सेयर कर्नरिङ नियन्त्रण गर्न अलग्गै इण्डेक्सको तयारी « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

सेयर कर्नरिङ नियन्त्रण गर्न अलग्गै इण्डेक्सको तयारी



काठमाडौं । सेयर बजारमा कम पूँजी भएका वा सर्वसाधारणमा कम सेयर जारी गरेका कम्पनीको भाउ बढाएर लगानीकर्ता झुक्याउने खेल बढ्न थालेपछि नेपाल धितोपत्र बोर्डले त्यस्ता कम्पनीको सेयर कारोबार गर्न अलग्गै प्लेटफर्म तपार गर्ने प्रक्रिया थालेको छ ।

यसबारे प्रारम्भिक चरणको अध्ययन भइसकेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । ‘अध्ययन प्रतिवेदनमाथि थप छलफल गरेर नयाँ प्लेटफर्म सञ्चालन गर्नेबारे नेप्सेलाई निर्देशन दिने छौं,’ उनले भने । पछिल्लो समय सेयर बजारको पूँजीकरण निकै बढेपछि ठूला लगानीकर्ताले समग्र बजारमाथि हस्तक्षेप गर्नसक्ने संभावना कम भएको छ ।

यसको विकल्पको रुपमा निश्चित व्यक्ति वा समूह मिलेर थोरै सेयर भएका कम्पनीको भाउ बढाउन कृत्रिम माग सिर्जना गर्ने परिपाटी बढेको लगानीकर्ता बताउँछन् । यो पटकको बूलरनमा हिमालय डिस्ट्रिलरी, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ र राष्ट्रिय बीमा कम्पनी जस्ता सरकारी संस्थान वा विशालबजारजस्ता कम सेयर भएका कम्पनीको भाउ भारीमात्रामा बढेका छन् ।

‘२-४ जना मिलेर त्यस्ता कम्पनीको सेयर किनिदिन्छन्,’ एक लगानीकर्ता भन्छन्, ‘त्यसपछि आफूआफूमै थोरैथोरै कारोबार गर्दै भाउ बढाउँछन् ।’ यसरी भाउ ३-४ गुणा बढेपछि अबरु लगानीकर्ताले पनि ती सेयरको माग भारी मात्रामा बढाउँछन् ।

त्यस्तो बेला सेयर बेचेर आफू निस्कनेहरूले नै बजारमा अधिक लाभ हासिल गर्छन् । यसरी गरिने कारोबारलाई ‘सेयरको कर्नरिङ’ भनिएको हो । यो वर्ष नेपाल टेलिकम, केही होटेल र जलविद्युत् कम्पनीको सेयरमा पनि यसरी नै कृत्रिम रुपमा भाउ बढाउने काम भएको नियामक निकायका अधिकारी बताउँछन् ।

तथापि, ठूलो संख्यामा कारोबार हुन थालेपछि नेप्सेको विद्यमान कारोबार प्रणालीले कर्नरिङलाई पकड्न सकिरहेको छैन । नेप्सेका अधिकारीहरू एउटै कम्पनीको भाउ बढेको भए पनि त्यसका खरीदकर्ताको विवधताले कर्नरिङ भएको पुस्टि गर्न गाह्रो पर्ने बताउँछन् ।

लगानीकर्ताले सामाजिक सञ्जाल र कतिपय अनलाइन सञ्चारमाध्यमको गलत प्रयोग गरेर निश्चित कम्पनीको सेयर मूल्य बढाउन थालेपछि कर्नरिङले थप प्रोत्साहन पाएको लगानीकर्ताको बुझाइ छ । तर यही कारण धेरै लगानीकर्ताको समान माग बढ्दा कर्नरिङ हो वा आम माग नै त्यही हो भन्नु छुट्याउन नियामकलाई अप्ठेरो परेको छ ।

यस्तो दुविधा रोक्न आफूहरूले अलग प्लेटफर्मको तयारी गरेको बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिए । ‘विकसित मुलु्कका सेयर बजारमा पनि कम्पनीको पूँजी र सूचिकृत साधारण सेयरको अनुपातका आधारमा भिन्दाभिन्दै प्लेटफमर्ममा कारोबार गर्ने व्यवस्था छ,’ उनले भने, ‘हामीले पनि त्यस्तै गर्नुंपर्छ ।’

अहिले १० करोड पूँजी हुने र २० अर्ब पूँनी हुने कम्पनीलाई एउटौ प्लेटफर्ममा कारोबार गराउँदा सेयर कर्नरिङको जोखिम बढेको बोर्डको ठहर छ । २ अर्बभन्दा धेरै चुक्ता मूल्यको साधारण सेयर सूचिकृत भएका कम्पनीलाई एउटा प्लेटफमर्म कारोबार गराउन पाए त्यस्ता कम्पनीको कारोबारमा ‘सर्किट ब्रेकर’ लगाउनै नपर्ने ढुंगाना बताउँछन् ।

मध्येम खालका कम्पनीका लागि अलग्गै र साना अर्थात् निकै कम पूँजी भएका कम्पनीका लागि अलग्गै प्लेटफर्मका कारोबार गर्न सके बजारमा विद्यमान थुप्रै चलखेललाई नियन्त्रण गर्न सकिने बोर्डको बुझाइ छ । यसकै लागि छिट्टै नै नेप्सेमा एसएमई इण्डेक्स सुरु गर्ने तयारी भएको अध्यक्ष ढुंगानाले बताए । उनले भने, ‘अहिले भइरहेको इण्डेक्स पनि अन्तरराष्ट्रिय अभ्यास अनुसारको वैज्ञानिक गणनामा आधारित छैन । हामीले नेप्सेलाई इण्डेक्सको गणना सुधार गर्न निर्देशन दिइसकेका छौं ।’


प्रतिक्रिया दिनुहोस्