दीर्घकालीन स्रोत सुनिश्चित गर्न ५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
बैंकले ‘आरबिबिएल डिवेञ्चर, २०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । जसमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकको उक्त ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर माइनस एनपी ए प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्दछ । बैंकले ऋणपत्र निष्काशनको लागि प्रक्रिया शुरु गरेको हो । तर ब्याजदर भने तोकिएका छैने ।
बैंकले यसअघि गत २०७८ जेठ २५ गतेदखि जेठ २८ गतेसम्म ‘आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र निष्काशन गरेको थियो । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारीले दिर्घकालिन स्रोत संकलनका लागि ऋणपत्र निष्काशन गर्न लागिएको जानकारी दिए । डीसीईओ अधिकारीका अनुसार ऋणपत्रलाई सेकेण्डरी क्यापिटमा गणना गर्न मिल्ने भएकाले निक्षेप र क्यापिटलको रुपमा काम गर्नेछ । रकम संकलन भएपछि क्यापिटल लिक्वीडिटी बढ्ने र कर्जा विस्तार गर्न पनि सकिने उनले बताए । ऋणपत्र निष्काशनपश्चात बैंकलाई फाइनान्सियलका लागि दीर्घकालीन स्रोत सुनिश्चित हुने उनको भनाई छ ।
बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।