तिहारमा दियो बाल्नुको अर्थ « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

तिहारमा दियो बाल्नुको अर्थ



रिना खनाल

नेपालीको दोस्रो ठूलो महान् पर्व तिहार सुरु भइसकेको छ । तिहारलाई झिलिमिली पर्वको रूपमा लिइन्छ । शरद ऋतुको आगमनसँगै बिस्तारै दिन छोटो र रात लम्बिँदै जान्छ । बडादसैँैको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औँसी नजिक हुँदै जान्छ । अनि गाउँघरमा मखमली र सयपत्री मगमगाउँछन् । फूलको सुगन्धले एक प्रकारको दिव्य माहोल स्वतः बन्छ । तिहार सबै वर्गका मानिसको रमाइलो पर्व हो । यस पर्वको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो । यस दिनलाई जनबोलीमा भाइटीका भनिन्छ ।

नेपालका साथै भारतका कतिपय प्रान्तमा समेत भाइटीका मनाइन्छ, त्यहाँ भैयादुज भनिन्छ । बङ्गाली समुदायले पनि भाइटीका भव्य रूपमा मनाउँछन् । तिहार प्रकाशको पर्व हो, त्यसैले यसलाई दीपावली भनिएको भन्दा फरक पर्दैन । पहिला–पहिला आ–आफ्नो घरमा गाईको घ्यू तथा शुद्ध तोरीको तेलमा माटोको पालामा दियो बाल्ने चलन थियो । यस्तो शुद्ध प्रकारका तेलमा दियो बाल्ने गर्नाले हाम्रो वातावरणमा पसेका अवाञ्छित र स्वास्थ्यका लागि हानिकारक तत्व नष्ट हुनुका साथै हाम्रो मस्तिष्कमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिएको छ । गाईको शुद्ध घ्यूमा बालिएको दियो केही समय हेर्नाले आँखाको ज्योति तेज हुनेसमेत विश्वास गरिने बुढापाकाको भनाइ छ । वास्तवमा दियो हाम्रो दैनिकीमै तथा पूजाआजामा नबालिने पनि होइन, दैनिक रूपमा बिहान तथा बेलुका त्यसैले आरती गरिन्छ । बालिएन भने पूजा अपूर्ण हुन्छ । तर, तिहारमा बालिने दियो विशेष उत्सवको रूपमा मानिने भएकाले यसले परस्पर सद्भाव र सामाजिक समरसता एवम् भ्रातृत्व कायम राख्न मद्दत मिल्दछ ।

तिहारमा लक्ष्मीपूजाको आराधना गर्ने हुनाले यसलाई धनवन्तरी (धनतेरस) पनि भनिन्छ । धनधान्यकी देवी लक्ष्मी हुन् । साथै, घरको मूल ढोकामा दीपावली गर्नाले यमराज प्रसन्न भई दीर्घजीवन प्रदान गर्नेसमेत विश्वास गरिन्छ । कुनै नकारात्मक सन्देश प्राप्त गर्न नपरोस् तथा हानिकारक किराको प्रवेश नहोस् भन्नाले गाईको गोबरले घर लिपपोत गरिन्छ अनि झ्यालढोकालाई समेत सयपत्री र मखमलीको माला पहि¥याएपछि प्रकाश र सजावटले मनमोहक बन्दछ । बास्नादार धुप, मखमली र सयपत्री फूलको मगमग सुगन्धले वातावरणले एक किसिमको मादकता प्रदान गर्दछ । परापूर्वकालमा कन्या केटीले भैलो गीत गाउँदै घरघरमा भैली खेलिन्थ्यो भने गोवद्र्धन पूजाको दिन कुमार केटाले देउसी खेल्ने परम्परा रहिआएको थियो । तर, आजकल सबै दिन सबै वर्गका महिला तथा पुरुषले देउसी–भैलो खेल्ने गरेका छन् । आजभोलिका दैउसी–भैलो खेल्दा उशृङ्खल र अश्लील शब्द प्रयोग हुने हुँदा देउसी–भैलोको महत्व घट्दै गएको छ ।

तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्वपूर्ण छ । दीपावली स्वच्छता र प्रकाशको विशेष पर्व । अन्धकारलाई परास्त गर्दै उज्यालोको यात्रा हो जीवन भन्ने पावन सन्देश दिन्छ तिहारले । धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान् श्रीराम, लक्ष्मण र सीता १४ वर्ष वनबास पूरा गरी फर्कँदा कार्तिक कृष्ण पक्षको औँसीको रात थियो । अयोध्यावासीले आगमनको खुसियालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेका वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने विश्वास गरिएको छ । यसका साथै, कुवेरको वास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ ।

दीपावली प्रकाश र सुगन्ध, मिष्ठान्नको त्यौहार हो, पर्व हो । मन नै उमङ्गले भरिने उत्सव हो । गाउँघरमा माटोको पालाभन्दा पनि क्यामुनाको पातको खोरी बनाई तथा केराको सुत्लामा बत्ती बालिने परम्परा अझै रहिआएको छ । अचेल बजारमा पाइने रेडिमेड पालाभन्दा यो कैयौँ गुणा स्वस्थ्यकर छ । वास्तुशास्त्रअनुसार पनि बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुन्छन् । घ्यूको बत्तीबाट निस्केको सुगन्धित धुवाँले हानिकारक कीटाणुको नास गर्छ । अझै बत्तीलाई पूर्व फर्काएर बाल्दा आरोग्य र उत्तर फर्काएर बाल्दा धन लाभ हुन्छ भन्ने विश्वास गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्