नेप्सेमा सूचीकृत ४ कम्पनीको मात्र खर्ब माथि पूँजीकरण « Arthapath.com
३ पुष २०७७, शुक्रबार

नेप्सेमा सूचीकृत ४ कम्पनीको मात्र खर्ब माथि पूँजीकरण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से मा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण साढे २६ खर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय केही उतारचढावसहित सेयर मूल्य बढ्न थालेपछि सूचीकृत कम्पनीमध्ये चार मात्रको बजार पुँजीकरण एक खर्बमाथि हुन पुगेको हो । सेकेन्डरी बजारमा मूल्य नअकासिएका कारण बाँकी कम्पनीको पुँजीकरण एक खर्बभन्दा तल हुन पुगेको हो ।

एक खर्बमाथि पुँजीकरण हुनेमा वाणिज्य बैंक समूहबाट नबिल, निर्जीवन बीमाबाट नेपाल रिइन्स्योरेन्स, जीवन बीमाबाट नेपाल लाइफ र अन्य समूहबाट नेपाल टेलिकम छन् । यी चार कम्पनीको सेयरमा सामान्य उतारचढाव हुँदा समग्र नेप्सेसूचकमा प्रभाव पर्छ । बजार बढाउन वा घटाउन यी चार कम्पनीको हतियार प्रयोग हुने गरेको बताइन्छ ।

बजारमा ३६६ कम्पनीको सेयर, ऋणपत्र र इकाइहरू सूचीकृत छन् । नियमित कारोबारमा आउने कम्पनीको संख्या भने २०० हाराहारी छ ।

खर्ब बढी बजार पुँजीकरण भएका सबै कम्पनीको नेप्से कोड ‘एन’ बाट सुरु हुन्छ । नेपाल टेलिकम (NTC), नेपाल पुनर्बीमा कम्पनी (NRIC), नबिल बैंक (NABIL) र नेपाल लाइफ (NLIC) । यी कम्पनीको कुल बजार पुँजीकरण ६ खर्ब रुपैयाँ हाराहारी छ, यो कूल बजार पुँजीकरणको २३ प्रतिशत हाराहारी हो ।

टेलिकम
सबैभन्दा धेरै बजार पुँजीकरण नेपाल टेलिकमको छ । यसको एक खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको सेयर मूल्य साढे ११ सय रुपैयाँभन्दा बढी छ ।
३ महिनाअघि ७०० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बजार बुलिस ट्रेण्डमा हुँदा १२ सय ८५ रुपैयाँसम्म पुगेको थियो । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५७६ रुपैयाँबाट बढेर १३ सय ८७ रुपैयाँसम्म पुगेको थियो ।

कम्पनीको कूल पुँजीमध्ये ९१.४९ प्रतिशत हिस्सा सरकारको रहेको नागरिक लगानी कोषको ०.०३ प्रतिशत छ भने बाँकी ८.४८ प्रतिशत सर्वसाधारणको छ ।

सर्वसाधारणको सेयरमध्ये पनि बीमा कम्पनी र सामूहिक लगानी कोष लगायतको हिस्सा अझ बढी छ । नेपाल टेलिकमबाट पछिल्लो १५ दिनमा एनआईबीएल समृद्धि फण्ड–१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १, एनआईबीएल प्रगति फण्ड, एनएमबि हाइब्रिड फण्ड–१, नबिल इक्विटी फण्ड, लक्ष्मी इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड–१, एनआईसी एसिया ग्रोथ फण्ड, नबिल ब्यालेन्स फण्ड– २, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र एनआइसी एसिया ब्यालेन्स फण्डले केही सेयर बिक्री गरेका छन् ।

तर, यही बीचमा लक्ष्मी भ्यालु फण्ड–१ र ग्लोबल आइएमइ समुन्नत स्किम–१ ले लगानी बढाएका छन् । उनीहरूबाहेक कम्पनीको सेयरमा पहिलेदेखि एसियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स नेपाल, प्राइम लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनआईबीएल समृद्धि फण्ड–१, लक्ष्मी भ्यालु फण्ड–१ को होल्डिङ छ ।

यसबाहेक पनि एनआईबीएल प्रगति फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम–१, एनएमबी हाइब्रिड फण्ड–१ लगायत २८ वटा कम्पनी तथा स्किमको लगानी नेपाल टेलिकममा छ । उनीहरूमध्ये केहीले थोरै मात्रामा बेचे पनि धेरैले सेयर उठाई नै रहेका छन् । त्यही भएर मूल्य उक्लिएको हो ।

पुनर्बीमा कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको एक खर्ब ६० अर्ब रुपैयाँ बजार पुँजीकरण पुगिसकेको छ । १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको १६ प्रतिशत सेयर सर्वसाधारणको छ । तीन महिनाअघि ८५६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य केही दिनअघि अधिकतम १८ सय रुपैयाँसम्म पुगेको थियो । सूचीकरणपछि ३१५ रुपैयाँबाट बढेर १८ सय ३६ रुपैयाँसम्ममा कारोबार भएको छ ।

