बूक बिल्डिङमा पहिलो गाँसमै ढुंगा, भ्याल्यूएटरले ६ सय भनेको शेयर ७५० मा बेचेर सर्वसाधारण लुट्ने योजना यसरी हुँदै छ तुषारापात « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

बूक बिल्डिङमा पहिलो गाँसमै ढुंगा, भ्याल्यूएटरले ६ सय भनेको शेयर ७५० मा बेचेर सर्वसाधारण लुट्ने योजना यसरी हुँदै छ तुषारापात



काठमाडौं । नेपाल धितोपत्र बोर्डले उत्पादनमुलक क्षेत्रका कम्पनीलाई शेयर बजारमा आकर्षित गर्नभन्दै अघि सारेको ‘बूक बिल्डिङ’ विधीमा ‘पहिलो गाँसमै ढुंगा’ लागेको छ । लामो समयदेखि शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको मात्रै सहभागिता भएपछि उत्पादनमुलक क्षेत्रका मम्पनीलाई आकर्षित गर्न यस्तो बिधी प्रयोग गर्ने बाटो खोलिएको थियो ।

बूक बिल्डिङमार्फत् पहिलो पटक सर्वसाधारणलाई महँगोमा शेयर बेच्न लागेको सर्वोत्तम सिमेण्टले नियामक निकायको मुख थुनेर सर्वसाधारण ठग्ने योजना अघि सारेको खुलेको छ । उक्त कम्पनीको अडिट गर्ने कम्पनी केपीएनजी इण्डियाले सो शेयर बढीमा ६०० रुपैयाँमा विक्री गर्नसक्ने मूल्यांकन गरेको खुलेको हो ।

उच्चतम मूल्यांकनमा पनि ६०० रुपैयाँभन्दा बढीमा विक्री नहुने भनिएको शेयर ७५० रुपैयाँमा बेचेर सर्वसाधारणसँग प्रतिकित्ता १५० रुपैयाँ अतिरिक्त पैसा लिने योजना अब धरापमा परेको छ । कम्पनीले यसरी बढी मूल्यमा शेयर विक्री गर्ने बन्दोबस्त गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतदेखि विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा मालिक चन्द्र ढकाल र उनका भाइ हेमराज ढकालको नाममा समेत शेयर ‘उपहार’ दिएका खबरहरू बाहिर आएका छन् ।

विक्री प्रबन्धकले उक्त शेयर जनताले नकिनेको अवस्थामा आफूले किन्ने प्रत्याभूति दिएका हुन्छन् । उनीहरूको प्रत्याभूति पछिमात्रै बूक बिल्डिङका लागि शेयर जार गर्ने कम्पनीले गरेको प्रस्तावित मूल्य सदर हुन्छ । विक्री प्रबन्धकहरूले यो मूल्यमा किन्ने प्रत्याभूति दिन्न भनिदिए भने कम्पनीले आफ्नो प्रास्तावको मूल्यमा शेयर बेच्न पाउँदैनन् ।

सर्वोत्तमले यही कारण उनीहरू सबैलाई शेयर दिएका हुनसक्ने आँकलन गरिएको छ । यसअघि जलविद्युत् कम्पनीहरूले वास्तविक लागतभन्दा निकै महँगो देखाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर सर्वसाधारणलाई ठगी गर्ने गरेको खबरहरू आउने गरेको थियो । जलविद्युत्को वास्तविक लागतबारे प्रभावकारी अनुगमन गर्ने संयन्त्र नहुँदा बैंकको ऋण र जनताबाट उठाउने पैसाभन्दा परियोजनामा हुने लगानी कम पर्नेगरी प्रबद्र्धकहरू सित्तैमा मालिक बन्ने गरेको जानकार बताउँछन् ।

बूक बिल्डिङमा पनि त्यसरी मूल्य निर्धाण गर्दा सर्वसाधाण ठगिने जोखिम रोक्न अलग्गै व्यवस्था भएको छैन । तर विक्री प्रबन्धकहरूले प्रत्याभूति दिनुपर्ने भएका कारण यसले गलत अभ्यासलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको थियो । विक्री प्रबन्धकका सञ्चालकहरू नै आफूले व्यक्तिगत रुपमा शेयर लिएर कम्पनीलाई जोखिममा धकेल्न थालेको देखिएपछि भने अब नेपालमा ‘बूक बिल्डिङ’ प्रणालीमाथि नै प्रश्न उब्जिएको छ ।

नेपाल धितोपत्र बोर्डका अधिकारीहरूले सर्वोत्तम सिमेण्टले पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एक वर्षको वित्तीय विवरण सार्वजनिक नगरेका कारण प्राथमिक शेयर निष्काशनमा ढिलाई भएको बताएका थिए । तर उनीहरूको मक्सद भिन्न देखिएको छ । आईपीओ ल्याउने तयारीमा रहेको कम्पनीले बीचैमा बोनश शेयर बाँडेरको पनि देखिएको छ ।

यसले एकातिर सर्वोत्तमको आईपीओमा लगानी गर्ने सर्वसाधारण जनता ठगिने छन् भने अर्कातिर विक्री प्रबन्धक कम्पनीका लगानीकर्ता ठगिने छन् । आवस्यकताभन्दा बढी मूल्यमा अर्काको शेयर किनेर पर्ने घाटा तिनै विक्री प्रबन्धक कम्पनीको शेयरधनीले पाउने नाफाबाट चुक्ता गर्नुपर्ने हुन्छ ।

सर्वोत्तमको आईपीओका लागि ग्लोबल आईएमई क्यापिटल, एनआईबीएल एस क्यापिटल, प्रभु क्यापिटल विक्री प्रबन्धक तोकिएका छन् । यी विक्री प्रबन्धकबीचको बैठकमा ६०० रुपैयाँभन्दा बढी नतिर्न निकै माथापच्चिसी भए पनि ग्लोबल आईएमईका अधिकारीले आफू एक्लै प्रत्याभूति दिने बताएको स्रोतको दाबी छ ।

यसरी सर्वोत्तमले विक्री प्रबन्धकदेखि नियामक निकायसम्मका प्रमुखलाई शेयरको घुस दिएर जनता ठग्न खोजेको भन्दै अर्थ मन्त्रालयले उच्च स्तरीय छानबिन समिति बनाउने योजना अघि सारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त घटनामा चासो देखाएको छ ।

सर्वोत्तमले ६० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने योजना बनाएको छ । यसमा प्रतिकित्ता १५० रुपैयाँ बढी उठाउन पाउँदा कम्पनीलाई ९० करोड रुपैयाँ अतिरिक्त लाभ हुन्छ । ७५० मा किनेको शेयर दोस्रो बजारमा पनि चाँडो भाउ बढाएर अर्बैं रुपैयाँ नाफा गर्ने योजनाबाट प्रेरित भएर शेयर घुस दिने काम भएको हुनसक्ने भन्दै अख्तियारले अनुसन्धान अघि बढाउन लागेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्