नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजकमा ‘कृषि कर्जा मेला’ आयोजना गरिँदै
काठमाडौं । नेपालमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ । चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा कृषि कर्जा मेला हुन लागेको हो । उक्त मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयेजना गर्न लागेको हो । सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी मेलाबारे जानकारी दिएको हो ।
कृषि कर्जा मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्स्योरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ ।
कृषि मेलासँगै ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले उक्त प्रदर्शनीको आयोजना गर्न लागेको हो । प्रदर्शनीमै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए ।
कृषि कर्जा विगत ३ वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शर्माले कृषि कर्जाको कन्सेप्ट राम्रो लागेकोले नै सहयोगी संस्थाको रुपमा आफूहरु रहन तयार भएको बताए । वास्तविक ऋणी वा कृषकसम्म वित्तीय सूचना पुग्ने अपेक्षा गरिएको उनले बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिन आउनुपर्ने बताए । यसअघि बैंकहरु घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा लगानी बढाइरहेको उनको भनाइ छ ।
यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुशमा शर्माले बताइन् । मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाइ छ ।













