दशैं बिदामा घुम्ने होइन त ? यी हुन् घुमघामका लागि उपयुक्त गन्तव्यहरु « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

दशैं बिदामा घुम्ने होइन त ? यी हुन् घुमघामका लागि उपयुक्त गन्तव्यहरु



काठमाडौं । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चार्डपर्व वडा दशैं नजिकै आएको छ । दशैंमा अन्य सिजन भन्दा धेरै लामो बिदा हुन्छ । दशैंमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुलाई पनि निश्चित बिदा हुने गर्दछ । बिदा लामो हुने भएपछि मानिसको आ–आफ्नै योजनाहरु तय गरेका हुन्छ । यो समयमा मानिसहरु केही न केही नयाँ योजनासहित दशैं बिदा मनाउने गर्दछन् । दशैं बिदाको सबैभन्दा राम्रो र रमाइलो सदुपयोग भनेको घुमफिर नै हो ।

यो सिजनमा बिदा लामो हुने र मौसम पनि अनुकुल हुने भएकाले अधिकांशको योजना घुमघाम नै हुन्छ । आफ्नो घर, परिवार र साथीभाईहरु मिलेर घुम्नुमा अर्को आनन्द छ । त्यो घुम्नेहरुलाई मात्र थाहा हुनसक्छ । तपाई पनि यसपालीको दशैं बिदा सदुपयोगका लागि घुमफिर गर्ने चाहना बनाउनु भएको छ र कहाँ जाने ? कसरी जाने भनेर अन्योलमा हुनुहुन्छ भने हामीले तपाइँका यस्तै अन्यौल वा कौतुहलता मेटाउन नेपालका घुम्नलायक केही महत्वपूर्ण ठाउँहरुको बारेमा जानकारी गराएका छौं । यात्रामा रमाउन चाहनेहरुलाई सहज होस् भनेर नै विभिन्न रमणीय र पर्याटकीय स्थलहरुको बारेमा वर्णन गरिएको छ ।

पोखरा


सफा र शान्त वातावरण भएको सुन्दर शहर भन्नेबित्तिकै हामी सबैलाई पोखराको सम्झना आँउछ । एक पटक गएपछि त झन अर्को पटक घुम्न कहाँ जाने भन्दा पोखरा नै जाने भन्न मन लाग्छ । ४६४.२४ वर्ग किलोमिटरमा फैलिएको पोखरा, घुमघामको एउटा पूर्ण प्याकेज बनाउन सकिन्छ । प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ, लेक साईड को चिसो चिसो मौसम, माझी कनाको र्विसनै नसकिने माछाको स्वाद । विन्दावासिनी बाट देखिने सेता टलक्क टल्केका हिमाल । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो ।तपाई आफ्नो इच्छाअनुसार पाँच तारे होटल देखि सामान्य लजमा बसेर घुमघाम गर्न सक्नुहुन्छ ।


खप्तड


विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका मुख्य आर्कषणको केन्द्र हो । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तडका २२ वटा पाटन र ५३ वटा थुम्काहरूहरुले खप्तडलाई स्वर्ग बनाएको छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो पनि फरक नपर्ला ।


काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ ।
डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।


रारा


नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल मुगु जिल्लामा रहेको छ । समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ ।सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जाँन्छ । काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

खलंगाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।


रारा घुम्न जाने सोच्नुभएको छ भने खर्च धेरै हुने गन्तव्यको रुपमा नलिनु होला रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडमा जूम्ला पुगिन्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जूम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारातालसम्म हिडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ । रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ ।

फेरि सोही रुटमा पर्कदा करिब १७ हजारमा काठमाडौ आइपुगिन्छ । होइन म फर्कदा हवाई यात्रा गर्छु भनेपनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल ४२ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दूई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन । तर, नेपालगज्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलंगाबाट गाडी रिजर्भ गरेर जाँदा भने तीन हजार रुपैयाँसम्म बढी लाग्न सक्छ ।

मुक्तिनाथ मन्दिर

हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् । वि।सं १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दिर पेगोडा शैलीमा रहेको छ ।
मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको मूर्तिको दाँयापट्टि उभिएको लक्ष्मीको मूर्ति र बाँयापट्टि उभिएको सरस्वतीको मूर्ति रहेको छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादशैं आदिपर्वहरु महत्वपूर्ण मानिन्छन्। यसका अलवा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् ।
जोमसोम अर्थात मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख शहरहरुबाट सजिलै गाडिहरु पाउने गर्दछ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथ सम्मको गाडि पाईन्छ ।


यदि तपाई काठमाडौँ तथा अन्य जिल्लाहरुबाट मुक्तिनाथ दर्शन तथा घुम्न जादै हुनुहुन्छ भने भाडाको गाडि चढेर पुग्न सस्तो पर्दछ । देशका विभिन्न शहरहरुबाट गाडि चढ्नुहोस् र पोखरा वा म्याग्दीको बेनी पुग्नुहोस् र बेनीबाट बिहानको समयमा सिधै जोमसोमको लागि बस र जीप पाइन्छ । तर पर्यटक बढी जाने सिजनमा टिकट पाउन अलि गाह्रो पर्दछ । यदि तपाईले टिकट पाउनुभएन भने बेनीबाट मुस्ताङको घाँसासम्म पुग्नुहोस् र त्यहाँबाट जोमसोमको बस पाइन्छ । जोमसोम पुगेपछि कागबेनी मुक्तिनाथसम्म सजिलै बस जीप पाइन्छ । यदि तपाई माथिल्लो मुस्ताङ पनि घुम्ने योजना बनाउनुभएको छ भने कागबेनीबाट छुसाङको गाडि चढ्नुुहोस् र त्यहाँबाट लोमान्थाङसम्म जीपको यात्रा गरेर पुग्नुहोस् ।