कम्पनीमा सरकारको ४३.५५ प्रतिशत सेयर छ । जीवन बीमा र निर्जीवन बीमा कम्पनीको पनि सेयर छ । कूल संस्थापक सेयर ८४ प्रतिशत छ । सर्वसाधारणमा १६ प्रतिशतमात्र सेयर छ ।सर्वसाधारणमा रहेको कूल सेयरमध्ये बीमा कम्पनी र सामूहिक लगानी कोषसँग धेरै छ ।

गरमाथा इन्स्योरेन्स एक्लैले १६ लाख १८ हजार कित्ताभन्दा बढी होल्ड गरेको छ । यसबाहेक एनआईबीएल सहभागिता फण्ड, ग्लोबल आइएमइ समूहगत स्किम–१, नबिल इक्विटी फण्ड, सानिमा इक्विटी फण्डलगायत धेरै कित्ता उठाएका छन् । उनीहरूले कम्पनीको सेयर ‘कर्नरिङ’ गरेका कारण मूल्य उनीहरूले चाहेजस्तो भइरहेको छ ।

यद्यपि, यो बीचमा एनआईबीएल समृद्धि फण्ड–१, एनआईबीएल सहभागिता फण्ड, सिद्धार्थ इक्विटी फण्डलगायत रिइन्स्योरेन्सको सेयर बिक्री गर्न थालेका छन् । कम्पनीको सेयर ४०÷५० कित्तादेखि ५ हजार कित्तासम्म खरिद–बिक्री भइरहेको छ ।

नबिल बैंक
तेस्रो स्थानमा रहेको नबिल बैंकको एक खर्ब १३ अर्ब रुपैयाँ बजार पुँजीकरण छ । १० अर्ब ८ करोड ५३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ४० प्रतिशत सेयर स्वामित्व सर्वसाधारण व्यक्ति तथा संस्थाको नाममा छ ।

तीन महिनाअघि ८५० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य अहिले करिब १२ सय रुपैयाँसम्म पुगेको छ । एक वर्षको अवधिमा ५९४ रुपैयाँदेखि १२ सय ४४ रुपैयाँसम्ममा सेयर किनबेच भएको छ ।

नबिल पहिलो विदेशी संयुक्त लगानीको बैंक हो । यसमा विदेशी साझेदार एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर छ । ९.६७ प्रतिशत सेयर राष्ट्रिय बीमा कम्पनीसँग छ । बाँकी सेयर ब्यवसायी विनोद चौधरी र उनका परिवारका सदस्यको नाममा छ । यसबाहेक नेपाल ट्रस्ट र एलआईसी नेपालसँग पनि सेयर छ ।

सर्वसाधारणमा रहेको सेयरमध्ये बीमा कम्पनी, सामूहिक लगानी कोषलगायतसँग छ । प्राइम लाइफ, नेपाल लाइफ, एसियन लाइफ, नेशनल लाइफ, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नबिल समृद्धि फण्ड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, एनआईबीएल सहभागिता फण्ड, लक्ष्मी भ्यालु फण्ड–१ लगायतको लगानी छ ।

यसबाहेक एनआईबीएल प्रगति फण्ड, ग्लोबल आइएमइ समुन्नत स्किम–१, एनएमबी हाइब्रिड फण्ड–१, लक्ष्मी इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, सिटिजन्स म्युचूअल फण्ड–१, एनआइसी एसिया ग्रोथ फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को पनि ठूलो सेयर लगानी छ । केही समयअघि पाँचवटा लगानी कोष कम्पनीहरूले सेयर बेचेका छन् ।

नेपाल लाइफ
नेपाल लाइफको एक खर्ब ३ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ । ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजीमध्ये सर्वसाधारणमा ३० प्रतिशतमात्रै स्वामित्व छ । तीन महिनामा कम्पनीको सेयर मूल्य १३ सयबाट २ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ८६० रुपैयाँदेखि २०६० रुपैयाँसम्ममा सेयर किनबेच भएको छ ।

कम्पनीको सेयर शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल, लुम्बिनी जनरल, सगरमाथा, पु्रडेन्सियल, एनआईबीएल समृद्धि फण्ड–१, एनएमबी सुलभ इन्भेष्टमेन्ट–१, एनआईबीएल प्रगति फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम–१, नबिल इक्विटी, लक्ष्मी इक्विटी, सिद्धार्थ इक्विटी, सानिमा इक्विटी, सिटिजन्स म्युचुअल फण्ड–१, एनआईसी एसिया ग्रोथ फण्ड, नबिल ब्यालेन्स फण्ड–२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–, एनआईसी एसिया ब्यालेन्स फण्ड, सिटिजन्स म्युचुअल फण्ड–२, एनएमबी ५०, सनराइज फस्र्ट म्युचूअल फण्ड र लक्ष्मी उन्नति कोषले सेयर उठाएका छन् । यसबीचमा एनआइबीएल समृद्धि फण्ड–१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले केही सेयर बिक्री गरेका छन् ।सेयरबजार


प्रतिक्रिया दिनुहोस्