चिनिया राष्ट्रपतीको भ्रमणले केरुङ–काठमाडौं सुरुङमार्ग बन्ने « Arthapath.com
६ कार्तिक २०७६, बुधबार

चिनिया राष्ट्रपतीको भ्रमणले केरुङ–काठमाडौं सुरुङमार्ग बन्ने



चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको लागि सम्भाव्यता अध्ययन र केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण गर्न सहमति जुटेको छ ।
शनिबार र आइतबार राष्ट्रपति सीको राजकीय भ्रमणको क्रममा भएको समझदारी पत्रमा केरुङ–काठमाडौं रेल र सडकमार्ग निर्माणलाई उच्च प्राथमिकता दिएको छ । सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल–चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न सक्ने साझा अभिमत अभिव्यक्त भएको छ । साझेदार बन्न सकिने सूत्र भनेर राष्ट्रपति सीले ‘हिमालय वारपार बहुआयमिक सम्पर्क सञ्जाल’को प्रस्तावनालाई दह्रिलो रूपमा विभिन्न बहुपक्षीय समझदारीमार्फत अघि बढाएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा नेपाल निकै महत्वको छिमेकी हो भनेर चीनले बाहिरी विश्वलाई देखाएको छ । कतैबाट पाइने सहयोग रकम अथवा सम्झौताका बुँदाभन्दा पनि आफ्ना लागि नेपाल महत्वपूर्ण छ भन्ने चीनको यो सन्देश आफैँमा ठूलो कुरा हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक स्थिरतासँगै नेपाल बाहिरी विश्वमा ‘देखिँदै र सुनिँदै गएको’ उदाहरणका रूपमा चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणलाई लिन सकिने प्रतिक्रिया दिएका छन् । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणसँगै नेपाललाई विकास र समृद्धिको भरपर्दो प्रतिबद्धता प्राप्त भएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘अब हामीले प्रतिबद्ध भएर समृद्धिको दिशामा अघि बढ्ने समय आएको छ ।’
सडक, बन्दरगाह, नाका, हवाई सम्पर्क र रेलवे सञ्जालमार्फत विकास–समृद्धिको अभियानलाई अघि बढाउने राष्ट्रपति सीको घोषणालाई तत्कालीन होइन, दीर्घकालीन रूपमा अर्थपूर्ण मान्नुपर्ने चीन मामिलाका जानकार मदन रेग्मीले बताएका छन् । ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु नै यो युगको महत्वपूर्ण घटना हो,’ उनले थपे, ‘नेपाललाई विकास र समृद्धिको रणनीतिक साझेदार बनाउने भन्ने चिनियाँ प्रतिबद्धताले हाम्रो मैत्री र सम्बन्धको पुनव्र्याख्या भएको छ । अझ नेपाललाई दक्षिण एसियाको गेट बे बनाउने भनेर आएको चिनियाँ धारणा कूटनीतिक अर्थमा उत्तिकै महत्वपूर्ण छ ।’
राष्ट्रपति सीको भ्रमणका अवसर पारेर समझदारी भएअनुरूप सुरुङमार्गको सर्वेक्षण र त्यसपछि निर्माण भए काठमाडौं–केरुङ ४० किलोमिटर दूरी छुटिने भएको छ । ‘दुई देशबीचको स्तरीय कनेक्टिभिटीको महत्वलाई मनन गर्दै दुवै पक्ष केरुङ–काठमाडौं सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनमा सक्रियपूर्वक समन्वय गर्न सहमत भएको संयुक्त वक्तव्यमा भनिएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार काठमाडौंबाट केरुङ जान अहिले १ सय २० किलोमिटर दूरी पार गर्नुपर्छ । ‘अहिले चर्चा भएको सुरुङ निर्माण भए बढीमा ८० किलोमिटरमा पुगिने छ,’ उनले भने, ‘सामान बोकेर आवत–जावत गर्ने कन्टेनरलाई ८÷१० घन्टा लाग्नेमा त्यसपछि बढीमा २÷४ घन्टामै ओहोरदोहोर गर्न सक्ने अनुमान गर्न सकिनेछ ।’
