अर्थतन्त्रको पुनरूत्थानका लागि ब्याजदर बढाउनुपर्ने बाध्यताः राष्ट्र बैंक « Arthapath.com
१० असार २०७८, बिहीबार

अर्थतन्त्रको पुनरूत्थानका लागि ब्याजदर बढाउनुपर्ने बाध्यताः राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले महामारीपछिकाे अर्थतन्त्र पुनरूत्थानका लागि निक्षेपकाे ब्याजदर बढाउनु अत्यावश्यक भएकाे बताए । अहिलेको अवस्थाबाट ब्याजदर बढ्दा निक्षेप राख्न मानिसहरु उत्प्रेरित हुने ढकालको तर्क छ । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर बढाउन थालेपछि नियामक निकायकाे यस्ताे धारणा आएको हो ।

बढ्दो ब्याजदरले कोरोना महामारीपछिको अर्थतन्त्रको पुनरुत्थानमा कठिनाइ पर्नसक्ने आँकलनका बाबजुत राष्ट्र बैंकले भने यस घटनालाई सकारात्मक रुपमा लिएको छ । ढकालले वित्तीय प्रणालीमा घट्दै गएको तरलता कायम राख्न पनि निक्षेपको ब्याजदर बढाउनु आवस्यक भइसकेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै बढ्नसक्ने ऋणको चापलाई मध्येनजर गर्दै बैंकहरुले पछिल्लो समय निक्षेपको ब्याजदर बढाउन थालेका छन् ।

यसअघि राष्ट्र बैंकबाट छोटो समयका लागि ६ प्रतिशत ब्याजमा तरलता सुविधा (ऋण) लिएर ४ प्रतिशत ब्याज पाउनेगरी सरकारी ऋणपत्रमा बैंकहरुले लगानी गर्दै आएका थिए । ‘असारमा सरकारको बजेट खर्च भारी मात्रामा बढ्ने र त्यसले तरलता फालाफाल हुने’ अनुमानबाट बैंकहरु पछि फर्किन थालेका छन् ।

सरकारी खर्च अपेक्षाकृत नहुने देखिएको प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत दिनेश थकालीले बताएका छन् । सरकारी कोषको खर्च नबढ्ने देखिएपछि बैंकरले कर्जाभन्दा पहिले निक्षेपको ब्याजदर बढाएर पैसा तान्न खोजेका हुन् । तर, यसरी निक्षेपको ब्याजदर बढेपछि बैंकहरुले दोस्रो चरणमा कर्जको ब्याजदर पनि बढाउनसक्ने बैंकर बताउँछन् ।

निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको आधार दर बढ्ने र यसले स्वभाविक रुपमा ऋणको ब्याजद बढाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी ब्याजदर बढ्दा महामारीपछिको आर्थिक पुनरुत्थानका लागि कठिनाइ पर्नसक्ने चिन्ताहरु बढ्न थाले पनि राष्ट्र बैंकले त्यसो नहुने बताएको छ ।

‘निक्षेपको ब्याजदर निकै कम बनाइराख्ने हो भने निक्षेपकर्ताहरु निरुत्साहित हुने जोखिम हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता ढकालले भने । त्यस्तो अवस्थामा बैंकमा पैसा नआउने खतरा बढ्ने र तरलता समस्याको नयाँ चक्र तयार हुने उनले बताए । यही जोखिमलाई कम गर्न पनि निक्षेपको न्यूनतम ब्याजदर केही हदसम्म बढाउनु आवस्यक भएको उनले बताए ।

‘अहिले निक्षेपको ब्याजदर १-२ प्रतिशत विन्दु बढ्दैमा एकल अंकमा कर्जाको ब्याजदर राख्ने लक्ष्य तोडिन्छ भन्ने लाग्दैन,’ ढकालले भने, ‘भविष्यमा आर्थिक पुनरुत्थानका लागि नै समस्या पर्नेगरी ब्याजदर बढ्छ भनेर अहिल्यै अनुमान नगरौं ।’ उनले ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले थुप्रै नीतिगत व्यवस्था गरेका कारण कुनै समस्या नपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्