समुद्रसम्मै आफ्नै अप्टिकल फाइबर विच्छ्याउन फेरि आयो निर्देशन, कहिले होला काम ?

काठमाडौं । इण्टरनेट आयात गर्नका लागि सिसाको तार (अप्टिकल फाइबर) नेपालको सीमाक्षेत्रदेखि नजिकको समुद्र सतहसम्म विच्छ्याउन सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरण नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय हो ।
समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याएर इन्टरनेट ल्याउने प्रक्रिया तत्कालै अघि बढाउन सरकारले मन्त्रीस्तरीय निर्णय गरेको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको विकास समस्या समाधान समितिले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक समिक्षामा समेत प्राधिकरणलाई उक्त आयोजनालाई उच्च प्राथामिकतामा राखेर तत्काल अघि बढाउन निर्देशन दिइएको छ । समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने परियोजना लामो समयदेखि चर्चामा छ । तर, अहिलेसम्म कुनै नतिजा आउन सकेको छैन ।
सस्तो मूल्यमा इन्टरनेट ब्याण्डविथ भित्र्याउने उद्देश्यका साथ नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो परियोजना अघि बढाएको थियो । यसका लागि प्राधिकरणले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । उक्त परियोजनाको अध्ययनको काम अहिले अन्तिम चरणमा पुगेको प्राधिकरणले बताएको छ ।
अध्ययन सकिएपछि सेवाशर्ता ‘टीओआर’ निर्धारण गरी बोलपत्र आह्वान गर्ने प्राधिकरणले जनाएको छ । विश्व दूरसञ्चार संघ (आईटीयू) को नीति अनुसार नजिकको समुद्री सतहसम्म आफ्नै अप्टिकल फाइबर पहूँच पाउनु सबै भूपरिवेष्ठित मुलुकहरुको अधिकार हुन्छ ।
यसरी समुद्री सतहसम्म नेपालको आफ्नै अप्टिकल फाइबर पहूँच स्थापित भएमा इण्टरनेटको आपूर्ति सहज र सुलभ हुने छ । हालसम्म यस किसिमको पहुँच बन्न नसक्दा भारत र चीनमा रहेका क्यारियरमार्फत नेपालका नेटवर्क सेवा प्रदायकले महंगो मूल्यमा इन्टरनेट ब्याण्डविथ खरीद गर्नुपर्ने बाध्यता छ ।
अहिले नेपालले धेरैजसो इण्टरनेट पनि भारतबाटै आयात गरिरहेको छ । चीनबाट आयात गर्ने भनिएको इण्टरनेट निकै कममात्र आउन सकेको छ । यसोहुँदा हामीलाई इण्टरनेट निकै महँगो परिरहेको छ ।