कृषि विकास बैंकको साधारण सभा पुस २९ गते आह्वान, अन्य एजेण्डा यस्ता छन्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते, बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
सभाले सर्वसाधारण शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतशित नगदलाभांश वितरण गर्ने प्रस्ताव पनिसभाले पारित गर्ने भएको हो । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।