मुक्तिनाथ कागबेनी र जोमसोम लगाएका ठाउँ घुमेर फर्कन लगभग १० हजार भए पुग्छ । तर विभिन्न शहरहरुबाटको खर्च थोरै मात्रामा फरक हुन सक्छ । पहिलो दिन काठमाडौंबाट ८ सय रुपैयाँमै बेनी पुगिन्छ । बेनीमा ५ सय रुपैयाँमा होटल पाइन्छ र खाना पनि त्यति महँगो छैन् । दोस्रो दिन बेनीबाट ९ सय रुपैयाँमा जोमसोम पुगिन्छ । त्यहाँ १ हजारमा कोठा पाइन्छ । यहाँ अलि खाना महँगो छ । यहाँ ५ सय रुपैयाँ छाक खाना पाइन्छ । तेस्रो दिन जोमसोबाट करिब ३ सय रुपैयाँ भाडामा मुक्तिनाथ पुगिन्छ । मुक्तिनाथ दर्शन पश्चात यहि रुट भएर र्फकन सकिन्छ ।


पून हिल


अन्नपूर्ण र धवलागिरी हिमाल हेर्न सबैभन्दा उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । यहाँ स्वदेशीभन्दा बिदेशी पर्यटकहरु बढी पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरुको पनि चहलपहल बढिरहेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । यस पदयात्रामा खाने बस्ने राम्रो सुविधा छ । अत्यधिक मात्रामा पर्यटक जाने भएकाले होटलहरुमा अग्रिम बुकिङ्ग गर्नु पर्छ । पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ । यसरी पाँच दिनको प्याकेज बनाउनु भयो भने १० देखि १४ हजारसम्म खर्च लाग्छ ।

सौराहा


दशैं बिदामा घुम्न जानेहरुका लागि अर्को आकर्षक गन्तव्य मध्ये चितवन सौराहा हो । नेपालको आर्कषक पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहा चिवतन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । सौराहा क्षेत्र वनजंगलल भरिएको छ । चितवनको सौराहा, मेघौली, सिराई चुली, उपरदाङगढी, लामो झरणा लगायतका रमणीय स्थलहरु अवलोकन गर्नका लागि चितवनमा पर्यटकको घुँइचो लाग्ने गर्छन् । हात्ती चढेर जंगल घुम्न पाउनु, राप्ती नदीमा डुंगा सयर गर्नु र सूर्यास्त हेर्नु सौराहाका आर्कषण हुन् । यस क्षेत्रमा थारु सँस्कृतिको नाच हेर्न पाइन्छ । खाना, बस्नका लागि प्रशस्त सुविधासम्पन्न होटलहरु रहेका छन् ।


इलाम


इलामको पूर्वमा दार्जीलिङ, पश्चिममा धनकुटा, उत्तरमा पाँचथर तथा दक्षिणमा झापा जिल्लासँग जोडिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचुुर सम्भावना रहेको इलाम जिल्ला प्राकृतिक सुन्दरता, भौगोलिक बनावट तथा हावापानीले पहाडकी रानीका रूपमा पनि चिनिन्छ । यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, रहनसहन, रीतिरिवाज, कला, संस्कृतिसँग रमाउन धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

विकास–निर्माणका कार्यहरूले त्यति तीव्रता नपाए पनि नेपालका अरू पहाडी जिल्लाभन्दा यो जिल्लम सुगम नै मानिन्छ । धार्मिक तथा पर्यटकीय हिसाबले सानो पाथीभरा, कन्याम, श्रीअन्तुु, माईपोखरी, इलाम बजार, सन्दकपुर, गजुर्मुुखी, सिद्धिथुम्का आदि स्थानहरू प्रसिद्ध छन् । यी ठाउँहरूले घुम्न आउने लाखौं पर्यटकको मन लोभ्याउने गर्छ । छिन–छिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेका लागि यो ठाँउ निकै राम्रो मानिन्छ । इलाम घुम्नका लागि विभिन्न ट्राभल्स एजन्सीहरुले साढे ९ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्मका प्याकेज तयार पारेका हुन्छन् ।

पाथीभरा

ताप्लेजुङ्गमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात छ । पाथीभरादेवी समुद्री सतहबाट ३ हजार ७९४ मिटरमा उचाइमा रहेको छ ।विश्वको तेस्रो अग्लो हिमाललगायत दर्जनौं अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो । पाथिभरा मन्दिरबाट कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, ल्होत्से हिमालको दृष्यावलोकन गर्न सकिन्छ । पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बस्ने र खाने राम्रै व्यवस्था छ । दशैंको बेला (असोज कात्तिक) मौसम सफा हुने भएकाले पनि पाथीभराको दर्शन र हिमाल हेर्ने उपयुक्त समय हो ।


प्रतिक्रिया दिनुहोस्