कोरोना महाहारीको असर लाभांशमा, बैंकका सीईओ माथि बढ्दै दबाब « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

कोरोना महाहारीको असर लाभांशमा, बैंकका सीईओ माथि बढ्दै दबाब



काठमाडौं । कोरोना महामारीका कारण नाफा घट्ने र लाभांशक प्रभावित हुन थालेपछि बैंकका सीईओहरुमाथि दबाब बढ्न थालेको छ । सञ्चालक समितिले सीईओहरुलाई अपेक्षित प्रतिफल दिन नसकेको भन्दै दबाब दिन थालेको बैंकरले बताएका छन् । पछिल्लो पटक सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमको राजिनामा यसको एक उदाहरण हो ।

गौतमले हिजो बसेको सञ्चालक समिति बैठकमा आफूले अध्यक्षलाई राजिनामा बुझाएको जानकारी गराएका थिए । बैठकमा खासै विबादास्पद कुरा नभए पनि सीईओले एकाएक यस्तो जानकारी गराएको एक सञ्चालकले बताए । उनले ९ महिना कार्यकाल बाँकी छँदै हिजै राजिनामा बुझाएका हुन् । असार मसान्त नजिकिँदै गर्दा गौतमले बैंकको नेतृत्व छाडेका छन् ।

उनले राजिनामाका सन्दर्भमा ‘पारिवारिक कारण’ भने पनि लाभांशको विषयमा भएको मतभेद नै मूल कारण भएको ती सञ्चालकले बताए । ‘उहाँ आउने बेलामा पहिलो वर्ष १२ प्रतिशत र त्यसपछि कम्तिमा १५ प्रतिशत लाभांश दिन्छु भन्नुभएको थियो,’ ती सञ्चालकले अर्थपथसँग भने, ‘तर पहिलो वर्ष ६ प्रतिशत र दोस्रो वर्ष साढे ७ प्रतिशतमात्रै दिन सक्नुभयो ।’

प्रतिबद्धताको आधामात्रै लाभांश दिनसकेको र यो वर्ष पनि पुर्वप्रतिबद्धता जनाएको स्तरमा लाभांश पुर्याउन नसक्ने भएपछि गौतमले राजिनामा दिएको ती सञ्चालक बताउँछन् । सीईओ गौतमले भने राजिनामाको विषयमा केही बोलेका छैनन् ।

गौतमको बैकिङ इतिहास राम्रो छ । लथालिंग भइसकेको माछापुच्छ«े बैंक सुधारेका गौतम दबाब र प्रभावमा भन्दा स्वच्छन्दतामा रमाउने सीईओ हुन् । उनी लाभांशभन्दा ज्यादा बैंकको सुदृढिकरणमा ध्यान दिने बैंकर भएको उनका सहकर्मीहरु बताउँछन् ।

तथापि, उनले नेतृत्व लिएको केही समयमै सुरु भएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रलाई जोगाउन सरकार एवम् राष्ट्र बैंकले चालेका कदमले साना बैंकहरुलाई उच्च नाफा कमाउने अवसर दिएन । यसबीचमा पनि केही ठूला र प्रभावशाली बैंकले उच्च नाफा आर्जन गरे पनि सानो आकारमा व्यवसाय गर्ने संस्थाका लागि महामारी निकै कष्टकर भएको छ ।

आर्थिक वर्षको अन्तिममा नेतृत्व बिहिन भएको सेञ्चुरी बैंकमा तत्कालै नयाँ सीईओ आइहाल्ने अवस्था नरहेको ती सञ्चालकले बताए । ‘हामी राम्रो संस्था र सम्मानजनक स्वाप रेसिया पाए मर्जरमा जाने निचोडमा छौं,’ उनले भने । नयाँ सीईओ राख्नेतिरभन्दा मर्जरमा जानेतिर नै बढी जोड रहने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्