकिङ प्रणालीप्रति आम नागरिकको विश्वास जगाउने कार्यमा नेपाल बैंकले ऐतिहासिक भूमिका खेलेको थियो। पछि राष्ट्र बैंकको स्थापना भई केन्द्रीय बैंकको कार्यभार छुट्टिए पनि नेपाल बैंकले वाणिज्य बैंकका रूपमा सरकारी कारोबारदेखि निजी क्षेत्र र सर्वसाधारणको वित्तीय आवश्यकता पूरा गर्न निरन्तर अग्रणी भूमिका निर्वाह गरिरह्यो।

परम्परागत विरासत र डिजिटल प्रविधिको समायोजन

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार निरन्तरको सेवा प्रवाहका कारण आज नेपाल बैंक नेपाली बैंकिङ क्षेत्रकै पर्याय बन्न सफल भएको छ। पछिल्लो वित्तीय विवरणले बैंकको बलियो आर्थिक अवस्थालाई उजागर पनि गरेको छ। कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड र जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। १३.६६ प्रतिशत पुँजी पर्याप्तता अनुपात, ६२.८५ प्रतिशत कर्जा–निक्षेप अनुपात र ४.१८ प्रतिशत निष्क्रिय कर्जा अनुपातले बैंकको सन्तुलित वित्तीय स्वास्थ्यलाई दर्शाएको छ।

हाल बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब २९ लाख २४ हजार ग्राहकलाई सेवा दिइरहेको यस बैंकले देशभरका २३० शाखा, ५७ एक्सटेन्सन काउन्टर, २५० एटिएम तथा करिब ३ हजार ६ सय कर्मचारीमार्फत आफ्नो उपस्थिति बलियो बनाएको छ। बदलिँदो समय र प्रविधिको तीव्र विकाससँगै नेपाल बैंकले आफ्नो परम्परागत बैंकिङ विरासतलाई आधुनिक डिजिटल सेवासँग जोड्दै लगेको पनि देखिन्छ।

विगतमा सामान्य कारोबारका लागि पनि शाखामै धाउनुपर्ने बाध्यतालाई चिर्दै बैंकले मोबाइल बैंकिङ र डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको छ, जसका कारण आज बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १० लाख बढी नाघिसकेको छ। प्रविधिको प्रयोगले ग्राहकको समय र लागत दुवै बचत गराएको छ।

नाफासँगै सामाजिक उत्तरदायित्व र सरकारी बैंकिङ कारोबारलाई सँगसँगै अघि बढाएको बैंकका सामु अबको मुख्य प्राथमिकता र चुनौती भनेकै नयाँ पुस्तालाई प्रविधिमैत्री सेवामार्फत आकर्षित गर्नु र परम्परागत विश्वासलाई डिजिटल युगमा अझ सुदृढ बनाउँदै लैजानु हो।