२० प्रतिशतले बढ्यो रेमिट्यान्स, एक महिनामा ९२ अर्ब २१ करोड भित्रियो
काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ । बिहीबार राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त अवधिमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । यस्तै, अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतलेवृद्धि भई १ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।














