नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने मिति लम्बाइयो
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको ५ वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने मिति थप गरेको छ । कम्पनीले असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको ऋणपत्रको असार २६ गते बकर इदको कारण सार्वजनिक विदा परेकाले छिटो अवधि असार २७ र ढिलो अवधि साउन ४ गतेसम्म तय गरेको हो ।
कम्पनीले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र कम्पनीले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ ।
बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।













