हरेक रुटमा २ रुपैयाँ ठगी, खुद्रा फिर्ता माग्नेलाई ‘फुटकर पैसा छैन’ भन्दै ठगी

मानमति पन्त
काठमाडौं । नेपालको एकदमै व्यस्त शहर मध्ये काठमाडौं पनि एक हो । जहाँ मानिसहरुको एकदमै बढी चाप छ । हरेक मान्छे कुनै न कुनै कामले बाहिर निस्कनु पर्ने हुन्छ । सबैसंग आफ्नै नीजि साधन भएको अवस्था पनि छैन् । त्यसैले सार्वजनिक यातायातमा सवार गर्नु पर्ने हुन्छ । तर त्यो यात्रामा हरेक दिन यात्रु ठगिरहेका छन् ।
काठमाडौंमा करिब ३३ हजार सार्वजनिक सवारी गुड्ने गरेका छन् । यसरी उपत्यकामा यात्रुबाट दैनिक लाखौं रुपैयाँभन्दा बढी ठगी हुने अनुमान छ । धेरै जसो यात्रुसंग फुटकर पैसा हुदैन भए पनि बोक्न झण्झट भएका कारण बोक्दैनन् ।
रुटको २ रुपैयाँ ठगीले मन पिरोलियो
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय वागमती प्रदेश हेटौडा मकवानपूरको २०७८ असोज २० गतेको माननिय मन्त्रीस्थर निर्णय अनुसार २०७८ कात्र्तिक १ गतेबाट भाडा समायोजन गरेको थियो ।
सो भाडा समायोजनले हरेक रुटमा २ रुपैयाँ ठगीले मन पिरोलिएको सुनाउछन्, ग्रीनल्याण्डका लोकेन्द्र धामी । ‘हामीलाई हरेक दिन ठगी रहेका छन् । तर सम्बन्धित अनुगमन निकायको नजर भने हामी माथी परेको छैन ।’
हरेक क्षेत्रमा सर्वहारा व्यक्ति मात्र ठगिन्छन् । यो भाडा समायोजन गरेको लगभग दुई महिना पुग्न लागेको छ । म आफ्नै कुरा गर्ने हो भने पनि ३ सय रुपैयाँ भन्दा बढी ठगिसकेको छु । दुई रुपैयाँ फुटकर छैन भन्दै गाडी सह–चालकले फिर्ता नदिने गरेको गुनासो गरे ।
उनी अनुमान गर्दै भन्छन्, ‘एक दिनमा उपत्यकामा २५ लाख पटक भन्दा बढी यात्रु सार्वजनिक सवारी साधन चढ्छन् होला ।’ फुटकर नभएको बहाना व्यवसायीलाई फाइदा लुट्ने मेलो बनेको छ । यो रुटको २ रुपैयाँ ठगीले मन पिरोलिएको छ ।

५ लाख बराबरको राजस्व संकलन
यातायात व्यवस्था विभागले अनुगमनको क्रममा २ रुपैयाँ भाडा फिर्ता नगरेको भेट्यो भने कार्वाही गर्ने गरेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने, ‘सुरु–सुरुका दिनमा लगभग ४ सय गाडीहरुलाई कार्वाही गरेका थियौ ।’ हामीले कार्वाही अगाडी बढाएपछि गाडी चालकहरुले सो रुपैयाँको चकलेट वितरण गर्ने गरेको भेटिएको छ । तर हाम्रो भनाइ सकेसम्म पैसा नै फिर्ता दिनुस् भन्ने हो ।
अनुगमन भनेको एक–एक गाडी गर्ने भन्ने होइन । जो–जोलाई भेट्यो भेटिएको गाडीलाई कार्वाही गर्ने हो । हाल दैनिक अनुगमनमा ट्राफिक सहित ५ जनाको टोली रहेको छ । महिनामा ५ लाख बराबरको जरिवाना संकलन गरी राजस्व उठाएको घिमिरेले बताए । अनुगमन सधै एउटै रुटमा हुदैन । अर्को रुटमा जाँदा फेरी मनपरी नै रहेको देखिन्छ । विभागको काम प्रभावकारी नभएको उनले स्वीकारेका छन् ।
वैज्ञानिक भाडाको सिस्टम भएन् ?
भाडा अल्टर नै बनाइदिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको आरोप छ । उनले भने, ‘संघिय सरकारले एउटा र प्रदेश सरकारले आफ्नो–आफ्नो खालको भाडादर निकालेको कारण अन्योलले छाएको हो ।’
त्यसलाई एक रुपता गर्नु वैज्ञानिक भाडाको सिस्टम अनुसार बनाइ दिनु पर्ने प्रदेश सरकारलाई निरन्तर रुपमा भनिरहेका छौ । प्रदेश सरकारले चाँडै भाडाको विषयमा समायोजन गर्ने प्रतिवद्धता गरेको समेत बताए ।अन्यौल किसिमको भाडाका कारण सार्वजनिक सवारीमा यात्रुले पैसा फिर्ता नपाइरहेको हो । यो भाडा समायोजनको लागि उठान गरिरहेका छौ ।
यात्रुहरु ठग्यो भन्छन् भाडा समायोजन नै दुविधा
अहिले लागु भइरहेको भाडा समायोजन सार्वजनिक सवारी चालक र सह–चालकलाई पनि झन्झटिलो लागेको सिटी चालक राम राईले सुनाए । उनले भने यात्रुहरु ठग्यो भन्छन् तर हामी आफैलाई पनि असहज लागेको छ । भाडा कसरी लिने, आफु घाटामा खाएर पैसा फिर्ता पनि गर्न सकिदैन ।
दैनिक फुटकर पैसा आफुसंग नहुने उनीले सुनाए । सिक्का पैसा बोक्न झन झन्झटिलो रहेको छ । त्यही हामीलाई चाहिँए जति दैनिक आफुहरुसंग हुदैन । यसमा हामी ठगी रहेका छैनौ सरकारको नसुहाउने भाडा मुल्य समायोजनले ठग्न बाध्य गरेको छ ।
सार्वजनिक सवारी चढ्ना साथ यस्तो छ भाडा
वागमती प्रदेशमा कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार सार्वजनिक सवारी साधन चढ्ना साथ (५ किलोमिटरसम्म) १८ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यस्तै, १० किमीसम्म २३ र १५ किमीसम्म २७ रुपैयाँ भाडा छ । यात्रु भने यस्ता रुटमा २०, २५ र ३० रुपैयाँ तिर्न बाध्य छन् ।
राष्ट्र बैंकले एक–दुई रुपैयाँको नोट छाप्न छोडिसकेको छ । यात्रुले एक–दुई रुपैयाँका सिक्का पनि बोकेका हुँदैनन् । त्यसैले यात्रुले बढी भाडा दिनैपर्ने अवस्था सिर्जना भइरहेको छ । कोही यात्रुले पैसा फिर्ता चाहिने अड्डी कसे धेरैजसो सहचालकले खुद्रा नभएको भनेरै टार्छन् । कुनै–कुनै बसका सहचालकले चकलेट दिने गरेको भेटिन्छ ।
धेरैजसो यात्रु दुई रुपैयाँका लागि विवाद गर्नै चाहदैनन् । उनीहरुले एकपटक बस चढ्दा दुई रुपैयाँ ठगिनुलाई सामान्य मानेको देखिन्छ ।