नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, कृषि क्षेत्र विकास कार्यक्रम र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सम्झौता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, कृषि क्षेत्र विकास कार्यक्रम र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सम्झौता



काठमाण्डौ । कर्णाली प्रदेशका आठ वटा जिल्ला (सल्यान, जाजरकोट, जुम्ला, दैलेख, कालिकोट, पश्चिम रुकुम, सुर्खेत र मुगु) का १ सय वटा सहकारी संस्थाहरुको क्षमता विकास लागि सरकार र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सझौता भएको छ ।

नेपाल सरकारले सञ्चालन गरेको कृषि क्षेत्र विकास कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले कर्णाली प्रदेशका १० जिल्लामा सहकारीको क्षमता विकासगरि विक्तिय संस्थागत आवद्ध गराउने विषयमा शुक्रबार सम्झौता भएको छ । ३ वर्ष सम्म सञ्चालन हुने यस कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा वसोवास गरिरहेका गरिव तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने छ ।

यस कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले संस्थाको संस्थागत क्षमता विकास, सदस्यहरुको सचेतना वृद्धि, विक्तिय साक्षरता लगाएतका क्षेत्रमा सहयोग गरी सक्षम संस्था निर्माण गर्ने छ भने साना किसान विकास लघुविक्त विक्तिय संस्थाले विक्तिय सहायता गर्ने जनाइएको छ ।

संस्था र सदस्यहरु सक्षम बनिसकेपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कर्जा प्रवाहको काम साना किसान लघुविक्त विक्तिय संस्थाले गर्ने छ ।

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का महाप्रवन्धक रुद्र भट्टराई र परियोजनाको तर्फबाट भोजराज सापकोटाले हस्ताक्षर गरेको छ ।

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, सह–सचिवहरु, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. एंव साना किसान विकास लघुविक्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रवन्धक रुद्र भट्टराई, नायव महाप्रवन्धक मीना पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।

उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव शर्माले कर्णाली प्रदेशमा वित्तिय पहुँचको सिमितता रहेका कारण सहकारी मार्फत सञ्चालन हुने कार्यक्रमको धेरै प्रभाव रहने बताए । उनले सहकारी मार्फत सदस्यहरुको आयमूलक गतिविधिमा संलग्नता बढाउँदै त्यस क्षेत्रको आर्थिक, सामाजिक, सचेतनाको स्तर वृद्धिका लागि यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. एंव साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीले चेतना, सिप, पूँजी र प्रविधि हस्तान्तरणको काममा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै यस कार्यक्रमलाई पनि कर्णाली प्रदेशमा सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैगरी कार्यक्रमा साना किसान विकास लघु वित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले कर्णाली प्रदेशको गरिबी निवारणमा यस कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । उनले यस कार्यक्रममा आफुहरुपनि जोडिन पाएकोमा खुसी व्यक्त गर्दै साना किसान र कृषि सहकारीमा संलग्न सदस्यहरुको जीवन रुपान्तरणका लागि सरकारले बजेट परिचालन गर्दा विशेष ध्यान दिनुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रवन्धक रुद्र भट्टराईले नेपालको ग्रामिण क्षेत्रका किसानहरुलाई जोड्दै अगाडि बढेको केन्द्रीय संघले सरकारसंग सहकार्य गर्न पाउनु सुखद् पक्ष रहेको बताए । उनले अहिलेपनि संघले पछाडी परेका दलित, महिला, मुसहर, राउटे, बनकरीया लगायतलाई सहकारीमा संलग्न गराई जीवन रुपान्तरणमा काम गरेको स्मरण गराउँदै कर्णाली प्रदेशमा पनि यस अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एएस डि पि कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा विक्तिय पहुँच, प्रविधि, ज्ञान, सिप र सचेतनाको विकास गरी त्यस क्षेत्रमा उत्पादन हुने कृषि तथा पशुजन्य सामग्रीको बाजारीकरण मार्फत आर्थिक रुपान्तरणका लागि सहयोग गर्ने कार्यक्रम सञ्चालन हुनेछन् । यस कार्यक्रम मार्फत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ७५ हजार घरधुरी लाभाविन्त हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्