नबिल बैंक र एनबि बैंकबीच ६ महिनाभित्र एकीकृत कारोबार हुने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति « Arthapath.com
१८ फाल्गुन २०७८, बुधबार

नबिल बैंक र एनबि बैंकबीच ६ महिनाभित्र एकीकृत कारोबार हुने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकसँग नेपाल बंगलादेश बैंक गाभ्न सहमति दिएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल बैंकसँग नेपाल बंगलादेश बैंकलाई गाभ्न सैद्धान्तिक सहमति दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले नबिल बैंकले बंगालादेश बैंकलाई गाभ्न अनुमति दिने निर्णय गरेसँगै दुई बैंकबीच एक्विजिसनमा जान बाटो खुलेको छ । आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार हुने गरी गृहकार्य अघि बढेको छ । सैद्धान्तिक सहमति पाएको ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही बमोजिम एनबि बैंकलाई नबिल बैंकले सबै प्रक्रिया पुरा गरी एकीकृत कारोबार गर्ने भएको हो ।

नेपालको निजी क्षेत्रको नम्बर १ नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई अक्वायर गर्ने भएको हो । दुई बैंकको संयुक्त मर्जर कमिटिले पौष २९ गते एमओयु गरेको थियो । नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट संयोजक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

एनबि बैंकमा रहेको ढाकास्थित आइएफआईसी बैंकको ४१ प्रतिसत शेयर नबिल बैंकको मुख्य लगानीकर्ता चौधरी ग्रुपले किन्ने सहमती पनि भइसकेको छ । मर्जरमा नबिल बैंकको प्रति १ सय कित्ता शेयर बराबर एनबि बैंकको ४३ कित्तामा समझदारी बनेको छ ।

नविल बैंकको अहिले चुक्ता पुँजी १८ अर्ब ३७ करोड रुपैयाँ छ । एनबी बैंकको १० अर्ब ८ करोड रुपैयाँ छ । प्रतिकित्ता ४३ रुपैयाँको दरले एनबी अक्वायर गरेपछि नविल बैंकको चुक्ता पुँजी २२ अर्ब ३७ करोड रुपैयाँको पुग्नेछ । कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथी पुग्ने बैंकले जनाएको छ । त्यसैगरी शाखा संजाल तत्कालै २३५ पुग्ने छन् । ग्राहक संख्या १६ लाख माथी हुने बैंकले जानकारी दिएको छ ।

तर नबिल बैंक र नेपाल बङ्गलादेश (एनबि) बैंकबीच मर्जर प्रक्रिया रोक्नको लागि सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले दिएको उक्त आदेश दुगड समूहले राष्ट्र बैंकलाई पनि जानकारी गराएको थियो ।

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ पाटन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर र राष्ट्र बैंकको नियमन विभागमा उजुरी दिएका थिए ।

बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो स्वामित्वको ४२ प्रतिशत शेयर बिक्री गर्दैछ । उक्त शेयर उद्योगपति विनोद चौधरीले किन्ने सहमति भएको छ । तर आईएफआइसी बैंकले ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौत गरेको थियो । शुरुमा आफूलाई बिक्री गर्ने सम्झौता गरेको तर पछि अर्कै समूहलाई बेच्ने गरी प्रक्रिया अगाडि बढाएको भन्दै दुगड समूहले मुद्धा हालेको थियो । दुगड समहूले उक्त सम्झौता गैरकानुनी भएको दाबी गर्दै आएको छ ।

सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर शेयर खरिदका लागि आईएफआईसीसँग सम्झौता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्