नबिल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुला, यसरी दिनुहोस् आवेदन « Arthapath.com
१० श्रावण २०७८, आईतवार

नबिल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुला, यसरी दिनुहोस् आवेदन



काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र आज (साउन १० गते) देखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्म र यदि सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्