ऐतिहासिक उच्च बिन्दुमा पुगेको नेप्सेमा दोहोरो अंकको करेक्शन, १७ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । दिनभरिको उतारचढाव पछि नेप्सेमा दोहोरो अंकले करेक्शन भएको छ । दिनभरि लगातार बढ्र्द आएको नेप्से अन्तिम हावरमा आएर दोहोरो अंकले घटेको हो । बुधबार दिनभरिमा नेप्सेले ३ हजार अंकको पनि परिक्षण गर्दा बन्द हुने समयमा भने घटेको हो ।

शुरुवातमा बढेको नेप्से १३.५८ अंकले घटेर २९४६.५८ अंकमा बन्द भएको हो । यसअघि हिजो मंगलबार नेप्से परिसूचक ५३.४४ अकंले बढेर २९६०.१४ अकंमा बन्द भएको थियो, जुन हालसम्म कै उच्च बिन्दु हो ।
त्यस्तै, कारोबारमा पनि उछाल आएको छ । बुधबार दिनभरिमा २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार कित्ता सेयर १ लाख ५५ हजार पटक किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । हिजो मंगलबार दिनभरिमा २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर १ लाख ४९ हजार पटक किनबेच हुँदा १६ अर्ब ९५ करोड १३ लाख २० हजार रुपैयाँको कारोबार भएको थियो । यस अघि आइतबार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो । यो हालसम्म कै उच्च कारोबार हो ।