शर्माका अनुसार हाल केरुङ नजिकको नाका पुग्न काठमाडौं–नौबिसे–गल्छी–त्रिशूली–बेत्रावती हुँदै जानुपर्छ । ‘सुरुङ र त्यसलाई जोड्ने गरी सडक निर्माण भए काठमाडौं–गोंगबु–छहरे–बट्टार–त्रिशूली–बेत्रावती हुँदै जान सकिन्छ,’ उनले भने, ‘यो सडकमा चीनले आवश्यकताअनुसार सुरुङमार्ग र आकासे पुल बनाई दुरी छोट्याउन चाहेको बुझिन्छ ।’ यो सडकअन्तर्गत टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सम्भाव्यता रहेको निस्कर्ष सडक विभागले निकालेको छ । सुरुङमार्गको दुरी करिब ६ किलोमिटरसम्मको हुने अनुमान गरिएको छ । यसको निर्माण लागत र सम्भाव्यता अध्ययनको खर्च भने समझदारीमा खुलाइएको छैन । योसँग अन्तरसम्बन्धित विभिन्न खण्डहरूको स्तरोन्नति गर्ने प्रतिबद्धता संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । चिनियाँ पक्षले स्याफ्रुबेंसी–रसुवागढी राजमार्ग मर्मत सुरु गर्न तयार भएको छ । चीनले रेलमार्ग, सडक तथा सुरुङ इन्जिनियरिङसम्बन्धी क्षेत्रमा नेपाली प्राविधिक जनशक्तिलाई तालिम सहायता बढाउने पनि जनाएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘नेपाल–चीन सम्बन्ध नयाँ चरणमा उठेको’ बताए । ‘राष्ट्रपति सीको भ्रमणबाट नेपाललाई ठूलो लाभ भएको छ, यो लाभ लिनका लागि हामी आफैँ एकताबद्ध हुनुपर्छ,’ उनले भने, ‘हामीकहाँ योजनाहरू अघि सार्ने, तर समयमा कार्यान्वयन नगर्ने परिपाटी छ । अहिले योजना कार्यान्वयनमा सीबाट विशेष जोडका साथ कुरा आएको छ । यो कुरा उहाँले किन उठाउनुभयो भन्नेमा हामीले विशेष ख्याल गर्नुपर्छ ।’ पूर्वराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण भएको टिप्पणी गरे । विश्व परिस्थिति, नेपालको नयाँ परिस्थिति र चीन महाशक्ति बनेको अवस्थामा माओपछिको विशिष्ट हैसियतका नेताका रूपमा उदाएका सी नेपाल आउनुलाई सामान्य रूपमा लिन नमिल्ने उनले बताए । ‘नेपाललाई आर्थिक क्रान्तिमा जानका लागि चीनसँगको सहकार्यले थप उर्जा दिएको छ, मद्दत मिलेको छ,’ उनले भने ।
आमनेपालीले चीनबाट आउने रेलको ध्वनिलाई सपनाझैँ बनाइसकेका बेला राष्ट्रपति सीले केरुङ–काठमाडौं मात्रै होइन, यसलाई पोखरा–लुम्बिनीसम्मको रेलवे परियोजनाका रूपमा अघि बढाउन सघाउने प्रतिबद्धता जनाएका छन् । ‘रेलवे सञ्जालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तहको सम्भाव्यता अध्ययन हुने पक्ष आफैँमा उपलब्धि हो,’ श्रेष्ठले भने, ‘यही क्रममा केही सुरुङमार्ग र उत्तरी नाकामा पर्ने सडक स्तरोन्नतिमा सम्झौता भएको छ, यसको दीर्घकालीन महत्व र अर्थ छ ।’
भ्रमणबारे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपालको विकास र समृद्धिका आधार बनाएको प्रतिक्रिया दिए । ‘घोषणा गरिएका योजनालाई समयमा कार्यान्वयन गर्नुपर्छ भनेर सीले छाडेको सन्देश हाम्रा लागि निकै मननीय छ,’ भट्टराईले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सी चिनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन् । भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका महामहिम राष्ट्रपति सी चीनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको र उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्