बाणिज्य बैंकसँगमात्रै डेढ खर्ब ऋण दिने सामर्थ्य, तत्काल ब्याजदर नबढ्ने
काठमाडौं । पछिल्लो समय बैंकहरूसँग सञ्चित रहेको अधिक तरलता सकिँदै गए पनि तत्काल ब्याजदर बढ्ने संभावना नरहेको बैंकरले बताएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘अहिले पनि हामी बाणिज्य बैंकले मात्रै थप डेढ खर्ब रुपैयाँ ऋण दिनसक्न अवस्था छ । अहिले कुनै पनि बैंकले ऋण रोकेका छैनन् ।’ तरलताकाे असर ब्याजदरमा पर्ने अवस्था नभइसकेकाे उनले बताए ।
राष्ट्र बैंकका अधिकारीहरूले बैंकसँग ऋण दिनसक्ने बाँकी पैसा २७ अर्ब हाराहारीमात्र रहेको बताएको छ । ‘तर बैंकहरूले योभन्दा निकै धेरै रकम राष्ट्र बैंकबाट सापट लिएर ऋण दिनसक्ने अवस्था छ,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा प्रकाशकुमार श्रेष्ठले भने । अधिक तरलताको मोटो हिसाबमा भने बैंकहरूसँग लगानी गर्ने पैसाको खँडेरी परिसकेको देखिन्छ । अनिवार्य मौज्दात अनुपात घटाउँदा बैंकहरूसँग भएको पैसाले ६ अर्ब रुपैयाँमात्र अधिक ऋण दिन पइने हुन्छ ।
तर राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूलाई धेरै पैसा लगानी गर्न सक्नेगरी नीतिगत सुधार गरेपछि अझै ठूलो रकम लगानी गर्न समस्या नपर्ने देखिको हो । राष्ट्र बैंकले पूँजी र निक्षेपको ८५ प्रतिशतसम्म कर्जा लगानी गर्ने सुविधा दिएको छ ।
‘हामी आफूसँग भएको पैसा नै लगानी गर्न त सक्दैनौं,’ दाहालले भने, ‘तर राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजमा पैसा लिएर लगानी गर्न सक्ने अवस्था छ ।’ उनले पछिल्लो समय सरकारले ठूलो रकम बजारबाट उठाएका कारण तरलता कम भएको देखिएको बताए । तर असार मसान्तमा करीब डेढ खर्ब रुपैयाँजति पैसा बजारमा आउने भएकाले त्यो पैसा व्यवस्थापन गर्न कठीन पर्ने बैंकर बताउँछन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले भने तरलता व्यवस्थापनमा पहिले जस्तो सुविधाजनक अवस्था अब नरहेको बताए । उनले भने, ‘बैंकले राष्ट्र बैंकसँग सापटी लिएर ऋण दिन सक्ने अवस्था त छ, तर विस्तारै बैंकहरू कर्जा दिने क्षमता गुमाउँदै जाने छन् ।’
राष्ट्र बैंकले अहिले पनि १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ पुनरकर्जा लगानी गरिरहेको छ । यो पैसा भनेको केन्द्रिय बैंकले नयाँ नोट छापेर दिनेजस्तै हो । बजारमा वित्तीय पुनरुत्थानका लागि केन्द्रिय बैंक वा सरकारले सस्तो ब्याजदरमा पुनरकर्जा सुविधा दिने गरेको छ ।
यस्तो पुनरकर्जा बैंकहरूले आफ्नो स्रोत नै नभए पनि लगानी गर्न सक्छन् । तर वैशाखसम्म नयाँ पुनरकर्जाका लागि केवल २० अर्ब रुपैयाँ बराबरमात्रै स्वीकृत भएर प्रवाह हुन बाँकी थियो । त्यसमध्ये पनि हालसम्म धेरै पैसा लगानी भइसकेको राष्ट्र बैंक बताउँछ । तर राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट पनि खुकुलो नीति लिने अपेक्षा बैंकहरूको छ ।
कोरोना महामारीको दोस्रो लहरले ल्याएको समस्याबाट अर्थतन्त्रलाई पुनरुत्थानमा सघाउन उपयुक्त मौद्रिक नीति आउने कुरा बजेटले नै बोलिसकेको छ । यस्तो बेला केन्द्रिय बैंकले पुनरकर्जाजस्ता सुविधालाई निरन्तरता दिने, सरकारले घोषणा गरेका ६३ अर्ब रुपैयाँ बराबरका पुनरुत्थान प्याकेज कार्यान्वयनमा आउनेजस्ता कुराले पनि नयाँ आर्थिक वर्ष सुरुभएपछि समेत बजारमा तरता अभाव टड्कारो रुपमा नआइहाल्ने बैंकर बताउँछन् ।