सिमेन्ट उद्योग बुक विल्डिङ विधिमा आकर्षित, थप ४ उद्योगको आइपीओ आउँदै « Arthapath.com
२० असार २०८२, शुक्रबार

सिमेन्ट उद्योग बुक विल्डिङ विधिमा आकर्षित, थप ४ उद्योगको आइपीओ आउँदै



काठमाडौं । धितोपत्र बोर्डले बुक विल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्नेव्यवस्था गरेसँगै सिमेन्ट उद्योग (उत्पादन क्षेत्र) का कम्पनीहरू आकर्षित बनेका छन् । धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेसँगै पछिल्लो समयमा सवात्र्तेम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले यस्तो विधिबाट आईपीओ जारी गर्ने भएका छन् ।

बुक विल्डिङ विधिबाट सुरुवात शिवम् सिमेन्टले गरेको हो । शिवम् सिमेन्टले प्रिमियममा आईपीओ जारी गरेको थियो । त्यो समयमा शिवम्ले स्थानीय बासिन्दाका लागि प्रतिकित्ता २ सय रुपैयाँ र सर्वसाधारणको लागि ३०० रुपैयाँको दरले आईपीओ निष्काशन गरेको थियो । अहिले शिवम् सिमेन्टको मूल्य प्रतिकित्ता १५४४ रुपैयाँ पुगेको छ ।

शिवम् सिमेन्टले सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी सकंलन गरेको देखेर अन्य सिमेन्ट कम्पनी पनि यसतर्फ आकर्षित भएर थप ४ वटा सिमेन्ट कम्पनीहरूले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेका हुन् । अहिले सेयर बजारमा सूचीकृत सिमेन्ट कम्पनीमा शिवम् सिमेन्टमात्रै छ । पहिला हिमाल सिमेन्ट थियो । अब भने सेयर बजारमा उत्पादन मुलक कम्पनीको प्रतिनिधित्व बढ्ने क्रममा छ ।

सर्वोत्तम सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षभित्रै सेयर निष्काशन गरिसक्ने योजना बनाएको छ । फागुनमा सेयर निष्काशन गर्नेगरि प्रक्रिया सुरु गरिरहेको सर्वोत्तम सिमेन्टले जनाएको छ । कम्पनीले बुक बिल्डिङ्गमा विधिबाट सेयर निष्काशन गर्ने भएको हो ।

उसले माघ ६ गते भएको साधारणसभाबाट सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले १५ प्रतिशत हुन आउने ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधिमार्फत जारी गर्ने तयारी गरेको हो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । त्यसको १० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियममा अर्थात् बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्काशन गर्ने तयारीमा जुटेको छ । कम्पनीको माघ २६ गतेको साधारणसभाबाट आईपीओ प्रिमियममा जारी गर्ने पारित गरेको छ ।

त्यस्तै अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले पनि बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारी गरिरहेका छन् । अहिलेको प्रणालीबाट आईपीओ जारी गर्नुभन्दा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्दा बढी पुँजी संकलन गर्न सकिने भएपछि यस विधिमा आकर्षित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्