बैंकमा निक्षेप बढ्यो, तर जनताको पैसा सुरक्षण गर्ने कार्य सुस्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंकमा निक्षेप बढ्यो, तर जनताको पैसा सुरक्षण गर्ने कार्य सुस्त



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधरण नागरिकले आफ्नो पैसा जम्मा गर्ने प्रबृत्ती बढे पनि निक्षेप सुरक्षणको हिस्सा भने घटेको छ । गत आर्थिक वर्ष निक्षेप तथा कर्जा सुरक्षण कोषले कुल निक्षेपको १७.१० प्रतिशत रकम निक्षेप सुरक्षण गरेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

जबकी, अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा कुल निक्षेपको १७.५० प्रतिशत रकम निक्षेप सुरक्षण गरिएको थियो । खातावालाको संख्या खासै नबढे पनि भएका खातालालाले बढी पैसा निक्षेप राख्न थालेपछि सुरक्षण छाताभन्दा बाहिर रहेको निक्षेपको आकार बढ्दै गएको हो । राष्ट्र बैंकले अहिले ३ लाख रुपैयाँ सम्मको व्यक्तिगत निक्षेपमा मात्रै यस्तो निक्षेप सुरक्षणको व्यवस्था गरेको छ ।

बैंकहरुले पछिल्लो एक वर्षमा २०.६ प्रतिशत निक्षेप बढाएका थिए । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ३९ खर्ब ३० अर्ब निक्षेप रहेकोमा गएको असार मसान्तमा ४७ खर्ब ४१ अर्ब हाराहारी निक्षेप पुगेको छ । यसरी निक्षेपमा भएको उच्च बृद्धिका पछाडी नेपाली शेयर बजारको भारी बृद्धि एक मुख्य कारण हो ।

शेयर बजारबाट ठूलो पूँजीगत लाभ आर्जन भएपछि मानिसहरुले बैंकमा निक्षेप बढाएका थिए । यसो हुँदा एकै व्यक्तिको सम्पत्ती बढी थपिने अवस्था आएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । ‘कोही व्यक्तिको खातामा एक वर्ष अघि २ लाख रुपैयाँ थियो भने त्यो पुरै पैसा निक्षेप सुरक्षणमा रहन्थ्यो,’ राष्ट्र बैंकका ती अधिकारी भन्छन्, ‘तर पछिल्लो वर्ष त्यही व्यक्तिले आफ्नो खातामा १० लाख रुपैयाँ पैसा पुर्यायो भने त्यो सबै पैसा निक्षेप सुरक्षण कोषले कभर गरेको हुँदैन ।’

यसरी नागरिकले बढी पैसा जम्मा गर्न थालेका कारण निक्षेप सुरक्षणको हिस्सा पोहोरभन्दा कम भएको हो । तर रकमका हिसाबले भने निक्षेप सुरक्षणको आकार पनि १७.७० प्रतिशत बढेको छ । अर्थात् २०७७ असार मसान्तमा निक्षेप तथा कर्जा सुरक्षण कोषले ६ खर्ब ८९ अर्ब ४९ करोड निक्षेप सुरक्षण गरेकोमा गत असार मसान्तसम्ममा ८ खर्ब ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ६६ बैंक तथा वित्तीय संस्थामा ३ करोड १ लाख निक्षेप खाता सञ्चालनमा छन् । एक वर्षअघि यस्तो खातासंख्या २ करोड ६० लाख थियो । पछिल्लो एक वर्षमा लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जाको सुरक्षण समेत उल्लेख्य बढेको देखिन्छ । यस्तो कर्जा अघिल्लो वर्ष ६५ अर्ब ८ करोड रुपैयाँ बराबरको कर्जा सुरक्षण भएकोमा गत असारसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्