जोखिम हुन्छ भन्ने ध्यानमा राखी बहन गर्नसक्ने गरी लगानी गर्न सबै लगानीकर्तालाई बोर्डको आग्रह

काठमाडौं । दोश्रो बजारमा सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु आएसँगै नेपाल धितोपत्र बार्डले लगानीकर्तालाई थप सजग हुन आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै पछिल्लो समय बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ्ग सर्कुलर ट्रेडिङ भएका गुनासा आएकाले लगानीकर्तालाई चनाखो हुन आग्रह गरेको हो । प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भइरहेका गुनासा आएका र सो सम्बन्धमा अध्ययन थालिएको जनाएको छ । यो अध्ययन सकिन भने केही समय लाग्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
देशको विद्यमान आर्थिक परिदृश्य, सूचीकृत संगठित संस्थाहरुको कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत मूल्यांकन गरी लगानीको निर्णय लिन विज्ञप्तिमा भनिएको छ ।
बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगै जोखिम पनि हुन्छ भन्ने ध्यानमा राखी जोखिम बहन गर्नसक्ने गरी लगानी गर्न सबै लगानीकर्तालाई प्रवक्ता गिरीले आग्रह गरेका छन् ।
sebon